धरान/ धरानमा इतिहास झल्काउने ‘आरा धरान’ को प्रतिमा बनाएपछि यसले पर्यटकलाई आकर्षित गरेको छ ।

निर्वाचित भएर आएपछि मेयर हर्क साम्पाङले धरान १३ र २० वडामा पर्ने ओसो पार्कमा श्रम संस्कृति पार्कको अवधारणासँगै निर्माण  सम्पन्न भएको छ । त्यहाँ दिदीबहिनी पार्क, श्रमसंस्कृति पार्कसँगै धरानको इतिहास झल्काउने ‘आरा धरान’को  स्तम्भ बनाइएको छ ।

यो निर्माणसँगै धरानको विषयमा बुझ्ने र पार्क घुम्न आउनेको संख्यामा बृद्धि भएको छ ।

धरान नाम कसरी बन्यो भन्ने विषयमा धरानमै बसोबास गर्ने अधिकांशलाई थाहै छैन । बाहिरबाट आएकाहरुलाई त झन थाहा हुने कुरा पनि भएन ।

विगतमा  भूपू लाहुरेहरूको सहर भनेर चिनिएको धरान सहरको नाम कसरी रहन गयो भन्नेबारे यहीका पछिल्लो पुस्ता पनि अनभिज्ञ छन् ।यसैलाई मध्यनजर गरी श्रमसंस्कति पार्क निर्माण गरिएको हो ।

यो पार्कभित्र दिदीवहिनी पार्कसँगै ‘आरा धरान’को अवधारणा अगाडि सारिएको हो । जुन निर्माण सम्पन्न भइसकेको छ । अझै पनि थोरै संरचना बन्न बाँकी नै छ ।

घना जंगलमा फडानी गरेर काठ चिर्न आरावालाहरुले धराप (धरान) बनाउँथे । त्यही धरापबाट पूर्वको आधुनिक सहर धरान नाम रहन गएको र हालको आधुनिक सहर धरान भएको मानिन्छ ।

इतिहासलाई झल्काउन पनि यो पार्क निर्माण गरिएको निर्माण समितिका संयोजक दत्त लिम्बुले बतााए । उनले धरान किन बन्न गयो भन्ने विषयमा धरानको इतिहास ‘आरा काटेर काठ चिरेको’ सँग जोडिएकोले यसको इतिहासलाई जीवन्दता दिन पनि आरा धरानको निर्माण गरिएको बताए ।

विगतमा कुनै पनि जनप्रतिनिधिहरुले धरानको इतिहास झल्किने कुराको ख्याल गरेका थिएनन् ।

धरानको मुख्य बजार क्षेत्र भानु चोकमा आदिकवि भानुभक्तको अर्धकद प्रतिमा छ भने हङकङको नक्कल गरेर निर्माण गरिएको घण्टाघर निर्माण गरिएका छ । इतिहासमा विजयपुर गढीमा मानव बस्ती भएको र घना जंगल भएकोले जंगलमा फडानी गरेर काठ चिर्न आरावालाहरुले धराप (धरान) बनाउँथे ।

त्यही धरापबाट पूर्वको आधुनिक सहर धरान नाम रहन गएको र हालको आधुनिक सहर धरान भएको मानिन्छ । धरानको चिनारीलाई जीवन्तता दिनको लागि भएपनि श्रमसंस्कृति पार्कमा ‘आरा धरान’को कन्सेप्ट अनुसार निर्माण गरिएको कलकार रोजन राईले बताए ।

उनले आरा धरानमा काठ चिरेको सन्दर्भलाई मध्यनजर गरी आन्तरिक पर्यटक तथा वाह्य पर्यटकका लागि बस्ने फलैचा, घेराबारा लगायतका सम्पूर्ण संरचना समेत काठकै बनाएको बताए ।आरा काट्दै गरेको प्रतिविम्वित प्रतिमाको लागि उपमहानगरपालिकाबाट भ्याटसहित ९ लाख ८४ रुपैयाँ रहेको निर्माण समितिले जनाएको छ ।

श्रमसंस्कृति पार्कमा आरा धरानसहितका पार्क निर्माण गरिएकोप्रति घुम्न आउनेहरुका लागि आकर्षकको केन्द्रविन्दु भएको छ । संखुवासभबाट पार्कमै घुम्न आएका दुर्गा थापालै पार्कसहित धरानको इतिहास झल्काउने पार्कले जोकोहीलाई मन्त्रमुग्ध बनाउने बताए ।

एउटा काम नलाग्ने बगरमा यस्ता प्रकारका संरचना बनाउँदा पनि पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ भन्ने उदाहरण यो पार्क रहेको उनको भनाई छ ।

विगतमा ओसो पार्कको रुपमा चिनिएको र पछि बीपी पार्कले समेत नामाकरण भएको धरान १३ र ३० को संगम स्थल सर्दु जलाधार क्षेत्रमा बनेको श्रमसंस्कृति पार्कले धरान लगायत बाहिरका आन्तरिक पर्यटकलाई तानेको छ ।

दिदी बहिनीहरुले बनाएको पार्कमा पानीको फोहोरा सहित दुई दिदी बहिनीले ढाकेर बोक्दै गरेको शालिक निर्माण गरिएको छ ।

त्यसको १ सय मिटर माथि आरा धरानको निर्माण गरिएको जसले धरानको इतिहासलाई झल्काउने गरेको छ ।

आरा धरानभित्रका सम्पूर्ण संरचना काठबाटै निर्माण गरिएको छ । छेउमा रहेको धारा, बस्ने फलैचा, तार बार सबै काठको प्रयोग गरिएको छ । ऐतिहासिकता झल्काउनलाई पनि सबै काठको प्रयोग गरिएको कलाकार रोजन राईले बताए ।

हेर्दै दुर्घन्धित, खोल्साखोल्सी ठाउँमा बनेको यो पार्कले अहिले भने धरानको सुन्दरतालाई बढाएको पाइन्छ ।