धरान / अस्पतालहरुले अस्पताल हाताभित्र आफ्नै फार्मेसी सञ्चालन गर्ने प्रावधान छ । तर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा भने अस्पताल आर्थिक अभाव भएपछि करिब ५ बर्ष फार्मेसी सञ्चालन गर्न सकेन । प्रतिष्ठानका तत्कालीन उपकुलपति स्व. राजकुमार रौनियारले फार्मेसीको उद्घाटन गरे पनि सञ्चालन नभई बन्द हुन पुग्यो । अहिल फेरि गत कार्तिकदेखि फार्मेसी सञ्चालनमा ल्याएको छ ।

कार्तिकबाट सञ्चालन भएपनि फार्मेसी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले विहीबार उद्घाटन गरेका छन् । कार्तिकमा प्रतिष्ठानको फार्मेसीलाई सञ्चालन गर्न प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसादलाई फार्मेसीको प्रमुखमा तोकिएको छ ।

अस्पताल निर्देशक तथा फार्मेसीका प्रमुख डा जगत नारायण प्रसादले अनुगनका शुरुका दिनमा फार्मेसी पूर्ण रुपमा जीर्ण रहेको, औषधि नभएको पाइएपछि व्यवस्थित गर्दै लगेको बताए / उनले अनुगमनसँगै औषध खरिद प्रक्रियालाइ शुरु गरेको बताउदै फार्मेसीमा कार्तिकमा ७४ हजार, तीन महिनापछि विक्री बढेर ३० लाख, वैसाखसम्म १ करोड र यो महिना अहिलेसम्म १ करोड ४४ लाख हाराहारीमा विक्री भएको बताए । उनले प्रतिष्ठानको आर्थिक अवस्था सुदृढ गर्दै विरामीको सुविधाका लागि यो फार्मेसी कोशेढुंगा सावित हुने बताए ।

प्रतिष्ठानले अहिले ३ देखि ६ वटा मल्टिनेशन कम्पनीका औषधिहरु खरिद गरेर फार्मेसीमा राखेको छ । विमा र सरकारले उपलब्ध गराएको ७५ प्रकारका औषधि निःशुल्क प्रदानका विषयमा भने सरकारले सहज गरिदिए उपलब्धता गराउने बताए उनले भने –‘खरीद पक्रियामा कुरा नमिल्दा हामीले वीमाका विरामीहरुलाई औषधि दिन नसकेका हौ, सरकारले खरिद गरेको मूल्य थोरै तोकेको छ, तर हामीले बढी मूल्यमा खरिद गरेर ल्याएका छौं, सरकारले आफूहरुले खरिद गरेको मूल्यमा समायोजना गरिदिए विमाका विरामीलाई पनि हामी औषधी वितरण गर्छौै ।

उनले वीमाको रकमको समेत कुरा उठाए । सरकारले समयमै वीमावापतको रकम नदिएकै कारण समस्या आएको बताए । उनले भने–‘प्रतिष्ठानले सरकारसँग वीमावापतको ३५ करोड लिन बाँकी थियो, अझै पनि २५ करोड बाँकी छ, औषधिमा पनि सरकारले समयमै रकम भुक्तानी गरिदिएन भने फार्मेसी सञ्चालन गर्न नै समस्या हुन्छ ।’ सरकारले प्रदान गरेको ७५ प्रकारका औषधिका विषयमा भने सरकारलाई पत्राचार गरेको बताए ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले फार्मेसी सञ्चालनले सर्वसाधारणलाई सहुलियत दरमा औषधि उपलब्ध हुने भएको छ भने प्रतिष्ठानको आर्थिक भारलाई कम गर्ने बताए । उनले भने–‘अहिले प्रतिष्ठान पूरै घाटामा चलेको छ, यो फार्मेसीलाई राम्रो सञ्चालन गर्न सक्यौ भने प्रतिष्ठानको आर्थिक भार समेत कम हुन्छ । उनले विरामीको पूरा सहुलियत दिएर सञ्चालन गर्ने बताए । अस्पतालको वेडमा रहेका विरामीले औषधि मगाएपछि वेडमै पु¥याइदिने व्यवस्था गर्ने उनले बताए ।

अहिले प्रतिष्ठानको हाताभित्र चारवटा फार्मेसी सञ्चालनमा आएका छन् । प्रतिष्ठानको फार्मेसी सञ्चालनमा आउन नसकेपछि बन्द हुन पुगेको थियो । प्रतिठानका तत्कालीन उपकुलपति स्व. प्रा.डा.राजकुमार रौनियारले फार्मेसीको उद्घाटन गरे पनि बन्द भएको थियो । बन्द भएपछि प्रतिष्ठानका आम्दानीमात्र गुमेन त्यहाँ कर्मचारी चिकित्सक, कर्मचारीहरुको कमिशनको खेल शुरु भएको थियो । चिकित्सकले बाहिरका मेडिकल पसलसँगको मिलेमतोमा विरामीलाई त्यही पठाउने, पठाएवापत कमिशन खाने, कर्मचारीले समेत आफूले चिनेको जानेको मेडिकलमा पठाएर कमिशन खाने ठूलो गिरोह मौलाएको गुनसाो व्यापक आएको थियो । अस्पतालजस्तो संवेदनशीलमा क्षेत्रमा हुने कमिशनको खेलको अन्त्य गर्न प्रतिष्ठान आफैले फामेसी सञ्चालन गर्न विगतदेखि माग हुदै आएको थियो ।