धरान /  तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे सङ्क्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर माघे सङ्क्रान्ति मनाइन्छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डुु, सागपात, तरुल, आदि खाने गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने मान्यता रही आएको छ ।

प्रकृतिले त्यही कुरा, त्यही समयमा उत्पादन गरिदिएको छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यतिबेला तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ । माघे सङ्क्रान्तिका दिन प्रयोग गरिने परिकारले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ भन्ने मान्यता छ ।

गत वर्षको तुलनामा यो वर्ष भने तरुलको व्यापारमा निकै कम भएको अधिकांश व्यापारीको गुनासोे छ । सिजनअनुसारका फसल बिक्री वितरण गर्दै आएकी पालिका तरकारी बजारकी मैया बस्नेतले यस वर्ष तरुल कम बिक्री भएको बताइन् । उनले भनिन्–‘गत वर्षको तुलनामा यस वर्ष बिक्री कम भएको छ ।

tarul

मधुमेह भएका बिरामीहरुले तरुल खानु हुँदैन भन्ने मान्यता भएकै कारण तरुलको बिक्री कम भएको हुन सक्छ ।’ पुराना पुस्तालाई माघे संक्रान्तिको महत्व थाहा भएपनि नयाँ पुस्ताले पर्वको महत्व नबुझ्दा पनि खरिद बिक्रीमा कम आएको हुन सक्ने उनका ठम्याई छ ।

उनले अघिल्लो  वर्षको माघे सङ्क्रान्तिमा  ३ सय केजी  तरुल बिक्री गरेको सुनाइन् तर यस वर्ष  त्यसको ठिक आधा बिक्री भएको बताइन् । उनले भनिन्–‘गत वर्ष माघे संक्रान्तिका दिन ३ सय केजी तरुल बिक्री गरेकी थिएँ, अहिले १ सय ५० केजीमात्र बिक्री गर्न सकेँ ।’ भाउमा भने गत वर्ष र अहिलेमा केही फरक नभएको बताइन् । गत बर्ष रातो तरुलको मूल्य १ सयदेखि १ सय २५ सम्म बेचेको बताउदै यस बर्ष १ सय ८० मा विक्री  गरेको सुनाइन्् ।

यस्तै धरान  १५ का व्यापारी लालबहादुर खड्काले यस वर्ष पिडालु ८० रुपैयाँ, सेतो घरतरुल १ सय ५० र वनतरुल १ सय ८० रुपैयासम्म विक्री गरेको बताए । उनले कृषि बजारबाट होलसेलमा सेतो घर तरुल ५०, पिडालु ५०, सेतो घर तरुल ५० देखि १०० सय रुपैया र वन तरुल १ सय ५० रुपैया प्रतिकेजी खरिद गरेर ल्याएको बताए ।

यसैगरी धरान ७ की रजु थापाले समेत यस बर्ष गत बर्षको भन्दा कम तरुल विक्री गरेको बताइन् । उनले भनिन्–‘जति जाडो भयो  त्यति तरुल विक्री हुन्छ, गत बर्षको तुलनामा यो बर्ष तरुल खासै विक्री भएन । 

कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराइले अनुसार यस बर्ष गत बर्षको भन्दा कम तरुल भित्रिए पनि मूल्यमा भने खासै फरक नपाइएको बताए । यस बर्ष कृषि बजारमा २ हजार टन तरुल भित्रिएको बताए । गत वर्ष करिब ४ हजार टन तरुल भित्रिए पनि यस बर्ष कम भित्रिनु गाउँ गाउँमा पुगेको सडक सञ्जाल मुख्य रहेको बताए ।

उनले भने–‘कोराना अघि पूर्वी पहाडी जिल्लामा उत्पादन भएका कृषि जन्य सामाग्री धरानको कृषि बजार भएर अन्य स्थानमा जाने गथ्र्यो तर कोरोनापछि यो अवस्था छैन ।’ उनले गाउँ गाउँमा सडक सञ्जाल पुगेका कारण उत्पादन भएका कृषि सामाग्री गाउँबाट सिधै नेपालका विभिन्न सहर र भारतसम्म पुग्ने गरेको बताउदै यसको असर कृषि बजारमा परेका बताए ।