सुनसरी / आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन्।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । 


सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्त्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्त्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ,

राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशु बलि पनि शास्त्रीय हो ।

ब्राह्मणका लागि भने पशु बलि वर्जित गरिएको छ ।

आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्त्व रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ । 

राज्य सञ्चालकले प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशु बलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ ।

यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ ।

यसै कारण आजको दिन विधिपूर्वक पशु बलि दिइने गरिएको हो ।
आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ ।

कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ ।

ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन  शक्तिपीठ मन्दिरहरूमा  बलिसहित पूजाआजा गर्नेहरूको बिहानदेखि भीड लाग्ने गर्छ ।