धरान/ वैदिक सनातन धर्मको संरक्षण, प्राणीमात्रको कल्याण र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित शिव बाबा भक्त समाज नेपाल, धरान–६ पानबारीको आयोजनामा धरानमा कोटीहोम आयोजना हुने भएको छ। पितृ उद्धार अश्वमेध महायज्ञ नाम दिइएको उक्त यज्ञ माघ १९ गतेदेखि फागुन १९ गतेसम्म एक महिनासम्म सञ्चालन हुनेछ।
धरान–केराबारीको सीमामा पर्ने बृद्धगंगाको काखमा आयोजना हुने यज्ञस्थलमा सुविधा सम्पन्न दाहसंस्कार स्थल निर्माण गरिने समाजका अध्यक्ष रमेश कटुवालले जानकारी दिए। उनका अनुसार लाखौं भक्तजनको सहभागिता रहने अनुमान गरिएको उक्त कोटीहोमले कोशी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
कटुवालले वेद र ग्रन्थको उत्पत्ति नेपालबाटै भएको दाबी गर्दै सनातन धर्मको प्रचार–प्रसारको केन्द्र बिन्दु नेपाल हुनुपर्नेमा जोड दिएका छन्। वैदिक यज्ञमार्फत देवभूमि नेपालको धार्मिक महत्त्व संसारभर फैलाउने उद्देश्य राखिएको पनि उनले बताए।
कोटीहोममा पितृ दोष, कालसर्प दोष लगायतका दोष निवारणका लागि कम्तीमा ८ कुण्डमा हवन गर्नुपर्नेछ। साथै देव, पितृ र ग्रहको नाममा तुला दान, शैया दान, भूमि दान, नगद दान, ब्राह्मण वस्त्र र गुरु भोजनजस्ता धार्मिक दानहरूको प्रावधान रहेको आयोजकले जनाएका छन्।
प्रदेश सांसद रमेश बस्नेतले कोशी प्रदेश सरकारले हालै २०८२ साललाई पर्यटन वर्ष घोषणा गरिसकेको बताउँदै यस्ता धार्मिक आयोजनाले प्रदेशको धार्मिक र सांस्कृतिक पहिचान उजागर गर्न सहयोग पुग्ने बताए। उनले प्रदेश सरकार यज्ञलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
धरानमा आयोजित पत्रकार सम्मेलनमा सनातन धर्म बचाउ अभियानमा लागेका धर्मगुरु, स्थानीय अगुवा र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी सबैले कोटीहोम सफल बनाउन सम्पूर्ण प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए।