उमेर त्यस्तै ७/८ वर्षको हुँदो हो ! बाल्यकाल ! सोह्र श्राद्व सुरु हुनासाथ दशैको रमझम लाग्ने त्यो समय !
भलै, घर परपर हुँदा होलान्, तर गाउलेहरूको मन चै सबैको एकअर्कासँग टाँसिएको हुन्थ्यो ! दशै नजिकिएसँगै सबै गाउलेहरू एकमन हुन्थ्यो, तब सबै मिलेर बाटो सफा गर्ने, भित्ताहरू ताछ्ने गर्थ्यौं ! गल्लीहरू लिपपोत हुन्थ्यो ।
रातोमाटो, कमेरो लिन धेरै परसम्म जानुपर्थ्यो ! यतिबेला सबैलाई भ्याइनभ्याई छ ,घर लिप्न, घर छेप्न, इनामेल लगाउन ! सबैको घरदेखी आँगन र बाटोसम्म मगमग हुन्थ्यो ! छोरी वा बुहारीहरू कतिधेरै जाँगरिला हुनसकेका, श्रृङ्गारिएका ती घर र गाउँ हेर्दा लाग्थ्यो 'स्वर्गको सुन्दर टुक्रा यहीँ हो ।'
केटाकेटी खाललाई दशैमा नयाँ लुगा लगाउन पाइने त्यो मोह ! दशैछेक्का पञ्चमी बजारमा लाग्ने त्यो हाट ! त्यो भीड ! हालात! तीनचार वटा गाउको एउटै बजार हुन्थ्यो तर सामीप्यता र आत्मीयता यतिधेरै हुन्थ्यो कि एकअर्कालाई सोध्ने पहिलो वाक्य 'अनि तपाईहरूको तिर दशै कस्तो आउँदैछ ? ल है, अर्को साल क्याहो ! यहीँ साल मनाउनुपर्छ, दशैको शुभकामना ।'
यता केटा खाललाई पिङ लगाउन चटारो हुन्थ्यो ! बाबियोको लठारो बाट्ने एकथरी बाँस काटेर लिङ्गो तर्ने अर्कोथरी ! बाबियो र बाँस किन्न पर्दैन्थ्यो र पो केटाखालको मन मिल्थ्यो, पिङ हाल्थें ।
लगभग सबैको घरमा क्यासेट हुन्थ्यो ! दशैका गीतहरूको गुञ्जायसले गाउँ नै आनन्दित हुन्थ्यो !
टिकाको अघिल्लो दिनलाई मार भन्थ्यौं ! गाउलेहरु सबैजना एउटा घरमा भेला हुने ! बुढापाकाहरु मालाश्री गाउथे ! अनि युवाहरूसहितको पूरा गाउले टोली घरघर हिड्थे ! सबैको घरमा दशैको लागि भनेर सुँगुर पालिएको हुन्थ्यो ! मालाश्री गाउँदै प्रत्येक घर सुँगुर मार हान्दै हिड्ने चलन ! बुढापाकाले गाएको त्यो मालाश्री गीतले धर्ती नै हराभरा भएजस्तो लाग्थ्यो ।
टिकाको ५ दिन ! गाउँलेले एउटा परिवारले अर्को परिवारलाई खाना खान बोलाउने दिन छुट्याइएको हुन्थ्यो ! सबैजसो सबैको घर आउने जाने । अनि पो गाउलेहरुमा त्यो आत्मीयता हुन्थ्यो । विवाहित चेलीहरू अरुबेला आउन नपाएपनि दशैको बेला माइत आउथे नै । दुईचार दिनकै दुरीमा माइत किन नहोस् माइत आउँदाको त्यो खुसी व्यक्त गरिनसक्नु हुन्थ्यो ! ………
…अनि पो आउँथ्यो, दशै । पहाडबाट मधेश झरेको पनि एक दशक कटिसकेछ ! तर त्यो दशै आजसम्म आएको छैन् ।
  • पत्रकार सुविन विश्वकर्माको सामाजिक सन्जालबाट साभार