सुनसरीस्थित बराहक्षेत्र धाममा पर्ने औलिया गद्दी (मठ) मा महानवमीको अवसर पारेर नव–कन्या पूजन (नौ जना बालिकाको पूजा) गरिएको छ ।

हिन्दू धर्मावलम्बीहरुमा नवरात्रमा नवकन्या पूजन गर्ने प्राचीन विधि हो । प्रत्येक वर्ष राष्ट्रपतिले समेत नवकन्या पूजन गर्ने प्रचलन छ । औलिया मठमा गुठी संस्थानले व्यवस्थापकमा कारोबारी महन्त विनायक पुरीलाई अख्तियारी दिएपछि नवकन्या पूजन गरिएको बराहक्षेत्र १ का वडाध्यक्ष किसन मगरले जानकारी दिए । 

नवरात्रमा नवकन्या पूजनको विशेष महत्व रहेको कारोबारी महन्त विनायक पुरी बताउँछन् । उनले साना बालिकालाई विधिअनुसार पूजा अर्चना गरी भोजन गराएको बताए ।  

हिन्दू धर्ममा हरेक पर्व उत्सवलाई बडो धूमधामका साथ मनाउने गरिएको छ । अहिले प्रत्येक हिन्दू धर्मावलम्बी नेपालीको घरघरमा नवरात्रीको उत्सव चलिरहेको छ । नवरात्रमा जति महत्व श्रद्धा र भक्तिका साथ पूजा अर्चना गरिन्छ उत्ति नै महत्व कन्या पूजनको हुन्छ । कसैले महाअष्टमीका दिनमा कन्या पूजन गर्छन् भने कसैले महानवमीमा गर्छन् । 

कन्या पूजनमा साना बालिकालाई घरमा बोलाएर उनीहरुको पाउ धोएर मीठो परिकार खान दिने चलन छ । 

कन्या पूजनमा कन्या मात्र नभएर दुई बालकको पूजा समेत गरिन्छ ।

देवी पूजामा कन्यालाई देवीका रुपमा पूजा गरिन्छ । तर बालकलाई किन पूजा गरिन्छ त ? कन्या पूजनमा दुई बालकलाई पनि सँगै पूजा गर्ने गरिन्छ । यसका पछाडिको कारण भनेको पहिलो बालकलाई भगवान गणेश र दोस्रालाई भैरवका रुपमा मानिन्छ । भैरवलाई देवी भवानीको पहरेदारका रुपमा मानिन्छ । देवी पूजा भैरव बिना अधुरो रहन्छ । 

कन्या पूजा गर्दा घरमा सुख, समृद्धि आउँछ

nawa kanya pujan auliya matha 1

देवीको नौ रुपलाई मध्येनजर गर्दै नव–कन्या र दुई कुमारलाई घरमा बोलाइन्छ । कन्या पूजन गर्नाले दुःख दरिद्रता हटेर जान्छ । घरमा सुख समृद्धि छाउँछ । कन्या पूजन षष्ठी, सप्तमी, अष्टमी वा नवमी मध्ये कुनै पनि दिन गर्न सकिन्छ । पूजामा बोलाइने कन्याको उमेर २ वर्षदेखि १० वर्षका बीचमा हुनुपर्छ । 

कन्याहरुको पाउ धोएर उनीहरुलाई सफा स्थानमा बसाइन्छ । उनीहरुलाई टिका लगाइदिएर शिरमा चुनरी ओढाइन्छ । उनीहरुलाई आरती गरेर भोजन गराइन्छ । कन्यालाई मीठा परिकारहरु जस्तै हलुवा–पुरी र चनाबाट बनेका परिकार खुवाइन्छ । त्यस्तै उनीहरुलाई मन पर्ने अन्य खानाहरु खिर, मीठाइ र फलफूल पनि दिन सकिन्छ । यसपछि उनीहरुको पाउ छोएर आशिर्वाद लिने र दक्षिणा दिने गरिन्छ ।