धरान/ अहिले चीसो मौसमको शुरुवात भएको छ । चाडपर्वको समय भएका कारण विद्यालयहरु सबै बन्द छन्, विभिन्न संघ संस्थाहरुका पदाधिकारीहरु पनि फुर्सदिला छन् ।
जसले गर्दा दशै सकिने वित्तिकै तिहारकोको आगमन हुन केही समय बाँकी हुदा धरानको विजयपुरमा नेपालका दूरदराजदेखिका सर्वसाधारण मन्दिरको दर्शनसँगै पर्यटकीय स्थलको अवलोकन र दृश्यावलकोनका लागि आउन थालेका छन् ।
यो समय पर्यटकहरुको लागि अत्यन्तै राम्रो समय हो । दशै, तिहार तथा छैठ पर्वका कारण विद्यालयहरु विदा भएका छन्, विभिन्न संघ संस्थाहरुका पदाधिकारीहरु समेत फुर्सदिला छन् ।
जसले गर्दा अहिले घुम्न आउनेहरुको अत्यन्तै उचित समय रहेको छ । यसैको सदुपयोग गर्दै पछिल्लो समय धरानको विजयपुरमा रहेका मठ मन्दिरका दर्शन गर्न पूर्वदेखि पश्चिम महाकालीसम्मका सर्वसाधारण आउने गरेका छन् ।
अहिले सातवटै प्रदेशका सर्वसाधारण विजयपुर घुम्न आउने गरेका छन् । त्यसमा पछि पछिल्लो समय गण्डकी प्रदेशका सर्वसाधारण विजयपुरका मठमन्दिरमा दैनिकजसो भेटिने गरेका छन् ।
फुर्सदिलो समयको मौका पारेर पाखेराबाट टुब्रेली चेलीबेटी समूहलाई विजयपुरको बुढासुब्बा मन्दिरमा भेटियो । समयको सदुपयोग गर्दै ६ दिनको टुरमा समूह नै बनाएर धरान आएका उनीहरुको मूख्य तार्गेट धरानका विभिन्न मठ मन्दिरसँगै नेपालमै एकमात्र रहेको धरानको बुढासुब्बा मन्दिरको दर्शन र भ्रमण गर्ने उद्देश्य उनीहरुको रहेको थियो ।
सानो छँदा विद्यालयमा अध्ययनरत अवस्थामा बुढासुब्बाको विषयमा किताबी ज्ञानमात्र लिएका उनीहरुले प्रत्यक्ष रुपमा हेर्न र दर्शन गर्न पाउँदा खुशी लागेको बताएका थिए । पोखराकी पार्वती गुरुङले धरानको विजयपुरमा रहेको बुढासुब्बा मन्दिर दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताइन् ।
यता चितवनबाट आउनुभएका आलोक शर्माले बुढसुब्बा मन्दिरमा भएको टुप्पो बिनाको बास हेर्ने कौतुहलता पहिलादेखि नै रहेकोले पहिला नै यहाँ आउने इच्छा भएपनि अहिले आएर यहाँको वस्तुस्थिति, बुढासुब्बा मन्दिरको दर्शनसँगै यसको इतिहासको विषयमा बुझेर रमाइलो अनुभव गरेको बताए ।
पछिल्लो समय विजयपुर पश्चिमका विद्यार्थीहरुका लागि शैक्षिक भ्रमणको थलोको रुपमा समेत विकास हुदै गएको छ ।
यहाँ प्रत्येक दिन १२ देखि १५ वटा विद्यार्थी बोकेको बसहरु विजयपुरमा आउने गरेका छन् ।
विजयपुरमा रहेको बुढासुब्बा मन्दिरको विषयमा किताबी ज्ञानमात्र लिएका विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा जानकारी गराउनकै लागि पनि शैक्षिक भ्रमणको सेड्युलमै विजयपुरको बुढासुब्बा पर्ने शैक्षिक भ्रमणमा आउनु भएकी चितवनको होराइजन स्कुलकी शिक्षिका लक्ष्मी गाइजोले बताइन् ।
यो मन्दिर अन्य मन्दिरको भन्दा फरक विशेषता भएकै कारण पछिल्लो समय अवलोकन र दर्शनका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सर्वसाधारण टुर प्याकेजमै आउने गरेका छन् । यहाँ टुप्पा नभएका बाँसहरू पाइन्छन् जसलाई बूढासुब्बाले गुलेलीले मट्याङ्ग्रा हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता राखिन्छ ।
अन्य मन्दिरमा मूर्ति स्थापित गरेको भए पनि बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्काहरु छन् जसलाई बूढासुब्बाको रूपमा पूजा आजा गर्ने चलन छ । यसलाई बुढासुब्बाकोे समाधीस्थल समेत मान्ने प्रचलन ।
यी र यस्ता धेरै विशेषता अन्य मन्दिरको भन्दा फरक भएकै कारण दर्शन तथा अवलोकन गर्न आउनेको सख्यामा बृद्धि हुदै गएको छ ।
बुढासुब्बा मन्दिरकै कारण धरान उपमहानगरपालिकाले अगाडि सारेको धार्मिक पर्यटकीय स्थल विजयपुरको प्रवद्र्धनमा थप सहयोग पुगेको छ ।