धरान/ धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुका र साँगुरीगढी गाउँपालिका आहाले जिल्ला फरक भएपनि छिमेकी गाउँ हुन् । यहाँका सर्वसाधारण कृषि पेशाबाट जीविकोपार्जन गर्छन् ।
समय अनुसारको कृषि सामाग्री उब्जनी गरेर धरान ल्याउने र गर्जो टार्ने काम उनीहरुको दैनिकी नै हो । १२ महिना अदुवा फलाएर विक्री गर्ने उनीहरुले अहिले भने अम्रिसो कुचोबाट मनग्गे आम्दानी गरिरहेका छन् ।
धरान उपहानगरपालिका वडा नं. २० विष्णुपादुका मोतिलाल राई शुक्रबार विहानै धरान ११ मंगलबारेको हटियामा भेटिए । अम्रिसो कुचो मनग्गे उत्पादन गरेका राईले उत्पादन गरेको अम्रिसोको कुचो विक्रीकै लागि मंगलबारे हटियामामा विक्री गर्न आएका हुन् ।
उनले मगलबारेको हटियामा आएर अम्रिसो कुचो विक्री गरेको भने पहिलो होइन, आफूले थाहा पाउँदादेखि नै बारीमा उत्पादन भएका अदुवा, बेसार, अम्रिसो लगायतका सिजनका कृषि सामाग्री ल्याएर विक्री गर्छन ।
उनको कुचो खरिदका लागि भारत लगायत विराटनगरका व्यापारीहरु खरिद गर्न आउछन् ।
प्रतिमुठा ५० रुपैयाले व्यापारीहरुलाई उहाँले अम्रिसो कुचो विक्री गर्छन् । समय अनुसारको आफूले उत्पादन गरेको कृषि समाग्री वितरण गरेर गुजारा चलाउँदै आएको उनको भनाई छ । उनले कृषि सामाग्री नै विक्री गरेर बार्षिक ४ देखि ५ लाख रुपैया आम्दानी गर्ने सुनाए ।
विष्णुपादुकाका कृषक भने उहाँमात्र एक्लो हैन उहाँ जस्ता धेरै सर्वसाधारणको गुजारा यसरी नै चलेको छ ।
धरान ११ मंगलबारेमा लाग्ने साप्ताहिक हटिया विष्णुपादुका र धनकुटाको साँगुरीगढी गाउँपालिकाका आहालेका कृषकहरुकै कारण चलेको छ भन्दा फरक पर्दैन । थोक विक्रीका लागि मात्र हैन यस क्षेत्रका कृषकहरु सडक छेउमै भुईमा खुद्रे पसल राखेर पनि विक्री गर्ने गर्छन् ।
उनीहरुले उत्पादन गरेको कृषि सामाग्री खरिद गर्न नेपाल लगायत भारतका व्यापारीहरु मंगलबारे पुग्ने गर्छन् । कृषकबाट खरिद गरेर लगेको कृषि समाग्री भारतसम्म पुग्ने गरेको छ ।
यी दुई क्षेत्रका कृषकहरुको मात्र हैन कृषकले उत्पादन गरेको कृषि समाग्रीबाट व्यापारीहरुको पनि घर परिवार चलेको छ ।
अदुवा, बेसार तथा अम्रिसोको कुचो खरिद गर्न मंगलबारे हटिया पगेका विराटनगरका व्यापारी सन्तोषकुमार सिंहले २३ बर्ष भन्दा लामो समयदेखि यस्तै व्यापार गर्दै आएको र यसैले घर खर्च चलेको बताए ।
उनले कृषकबाट लगेको कृषि सामाग्री विराटनगर तथा भारतका विभिन्न स्थानमा पुर्याउने गरेको सुनाए । यसले नै अहिलेसम्म छोराछोरीको लालनपोषणसँगै शिक्षादिक्षामा सहयोग पुगेको बताए ।
धरान ११ मंगलबारे सुनसरीको विष्णुपादुका तथा धनकुटाका विभिन्न स्थलबाट आउने कृषि समाग्रीको केन्द्र विन्दु बनेको छ । एक हप्तामा यो बजारबाट लाखौ कृषि सामाग्रीको कारोबार हुने गरेको छ ।
विष्णुपादुका र आहालेका कृषकहरुले उत्पादन गरेको कृषि सामाग्रीले कृषकको घरपरिवारसँगै यसबाट आश्रित व्यापारीहरुको समेत गर्जो टार्ने गरेको छ ।
यतिका कारोबार हुने केन्द्रविन्दु हुँदा पनि स्थानीय सरकारले कृषकको प्रवद्र्धन हुने खालका कुनै कार्यक्रम ल्याउन सकेको छैन भने हटिया लाग्ने स्थान समेत व्यवस्थित गर्न भने सकेको छैन ।
२० बर्ष अगाडि यो हटियाको अवस्था जस्तो थियो अहिले पनि उस्तै छ । कृषि प्रधान देश भनेर चिनिएको नेपालमा कृषि उत्पादन गर्ने कृषकको जीवनस्तर उकास्ने खालका कार्यक्रम नै अगाडि सार्न सकेको छैन ।
यहाँका कृषकरुलाई प्राविधिक ज्ञान छैन, परम्परागत कृषि खेतिबाट नै उनीहरुले काम चलाएका छन् । यसतर्फ सरकारको ध्यान जाने हो कि ?