धरान/ धरान उपमहानगरपालिका वडा नं. ३ मा रहेको पालिका तरकारी बजारमा आइतबार विहान करिब ३ बजे आगलागी भएको छ।
बजारभित्र रहेका दुईवटा फलफूल पसलमा आगो लाग्दा करिब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
पीडित बमकुमारी श्रेष्ठ र भिमबहादुर श्रेष्ठले सञ्चालन गरेका ती पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। भानु सब्जी तथा फलफूल व्यवसायी समितिकी अध्यक्ष रमा चौहानका अनुसार पसलभित्र राखिएका सबै फलफूल र सामग्री जलेर खरानी भएका छन्। साथै पसल रहेको कोठा समेत पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
आगलागीको खबर पाएलगत्तै धरान उपमहानगरपालिकाको दमकल टोली तत्काल घटनास्थलमा पुगेको थियो। दमकलको समयमै प्रतिक्रियाले अन्य पसलमा आगो फैलिन नपाएको र थप क्षति हुन नदिएको अध्यक्ष चौहानले बताइन्। स्थानीय व्यवसायीहरूका अनुसार रातभरको अविरल वर्षाले बजार क्षेत्रका टहराहरूको जीर्ण छानाबाट पानी चुहिएको थियो। सोही कारणले विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।
यद्यपि आगलागीको यथार्थ कारण भने अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ।
बजार क्षेत्रमा यस्ता दुर्घटना यसअघि पनि भइसकेका छन्।
केही समयअघि सोही स्थानमा रहेको एक कस्मेटिक पसलमा पनि यस्तैगरी आगलागी भएको थियो। व्यवसायीहरूका अनुसार बजारभित्र अझै करिब २५ प्रतिशत टहरा जीर्ण अवस्थामा छन्, जसले गर्दा आगलागीको जोखिम कायमै रहेको छ।
वडाध्यक्ष विद्या शाक्यले घटनाको जानकारी पाएको पुष्टि गर्दै विगतमा यस्तै दुर्घटना हुँदा केही टहरा मर्मत गरिए पनि सम्पूर्ण बजारको संरचना सुधार गर्न नसकिएको बताए।
अब भने यस्तो दुर्घटना दोहोरिन नदिन उपमहानगरलाई जानकारी गराई आवश्यक टहरा निर्माणका काम अगाडि बढाइने उनले बताए।
बारम्बार हुने आगलागीका घटनाले व्यवसायीहरू त्रसित छन्। भानु सब्जी तथा फलफूल व्यवसायी संघसहित स्थानीय व्यापारीहरूले जीर्ण टहराको मर्मत र दरिलो संरचनाको निर्माण गर्न स्थानीय सरकारसँग आग्रह गरेका छन्।