डेंगु एडिज प्रजातिको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक रोग हो। यो रोग डेंगु नामक आरएनए भाइरसको कारणले हुने गर्दछ। यो रोग एडिज लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ।
डेंगु भाइरसका प्रजाति के–के छन् ?
डेंगु भाइरस आर्बो भाइरस ग्रुप अन्तरगत पर्ने एक प्रमुख आरएनए भाइरस हो। अहिले सम्ममा यो भाइरसको DEN-1, DEN-2, DEN-3, DEN-4, र DEN-5छ गरी पाँच वटा सेरोटाइप पत्ता लागेको छ।
कसरी सर्छ डेंगु ?
यो रोग मुख्यतया दिउँसोको समयमा एडिज एजिप्टी नामक पोथी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यो प्रजातिको लामखुट्टेले आफ्नो आहारा पूरा गर्नको लागि एक भन्दा बढी व्यक्तिको रगत चुस्ने भएकाले डेंगु रोग फैलाउनमा यो प्रजातिको लामखुट्टेको धेरै भूमिका रहेको हुन्छ। साथै केही मात्रामा एडिज एल्वोपिक्टस नामको अर्को लामखुट्टेको टोकाइबाट पनि डेंगु सर्ने गर्दैछ। तर यो लामखुट्टेले आफ्नो आहारा एउटै व्यक्तिको रगतबाट पूरा गर्ने भएकाले यसको प्रभावकारिता एजिप्टिको भन्दा कम हुन्छ।
डेंगु सार्ने लामखुट्टे कस्तो ठाउँमा पाइन्छ ?
मुख्यतया वर्षायामको समयमा घर वरपरका खाल्डाखुल्डी, छत, गमला, कुलर, टाएर आदिमा जमेको पानी तथा सञ्चित गरेर राखेको पानीमा एडिज लामखुट्टे बस्ने गारेको पाइन्छ। यस्ता ठाँउहरुमा लार्भा उत्पादन गरी आफ्नो सङ्ख्यामा वृद्धि गराउँदछ। तसर्थ हामीले डेंगु रोग फैलन नदिन र यसको नियन्त्रणका लागि उक्त पानी जम्ने ठाउँहरु राम्रोसँग सफा गर्ने र सञ्चित गरेर राखिएको पानीलाई छोपेर राख्नुपर्छ।
डेंगु रोग लागेमा के हुन्छ ?
डेंगु भाइरस संक्रमित एडिज लामखुट्टेले टोकेको ३(१४ दिन भित्रमा हाम्रो शरिरमा डेंगुको भाइरसहरु फैलन थाल्दछ र बिस्तारै यसका लक्षणहरू देखा पर्दछ। डेंगु रोगको मुख्य तीन चरण अनुसार लक्षणहरु देखिन्छ।
फेब्राइल फेज
सामन्यतया लामखुट्टेले टोकेको ४(१० दिनपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको वरिपरि दुख्ने, हड्डी, जोर्नी तथा मांसपेशीको दुखाई, वाकवाकी लाग्ने, वान्ता हुने, खाना मन नलाग्ने, कमजोरीपन महसुस हुने, शरीरमा बिमिरा तथा रातो धब्बाहरु देखिने हुन्छ। यदि सुरुवाती फेजमा नै अस्पताल गई उपचार गरेमा बिरामीमा जटिल समस्या देखिदैन।
क्रिटिकल फेज
यो फेजमा बिरामीको रगतमा मुख्यतया प्लेटिलेट्सको सङ्ख्यामा कमी साथै राता रक्तकोशिका, सेतो रक्तकोशिका, हेमोग्लोविनको मात्रा पनि घट्दछ। प्लेटिलेट्सको सङ्ख्या ५०,००० भन्दा कम हुने भएका बिरामीमा ब्लिडिङको समस्या जस्तैः नाक तथा मुखरगिजा तथा छालाबाट रगत आउने, दिसामा रगत देखिने जस्ता लक्षणहरु देखिन्छ। साथै रगतमा भएको प्लाज्मा-फ्लुइड रक्तनलीबाट निस्किएर फोक्सो, पेट तथा अन्य अङ्ग हरुमा गएर जम्न सक्छ जसको फलस्वरुप ब्लड प्रेसर घट्ने, हातखुट्टा चिसो हुने र शरिरको विभिन्न भागमा रगतको मात्रा कम भई अर्गान डिस्फङ्सन हुन सक्छ र समयमा नै उपचार नभएमा बिरामी अचेत समेत हुन सक्छ। तर्सथ शरीरमा पानिको मात्रा कम हुन नदिन प्रशस्त मात्रामा सफा पानी पिउनुपर्छ।
रिकोभरी फेज
यो फेजमा बिरामीमा इमुनिटी डेभलप हुँदै जान्छ र बिरामी बिस्तारै निको हुँदै जान्छ। बिरामीको शरीरमा बिबिरा देखिने, चिलाउने, कमजोरी महसुस हुने जस्ता लक्षणहरु देखिन्छ।
ल्याबोरेटोरी डाइगनोसीस
डेंगु रोगको कुनै औषधि नभएकोले बिरामीमा देखिएको लक्षण र ल्याब रिर्पोटको आधारमा सर्पोटिभ ट्रिटमेन्ट दिइन्छ। तर्सथ डेंगु रोगको लक्षण देखिएमा तुरुन्त अस्पताल गई डाक्टरको सल्लाह अनुसार डेंगुको ल्याब जाँच गर्नुपर्छ। डेंगु ल्याब टेस्ट अन्तरगत डेंगु हो होइन भन्न का लागि डेंगु एन्टिजेन टेस्ट साथै ब्लड सेल काउन्ट टेस्ट गरिन्छ। डेंगु भाइरसको लागि पीसीआर र भाइरल आइसोलेसन पनि गर्न सकिन्छ।
डेंगु रोगबाट बच्न के गर्नुपर्छ ?
घर वरपर वर्षायामको पानीलाई जम्न नदिने, पानी जमेको पानीमा किटनाशक औषधि तथा क्यारोसिन छर्ने, पानी जम्ने खाल्डा पुर्ने, तथा लामखुट्टे नियन्त्रणका अन्य उपायहरु अपनाउने।
- रञ्जना थापा (थापा महाराजगञ्ज चिकित्सा क्याम्पसमा बीएस्सी एमएलटी चौथो वर्षमा अध्ययनरत छिन्।)
श्रोत –स्वास्थ्य खवर पत्रिका