धरान/ विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प संकाय, कारखाना, उद्योगहरूमा भगवान विश्वकर्माको महत्व्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा मनाउने गरिन्छ । 

यो उत्पादन–वृद्धि र राष्ट्रिय समृद्धिका लागि एक संकल्प  दिवस हो भन्दा फरक पर्दैन ।

धरानमा समेत यस बर्ष विश्वकर्मा पूजा धुमधामका साथ मनाइयो । धरान ८ विश्वकर्मा बाबाको मन्दिरमा यस बर्ष पूजा गर्नेको अत्याधिक भीड रहेको थियो ।

सवारी धनी देखि लिएर मेशिनरी तथा औजारका व्यापारीहरुले समेत यो मन्दिरमा पूजाआजा गर्ने भएकोले विहान ४ बजेदेखि नै यो मन्दिरमा अचाक्ली भीड रहेको थियो ।

विश्कर्मा मन्दिरमा जान नपाउने वा नसक्नेले पनि घरमै मेसिन, औजार, हाततियारको पूजा गरेर मनाएका छन ।

विश्वकर्मा पूजाको दिन मन्दिरमा आएर पूजाआजा गर्दा व्यवसायिक सफलतासँगै पारिवारिक सुख मिल्न सर्वसाधारण बताउँछन् ।

अहिले मन्दिर भएको धरान ८ तीनकुने जोगबनी किमांथाका ६ लेनको सडक छेउमा पर्ने गर्छ । विगतमा सानो बाटो हुदा धेरै दुर्घटना हुने भएकोले यहाँ विश्वकर्मा मन्दिरको स्थापना गरिएको ७ नं. वडा समितिकी सदस्य रमिता श्रेष्ठ बताछिन् ।

अन्य दिनमा नयाँ सवारी साधन किन्दा, नयाँ उद्योग धन्दा शुरु गर्दा फाट्टफुट्ट पूजाआजाका लागि आउने भएपनि विश्वकर्मा पूजाको दिन भने अत्याधिक भीड रहने गरेको छ ।

विश्वकर्मा बाबाप्रति आस्था बढेकै कारण बर्षेनी यो दिन पूजाआजाका लागि आउने गरेको भोजकुमार मगर बताउछन् ।

पूर्वमै धरान ८ मा मात्र विश्वकर्मा मन्दिर भएकोले यहाँ पूर्वका विभिन्न स्थानबाट पूजाआजाका लागि आउने गरेका छन् ।

सवारी साधनको अत्याधिक चाप भएकोले ट्रफिक व्यवस्थापनमा हम्मे हम्मे परेको् थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएका ट्राफिक प्रहरीहरुले सवारी चापको व्यवस्थापन गरेको ट्राफिक प्रहरी राम विशाल चौधरी बताउछन् ।

विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ ।

यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले पनि गर्ने गर्छन् ।

फलाम तथा पार्टपूर्जाको यस दिन पूजाआजा गर्दा फलाम फाप्ने जनविश्वास रहेको छ ।

चालकहरुले आफ्नो व्यवस्थतालाई समेत थाति राखेर मन्दिरमा लाइन लागेर पूजाका लागि जाने गरको पाइएको छ ।

यसले गर्दा फूलमालाको अत्याधिक व्यापार हुने गरेको फूलमाला व्यापारीहरु उमिला शिवाकोटी बताउँछिन् ।

भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए ।

सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिनुभएको थियो । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उहाले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गर्नुभएको किवदन्ती छ ।

भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण  सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ । धार्मिक ग्रन्थहरुमा विश्वकर्मालाई महत्वका साथ लिएकै कारण पनि सर्वसाधारण विश्वकर्मा पूजाका दिन विश्वकर्माप्रतिको आस्था बढ्दै गएको पाइएको छ ।