बराहक्षेत्र चतरास्थित औलिया गद्दी (मठ) को व्यवस्थापनमा वर्षौंदेखि हेलचेक्र्याइँ हुँदा अपेक्षित विकास हुन सकेको छैन । गत पाँच वर्ष स्थानीय सरकार हुँदा रंगरोगनबाहेक केही गर्न नसकेको औलिया मठमा नयाँ व्यवस्थापन हुने खबरले उत्साह छाएको छ । 

बराहक्षेत्र १ नम्बर वडा कार्यालयले गुठी संस्थानबाट नयाँ व्यवस्थापनका लागि सहयोग गर्न पत्राचार भएपछि वडा कार्यालयसमेत यसको व्यवस्थापनमा लागि परेको छ । 

‘औलिया गुठीमा महन्त महात्माहरु नहुँदा यसको समुचित विकास हुन सकेको थिएन’, वडाध्यक्ष किसन थापाले भने, ‘गुठी संस्थानको पत्राचारमा वडाले व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।’

औलिया मठको व्यवस्थापनका लागि व्यवस्थापक विनायक पुरीलाई गुठी संस्थानले पठाएको वडाध्यक्ष थापाले बताए । औलिया मठको दुर्दशाका कारण स्थानीयवासी समेत रहेका आफूलाई दुःख लाग्ने गरेको वडाध्यक्ष थापा बताउँछन् ।

अबका दिनमा सुधार गरेर लाने, गुठी संस्थानलाई यसको विकास र पुनःर्जागरण गर्न समन्वय गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष थापाले बताए । 

Auliya matha photo 4

उनले जोगी, सन्त र महात्माहरुलाई पनि आस्वास्त रहन अनुरोध गरे । औलिया मठ वि.सं. १८२१ मा स्थापना भएको यहाँ अवस्थित प्रमाणहरुले पुष्टि गर्दछन् । अढाई सय वर्ष पुरानो यो मठमा अपेक्षित विकास हुन सकेको छैन । दशकौं अघि लाग्ने मेला, महोत्सव र भीडभाड समेत हराउँदै जाँदा औलिया मठको महत्व ओझेलमा परेको छ । 

दिनानुदिन जीर्ण बन्दै गइरहेको छ, औलिया मठ

प्राचीन तथा ऐतिहासिक महत्व बोकेको औलिया बाबा मठ संरक्षण, सम्बद्र्धनको  अभावमा दिनानुदिन जीर्ण बन्दै गइरहेको छ । 

औलिया बाबा गुठीका नाममा रहेपनि गुठीद्वारा यसको संरक्षण र सम्बद्र्धनमा खासै चासो नदिएको स्थानीय बासिन्दाहरु बताउँछन् । औलिया बाबा मठभित्र रहेका पुरातात्विक र ऐतिहासिक वस्तुहरुको संरक्षण नभएकाले ती वस्तुहरु अहिले कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

औलिया बाबाको मठमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दथ्यो तर आजभोलि यसको प्रचारप्रसार, जीर्णोद्धार नहुँदा  भक्तजनहरुको उपस्थिति न्यून हुँदै जाँदा लोपोन्मुख क्षेत्रको रुपमा परिणत हुँदै गइरहेको छ ।

Auliya matha photo 2

ऐतिहासिक कालमा सिद्धपुरुष औलिया बाबा हालको वराह भगवान्को मन्दिरदेखि १ कि.मि. वर तत्कालीन अवस्थामा रहेको भिर गुप्त वराहको मन्दिरमा बस्ने गरेको र तत्कालीन मकवानपुरका राजा मनमुकुन्द सेनले आफ्नो आधा राज्यको हिस्सा ताडपत्र र ताम्रपत्रमा लेखी औलिया बाबाको मन्दिरलाई चाहिने भनी दिएका थिए ।

तत्कालीन आधा राज्य लिलाम गर्दा आएको सवा लाख रुपैयाँमा गुप्त वराहको ठाउँ साँघुरो भएकाले हालको चतरा औलिया बाबाको मठलाई गुठीका रुपमा विकास गरी कर्मचारीसमेत खटाएको र बारा जिल्लामा बिर्ता खरिद गरेको इतिहासकार गणेश सुब्बा विरहीले ‘महामुनि औलिया बाबाको छोटो प्रसङ्ग’ नामक लेख ‘सत्सङ्ग जागरण’ मासिक पत्रिकामा प्रकाशन गरी बताएका थिए । 

स्थानीयका अनुसार औलिया बाबाको गुठीअन्तर्गत उदयपुरको साविक ठोक्सिला गाविस हाल बेलका, धरान उपमहानगरपालिकाको विजयपुर क्षेत्रलगायतका ठाउँमा जग्गा रहिआएको तथ्य छ । तर त्यसको भोगचलन कसले गर्छ ? त्यसबाट औलिया बाबा मठलाई कति आम्दानी हुन्छ अहिलेसम्म लेखाजोखा छैन । औलिया बाबा गुठीका नाममा मनग्ये स्रोत भएपनि यसको उचित सदुपयोग हुनसकेको छैन । 

Auliya matha photo 3

औलिया बाबा मठ परिषरभित्र आजभोलि स्थानीयका गाईवस्तु र बाख्रा पाठा चरेको देख्न सकिन्छ । वार्षिक रुपमा  आधा दर्जनजस्ता धार्मिक मेलाहरु वराहक्षेत्रमा लाग्ने गरे पनि औलिया बाबाधामका रुपमा परिचित औलिया मठ परिषर भित्र कुनै धार्मिक मेला र माहोल देख्न सकिन्न ।

कात्तिके मेला, बोलबम मेला लगायतका धार्मिक मेलामा भक्तजनहरुलाई बास बस्न र निःशूल्क रुपमा खानपिनको व्यवस्था हुने र बस्नका लागि पनि सुविधायुक्त धर्मशालाहरु रहेको औलिया मठको अहिले संरक्षण, सम्बद्र्धन र पुनःनिर्माण नहुदा कन्तविजोग भएको छ । 

यसको विकासमा नत औलिया मठका पदाधिकारीहरुले नै चासो दिएका छन् नत गुठी संस्थानले नै यसको विकासमा चासो दिएको छ । विभिन्न समयमा गुठीसंस्थानले ऐतिहासिक र पुरातात्विक मठमन्दिर, पाटीपौवाको संरक्षण र प्रचारप्रसारमा कार्यक्रमहरु गरेपनि औलिया बाबाधाम संस्थानकै आँखाबाट ओझेल परेको स्थानीयबासी दुखेसो पोख्छन् । 

Auliya matha photo 2

औलिया मठभित्र दरिलो आर्थिक स्रोत भए पनि यसको समुचित प्रयोग नहुँदा मठको उचित व्यवस्थापन र संरक्षण हुनसकेको छैन । ऐतिहासिक र पुरातात्विक क्षेत्रका रुपमा स्थापित औलिया मठको सबैले संरक्षण गर्नु आवश्यक भए पनि स्थानीय सरकार समेत बेखबर छ । 

औलिया मठ परिषरका पुराना ढलापडा रुख के भए ? कसले बेच्यो वा त्यसलाई कसरी आम्दानीमा बाँध्यो कसैलाई चासो छैन । वन कार्यालयका अनुसार त्यसलाई चिरान गर्न र निकासी पैठारी गर्न गुठी संस्थानको नाममा दर्ता भएको प्रमाण र लालपूर्जाको नक्कल र निवेदन जिल्ला वन कार्यालयलाई दिनु पर्ने हुन्छ अनि मात्र वन कार्यालयले छानविन गरी मुचुल्का तयार गर्नुपर्ने हुन्छ ।

Auliya matha photo 1

मुचुल्का डिभिजन वन कार्यालय पठाउनुपर्छ, वन कार्यालयले कटान आदेश दिएपछि मात्र कटान गर्न मिल्छ ।  गुठीको जग्गा भए पनि नम्बरी आवादीको जस्तै प्रावधान हुने हुँदा मनपरि तवरले कटान गर्ने र निकासी गर्न नपाइने प्रावधान वन कार्यालयको रहेको छ । तर विगतका दिनमा ढलापडा रुख औलिया बाबा गुठीले कसलाई लिलाम गर्‍यो, कसरी बेच्यो र यसको आयआम्दानी के भन्ने बारेमा स्थानीयहरु नै रनभुल्लमा परेको बताउँछन् । 


(फाइल समाचार) सन् १०।०९।२०१४

आजभन्दा ८ वर्ष अघि साउन महिनामा प्रकाशित यो समाचार र अहिलेको अवस्थामा स्थानीय सरकारमात्र परिवर्तन भएको छ । तर औलिया बाबा मठको अवस्था उस्तै छ । राजनीतिक परिवर्तन भयो तर विकास हुन सकेन । सोही समाचारको  सम्पादित अंश यहाँ सन्दर्भअनुसार प्रस्तुत गरिएको छ । 

औलिया गुठीको नाममा रहेको झण्डै १५/१६ सय बिघा जग्गा सुनसरी, सप्तरी, उदयपुर मोरङ, सिरहा लगायतका स्थानमा रहे पनि त्यसको सबै आयआम्दानी गुठीसंस्थानले लाने गरेको बताउँछन्, औलिया बाबा गुठीका महन्त मुकुन्द भारती । 

प्रजातन्त्र आएपछि ४६ सालदेखि यता सम्बन्धित भूमिसुधार मन्त्रीको मातहतमा रहने भएकाले मन्त्रीले आफ्ना नातेदारहरुलाई गुठीको अध्यक्ष नियुक्त गरे र अहिले ती सबै जग्गा मोहीका नाउँमा दर्ता भए त्यसो हुँदा मालपोत मात्र २५ रुपैयाँ ३० रुपैयाँ बिघाका हिसाबले तिर्ने हुँदा आम्दानीको स्रोत घटेको महन्त भारती बताउँछन् ।

उनी भन्छन्, “हामी आफै नै त्यसको रेखदेख गर्ने गरेका छौं ।” आर्थिक स्रोतको अभावमा अहिले त्यसलाई व्यवस्थित गर्न नसक्ने अवस्था रहेको उनी बताउँछन् । “सरकार र गुठी संस्थानले भएको जग्गाको सदुपयोग गरिदिए राम्रो हुने थियो । सबै जग्गा मोहीका नाममा दर्ता गरिदिए पछि आम्दानीको स्रोत मालपोत मात्र हो । सम्बन्धित जिल्लाका  मालपोतल कार्यालयले गुठी संस्थानलाई दिन्छ र गुठी संस्थानले पूजा खर्च भन्ने शीर्षकमा केही रकम छुट्याइ दिने गरेको छ ।” 

धार्मिक पर्यटकीय क्षेत्र भएकाले मठमन्दिरको उल्लेखीय सङ्ख्या रहेको वराहक्षेत्रमा पुराना मठमन्दिरहरुलाई वेवास्ता गर्दै नयाँ स्थापना गर्नतिर स्थानीय निकायको ध्यान केन्द्रित रहेको अवस्था छ,  महन्त भारती भन्छन्, “बालसन्त, कृष्णदास, शङकराचार्य मठ बनाउन तिर मात्र स्थानीय बासीको सहयोग भएको हो कि जस्तो देखिन्छ, पुराना र ऐतिहासिक सम्पदाको संरक्षण गर्नुभन्दा पनि नयाँ संस्था निर्माण गर्नपट्टि स्थानीय निकायहरु लागिपरेका छन् । तर औलिया मठजस्तो ऐतिहासिक र पुरातात्विक मठमन्दिरको जगेर्ना प्रति स्थानीय निकायको सहयोग नरहेको हो कि जस्तो लाग्छ । 

स्थानीय सरकारले पनि आफ्नो क्षेत्रको महत्वपूर्ण क्षेत्रमात्र भन्ने तर अपेक्षित सहयोग गरेको छैन, यहाँ फाइदा भयो भने मात्र गर्ने परिपाटि बसेको छ ।” 

गुठी संस्थानले मठमन्दिरलाई राम्रो व्यवस्थापन गर्न नसकेको महन्त दुखेसो गर्छन । स्थानी सरकारबाट स्रोत सङ्कलन र पुनःनिर्माणमा सहयोग भएको छैन । औलिया बाबाको मठ सुरक्षा र संरक्षणको दृष्टिकोणले राम्रो रहेको बताउने महन्त व्यवस्थापन मात्र कमजोरी रहेको स्विकार्छन उनी भन्छन् “गुठी संस्थानसँग यसको बारेमा कुरा भइरहेको छ, कर्मचारीको तलब वृद्धि गर्ने र व्यवस्थापन राम्रो बनाउने तयारी भइरहेको छ ।”

गत वर्ष स्थानीय सरकारले मठ रंगरोगनका लागि बजेट विनियोजन गरिदिएको थियो । औलिया मन्दिरको रेखदेख र पूजापाठका लागि भनेर २ जना पुजारी र ३ जना कर्मचारी खटाइए पनि कर्मचारीको न्यून तलब सुबिधाले उनीहरु समेत काम गर्न उदासिन देखिएका छन् । पुजारीको मासिक तलब ६ सय ७० र कर्मचारीको ५ सय २५ रहेको छ ।

अहिलेको महङ्गीमा चिया खानसमेत नपुग्ने भएपछि कर्मचारीको जाँगर पनि मरिसकेको छ । धार्मिक आस्थाका कारण मात्र काम गर्दै आएको उनीहरुको भनाइ रहेको छ । 

औलिया बाबाको मन्दिर हिन्दू र मुस्लिम दुबै धर्मावलम्बीले प्रार्थना गर्ने विश्वकै एक मात्र मन्दिर हो ।  कथनअनुसार यस क्षेत्रमा औलो लाग्ने हुँदा सो रोग निवारण गर्ने बाबाका रुपमा हिन्दूहरुले औलो बाबाका रुपमा पुज्ने गर्दछन् भने मुस्लिमहरु औलो वा औलिया होइन अल्लाह हो हिन्दू जिब्रोले अपभ्रंश पारेको दाबी गर्छन् ।

धार्मिक सहिष्णुताको उच्चत्तम नमुनाका रुपमा रहेको यो मन्दिरको संरक्षण गर्नु अत्यावश्यक रहेको स्थानीयको जोड छ ।