सूर्यको अनुष्ठान गरी नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्वको रौनक भित्री मधेस, चुरे क्षेत्रमा पनि विस्तार हुँदै गइरहेको छ ।
नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व धरानका खोला तथा नदी किनारमा सुरु भएको छ । धरानका नदी किनारलाई सौन्दर्यीकरण गर्दै, स्नान घाट निर्माणको तयारी थालिएको छ ।
हिन्दु धर्मावलम्बीका महन्वपूर्ण चाड दसैँ र तिहार सम्पन्न भइसकेपछि अब छठको रौनक देखिन थालेको छ ।
वैदिक सनातन धर्ममा सूर्यलाई देवता मानिन्छ । सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँग सांस्कृतिक रूपमा जोडिएको छ ।
सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, ताल तलैया या पोखरीको किनारलाई सजाएर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्ती राखिने गरिएको छ । अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अर्घ दिएर यो चाड मनाइने गरिन्छ ।
यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।
यो पर्वका यी चार दिन विभिन्न कामहरू गरिन्छ । अरबाको दिन गाउँका युवाहरू मिलेर छठ मनाइने नदी या ताल वा पोखरीको किनारलाई सजाउने, सडकहरू सफा गर्ने गर्छन् ।
यसको तेस्रो दिन अर्थात् सँझिया घाटको दिन साँझमा व्रतालुहरू त्यसरी सजाइएका खोला, नदी, तलाउ अथवा जलाशयको पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन् । अनि चौथो दिनको बिहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ ।
छठको दिन विभिन्न समूह बनाएर सामूहिक रूपमा भजन गाउने र रमाइलो गर्ने चलन पनि रहेको छ । पर्वमा मैथिली भाषाका पारम्परिक गीतसंगीतलाई महत्व दिइन्छ ।
छठको धार्मिक महत्वसँगै सांस्कृतिक पाटो समेत विस्तार हुँदै गइरहेको छ । छठ पर्व जातजाति, भूगोल, वर्गभन्दा माथि उठेर प्रकृतिको पूजाका रुपमा लिइन थालिएको छ । सूर्य, जलचर, थलचरलगायतका प्राणीको समेत मंगल कामना गरेर छठ मनाइँदै आएको छ ।