धरान/ नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेका गायक तथा द क्राइसिस ब्यान्डका मुख्य गायक छिरिङ तामाङको नयाँ गीत ‘सुकि’ हालै सार्वजनिक गरिएको छ। गीत सार्वजनिक भएसँगै छोटो समयमै दर्शकको उल्लेखनीय साथ पाउँदै गएको छ।
उक्त गीत छिरिङ तामाङकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतको सम्पूर्ण निर्माण कार्य कागज प्रोडक्सनले सम्हालेको हो। प्राविधिक दृष्टिले आकर्षक र कथात्मक हिसाबले भावनात्मक बनाइएको यो भिडियोले दर्शकको ध्यान खिच्न सफल भएको छ।
‘सुकि’ प्रेम, आत्मसम्मान र सम्बन्धको संवेदनशील पक्षमा केन्द्रित छ। भिडियोमा युवापुस्ताको जीवनशैली, सम्बन्धमा आउने उतारचढाव र मायाको दूरीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। गहिरो भाव, सुमधुर संगीत र अभिनयको संयोजनले भिडियोलाई प्रभावशाली बनाएको छ।
छिरिङ तामाङ पछिल्लो समय आफ्ना मौलिक प्रस्तुति र आवाजका कारण संगीतप्रेमीहरूबीच चिनिँदै गएका छन्। द क्राइसिस ब्यान्डसँग आबद्ध उनी नेपाली सांगीतिक क्षेत्रमा सम्भावनाशील गायकको रूपमा उदाएका छन्। उनका अघिल्ला गीतहरू जस्तै, ‘सुकि’ ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
गीत रिलिज भएको छोटो समयमै युट्युबमा हजारौँ भ्युज प्राप्त गरिसकेको छ भने सामाजिक सञ्जालमा पनि राम्रो प्रतिक्रिया पारिरहेको छ।