धरान /  गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि पछिल्लो समय झोलुंगे पुल प्रयोगविहीन बनेका छन् । झोलेंगेको विकल्प अहिले सडक बनेपछि झोलुंगे पुलको प्रयोग हुन छाडेको हो ।

खोला तथा नदी तर्नका लागि बनाइएका यस्ता झोलुंगे पुल विगतमा एक गाउँदेखि अर्को गाउँ जोड्ने भरपर्दो माध्यम थियो । गाउँमा उत्पादन भएका कृषि सामग्री झोलुंगेपुल हुँदै लिएर बजारसम्म जाने र बजारबाट नुन तेल किनेर बोकेर ल्याउने भरपर्दो माध्यम बनेको थियो । तर पछिल्लो समय यस्ता झोलुंगेपुलको प्रयोग हुन छाडेपछि मर्मत सम्मारसमेत हुन नसक्दा जीर्ण समेत बन्दै गएका छन् ।

धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ बाट तेह्रथुम जिल्ला जोड्ने तेलिया खोलाको कंशुवा पुल अहिले प्रयोग विहीन  भएको छ । विगतमा गाउँसम्म सडक सञ्जाल नजोडिदा यही पुलबाट सैयौँ सर्वसाधारणको आवतजावतको माध्यम बनेको थियो ।  तर अहिले झोलुंगे पुलबाट कोही पनि हिड्ने नगरेको छथरजोरपार्टी गाउँपालिका वडा नं. ४ का वडासचिव शंकरप्रसाद ओझाले बताए । 

उनले भने–‘गाउँमै सडक सञ्जाल पुगेको छ, सर्वसाधारण सवारी साधन प्रयोग गरेर गन्तव्य स्थल पुग्ने गर्छन्, यसले गर्दा यसको प्रयोग हुनै छाडेको छ ।’

उनका अनुसार प्रयोग नभएपछि यो झोलुंगे पुल जीर्ण बन्दै गएको बताए । उनले भने–‘प्रयोग विहीन भएपछि पुलका फलामबाट बनेको पुल खिया लाग्ने रंगरोगन नहुँदा पुल जीर्ण बन्दै गएको छ, यसको संरक्षणमा स्थानीय सरकारले ध्यान पु¥याउनुपर्ने अवस्था आएको छ ।’

उनले जीर्ण बन्दै गएपछि गाउँपालिकाले हेरालु राख्ने विषयमा छलफल भइरहेको बताए । उनले भने–‘झोलुंगे पुल स्थानीय पालिकाको सम्पत्ति हो, त्यसको मर्मत सम्भार गर्ने र हेरालु राख्ने विषयमा छलफल भइरहेको छ ।’        

उनले यातायातको बढ्दो प्रयोग र बसाई सराई गरेर सहरतिर सर्वसाधारण सर्ने क्रम बढ्ने क्रम बढेकाले पनि झोलुंगे पुलको प्रयोग कम भएको बताए । उनले सडक सञ्जालका कारण प्राय ः गाउँका सर्वसाधारण हिड्नै छाडेको बताए ।

विगतमा सर्वसाधारणको आवतजावतको भरपर्दो माध्यम भएपनि भौगोलिक विकटताका कारण पनि सर्वसाधारण पुलको बाटो हिड्न छाडेको बताए । उनले भने–‘पुल लाखौ खर्चेर बनाइएका छन्, गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि भौगोलिक विकटताका कारण त्यहाँ पुग्न सर्वसाधारण चाहँदैनन् ।’

यो त उदाहरणमात्र हो, धनकुटाका धेरै झोलुगे पुलहरु पछिल्लो समय सडक सञ्जालले गाउँ गाउँसम्म जोडिएपछि प्रयोगविहीन बन्दै गएका छन् । प्रयोग नै हुन छाडेपछि यस्ता झोलुगे पुलको मर्मत सम्भावमा समेत ध्यान दिइएको छैन । जसले गर्दा संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।