नेपालमा पर्वहरुको सांस्कृतीकरण बढ्दै गइरहेको छ । नेपालमा मनाइने चाडपर्वलाई सबै समुदायले उत्तिकै उत्साहपूर्वक मनाउँदै आएको पाइन्छ । साकेला, हुर्रा, धान नाच, छैठ, देउसी, भैलोलगायतका पर्वहरुलाई नेपालीहरुले साझा रुपमा मनाउने गर्दै आएका छन् । हिन्दू नेपालीहरुले सांस्कृतिक र धार्मिक रुपले मनाउने देउसी, भैलोसमेत सांस्कृतिक रुपमा अगाडि बढ्दै गइरहेको छ । यो पर्व सबै नेपालीहरुले उत्साहपूर्वक मनाएका  छन् ।

 

दुई वर्ष लगातार कोरोना भाइरसको  संक्रमणका कारण चाडपर्व समेत निष्क्रिय बनेका थिए । संक्रमण मत्थर हुँदै गएपछि चाडपर्वलाई उत्साहपूर्ण रुपमा मनाइँदै आएको छ । सबै जातजातिको सघन बसोबास रहेको पूर्वको सांस्कृतिक पर्यटकीय नगर धरानमा तिहार विभिन्न सांस्कृतिक कार्यक्रमसँगै समापन हुने  क्रम जारी छ । यमपञ्चकको अन्तिम दिन भाइटिकापछि मध्येरातसम्म देउसी भैलो खेलेर यसलाई सांस्कृतिक रुपमा सम्पन्न गरिएको छ । एकारि धार्मिक मान्यता  र अर्कातिर सांस्कृतिक मान्यतालाई परापूर्व कालदेखि मनाउँदै आएकामा यस वर्ष सक्रिय रुपमा निरन्तरता दिइएको छ । 

धरानमा अल्पसंख्यक तर उत्साहपूर्ण सहभागिता रहेको भोटे समुदायले देउसी खेलेका छन् । शिङ्सा भोटे समुदायले धरानमा आफ्नो मौलिक नाच प्रस्तुत गरेको हो । सांस्कृतिक पर्वहरुमा आफ्नो मौलिक नाचसहित यो समुदायको निरन्तर उपस्थिति रहँदै आएको छ । धरान २ का वडाध्यक्ष रमेश राईको घरमा भोटे समुदायले आफ्नो मौलिक नाच (शेर्पा नाच) प्रस्तुत गर्दै सांस्कृतिक सद्भावको जागरण गरेको छ । शेर्पा नाच तराई तथा भित्री मधेसमाा बिरलै देखिने गरेको छ । 

विद्वान आचार्य सार्की शेर्पाका अनुसार परापूर्वकालदेखि शेर्पाहरू बौद्ध धर्ममा आस्था र विश्वास राख्ने भएकोले जुन सुकै सामाजिक कार्य गर्दा अहिंसा र प्रतीत्यसमुत्पादको सिद्धान्तमा रहेर सम्पूर्ण कार्यहरू सु–सम्पन्न गर्ने गर्दछन् । त्यसैले शेर्पा समुदायको समाज मैत्री र करुणा आदि भावनाले परिपूर्ण भएको समाज हो ।

यो समाज हिंसा, अधर्म, अनैतिक जस्ता कार्यहरूबाट टाढा रहेको छ । शेर्पाहरूको आफ्नै भेष–भुषा, नाच–गान, खान–पान रहेका छन् भने घरको वनावट शैलीदेखि लिएर घरको भित्र बाहिरको रङ्ग रोगन, मुर्ति कला, चित्र कला आदि अन्य समुदायको भन्दा केही फरक रहेको देखिन्छ । शेर्पाहरूले मान्ने मुख्य चाडपर्व शाक्यमुनि बुद्धसँग सम्बन्धित बुद्ध जयन्ती, धर्मचक्र प्रर्वतन, सागा दावा, देवातरण महोत्सव (ल्हाबापा तुइक्षेन) र आचार्य पद्मसम्भवसँग सम्बन्धित, शुक्ल पक्षको दशमी पूजा, (छेचु) र कृष्ण पक्षको दशमी (ञेरङ) को साथै मणि रिल्डुब, ञ्युङन्य (मौन व्रत) डुम्ची (डुव्क्षोद्) लोसार आदि रहेका छन् ।