काठमाडौँ / नेपाल, भारत र बङ्गलादेशबीच आज त्रिपक्षीय ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।

बङ्गलादेशले पहिलो पटक भारतीय प्रसारण लाइनको प्रयोग गरी नेपालमा उत्पादित विद्युत् आफ्नो देश लैजान लागेको हो ।

सम्झौतामा हस्ताक्षरको पूर्व सन्ध्यामा नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका सम्बन्धमा छलफल गर्न दुई देशबीचका सहसचिव स्तरीय बैठक हिजो सम्पन्न भएको छ ।

नेपाल र बङ्गलादेशबीच ऊर्जा व्यापार र विद्यतसँग सम्बन्धित विषयमा छलफल गर्नका लागि सन् २०१८ मा स्थापना भएको संयुक्त कार्यदलको संयन्त्रको छैटौँ बैठक काठमाडौँमा सम्पन्न भएको हो ।

बैठकमा भोलि १७ गते नेपाल–भारत–बङ्गलादेशबीच हुन लागेको त्रिपक्षीय ऊर्जा सम्झौता, नेपाल र बङ्गलादेशबीचको ऊर्जा विकासका सम्भावनालगायतका विषयमा छलफल भएको कार्यदलका संयोजक एवम् ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चीरञ्जीवी चटौतले जानकारी दिए ।

नेपाल र बङ्गलादेशका सहसचिवले नेतृत्व गर्ने संयुक्त कार्यदल (जेडब्लूजी) ले गरेको निर्णयबारेमा आज सचिवले नेतृत्व गर्ने संयुक्त निर्देशक समिति (जेएससी) को बैठकमा पेस गरिनेछ ।

  यसअघि नै बंगलादेशले नेपालबाट ६.४० सेन्टमा विद्युत खरिद गर्ने सहमति भइसकेको छ । अहिलेको विनिमय दरअनुसार बंगलादेशले ५ वर्षमा ७ अर्ब ३९ करोड रुपैयाँको विद्युत् खरिद गर्ने अनुमान छ ।

२०७९ भदौमा बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मुहम्मद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सुनकोशी ३ आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो ।

अवलोकनपछि सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगायतका जलविद्युत् आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताएका छन् ।

‘बंगलादेश विद्युत् लैजान त सहमत भइसकेको छ । उत्पादन गर्न पनि चासो राख्दै आएको हो’, सचिव आचार्यले भने, ‘सुनकोशी ३ कसरी बनाउने, कसले कति लगानी गर्ने भन्ने विषयमा छलफल हुन्छ ।’

वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ। आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ ।   राससको सहयोगमा