धरान । पूर्वको संस्कृत पढाइ हुने उच्च शैक्षिक केन्द्र धरानस्थित पिण्डेश्वर विद्यापीठमा यही जेठ महिनाको १४, १५ एवम् १६ गते कोशी प्रदेशस्तरीय ३ दिने संस्कृत सम्मेलन सम्पन्न भएको छ । यस प्रदेशमा रहेका ५० भन्दा धेरै गुरुकुल (अनुमति प्राप्त तथा अप्राप्तसमेत), १२ संस्कृत मावि एवम् दुई संस्कृत विद्यापीठ (क्याम्पस) का २–२ जना प्रतिनिधि, पूर्वक्षेत्रका संस्कृत विद्वान्–विदुषी, संस्कृतप्रेमी, शुभचिन्तक, विद्यार्थी प्रतिनिधि लगायत २५० भन्दा धेरैको सहभागिता यस सम्मेलनमा रहेको थियो । खासगरी गुरुकुल, संमावि र विद्यापीठका आफ्ना तथा साझा समस्यामा आपसी छलफल÷मन्थन गरी समाधानार्थ सामुहिक सङ्कल्प गर्ने, संस्कृतको पठनपाठनलाई गुणस्तरीय बनाउनमा एउटा शैक्षिक निकायमा रहेका सिप, ज्ञान र प्रविधि अर्कोमा हस्तान्तरण गर्ने, मुष्ठीदान एवम् दानदातव्यबाट सञ्चालित गुरुकुलहरुमा सामुदायिक आधारभूत विद्यालय सरह सेवा सुविधा प्राप्तिका लागि माग गर्ने, आवासीय स्वरुप, अवसरका लागि सरकारी बेवास्ता र कतिपय मानिसको सङ्कीर्ण सोचका कारण न्यून विद्यार्थीसङ्ख्याबाट सञ्चालनरत संस्कृत माविहरुलाई विशिष्ट मानेर तिनीहरुमा पर्याप्त दरबन्दी, शैक्षणिक तालिम, पाठ्यपुस्तक आदि व्यवस्था गर्न सम्बन्धित निकाय समक्ष अनुरोध गर्ने, द्वन्द्वको चपेटामा परेर साधारणमा परिवर्तित संमाविहरुलाई पुनः ब्युताउन सरकारसमक्ष अनुरोध गर्ने, धरानको पिण्डेश्वर विद्यापीठमा वास्तु इन्जिनियरिङ विषयको पठनपाठनको अनुमति र भौतिक व्यवस्था मिलाउन नेपाल संस्कृत विश्वविद्यालयसमक्ष अनुरोध गर्ने लगयतका १५ बुँदे संकल्प प्रस्ताव पारित गर्दै यही जेठ १६ गते यो सम्मेलन सम्पन्न भएको छ । 

जेठ १४ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले उद्घाटन गर्नु भएको उक्त सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी, विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष गोविन्द तिम्सिना, विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाल, पिण्डेश्वर संमाविका व्यवस्थापन समिति अध्यक्ष पवन अग्रवाल, चन्द्रसंस्कृत माविका सप्रअ ताराकुमार राई लगायतका महानुभावहरुले शुभकामना मन्तव्य दिनु हुँदै सम्मेलनको सफलताको कामना गर्नु भएको थियो । उद्घाटन सत्र लगत्तै पहिलो दिन कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले– जनजातीय भाषा र संस्कृतको सम्बन्ध, प्रा.डा. टंक न्यौपानेले– आधुनिक भाषाविज्ञानमा संस्कृत भाषाचिन्तनको प्रभाव, डा. रघुनाथ नेपालले– गुरुकुलीय संस्कृत शिक्षा र शिक्षण पद्धतिहरू एवम् कविराज रामबाबु यादवले– योग, आयुर्वेद र प्राकृतिक चिकित्साको सामाजिक उपयोगिता शीर्षक

2222

संकल्प प्रस्ताव jpg 2nd pageमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै दोस्रो दिनको सत्रमा महेश्वर कोइराला र  गोविन्द निरौलाले– संस्कृृत माध्यमिक विद्यालयका समस्या र समाधान, आइटि विषयका प्राध्यापक श्री संजय निरौलाले– संस्कृत शिक्षणमा प्रविधिको प्रयोग, प्रा. डा. सागरमणि सुवेदी एवम् डा. गुरुप्रसाद कोइरालाले– गुरुकुल शिक्षाको विगत र वर्तमान एवम् प्रा.डा. गुरुप्रसाद सुवेदीले गुरुकुलीय विद्यालयहरुमा तह र कक्षा निर्धारण शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी तेस्रो दिनको बिहानी सत्रमा डा.गोपीकृष्ण खतिवडाले– गुरुकुल सञ्चालनका समस्या र समाधान, प्रा.डा.खेमराज खनाल एवम् प्रा.डा. रमेश घिमिरेले गुरुकुल, संमावि र विद्यापीठको अन्तः सम्बन्ध लगायतका शीर्षकमा जम्मा १२ कार्यपत्र प्रस्तुत गरेका थिए । साथै यी कार्यपत्रमा विद्वान् प्राध्यापक र सहभागी प्रतिनिधिहरुले  टिप्पणी गरी आवश्यक सुझाव समेत दिएका थिए । 


यस सम्मेलनले १५ बुँदे संकल्पप्रस्ताव पारित गरेको छ । संस्कृत विद्याभित्रका प्राप्त हुन बाँकी ज्ञाननिधिको खोजी गर्नमा, संस्कृत भाषाको लेख्य र कथ्य प्रयोग बढाउनमा, संस्कृतका पाठ्यसामग्री निर्माणमा, संस्कृत वाङ्मयको गरिमाबारे अनेक भएको समाजलाई गरिमाबोध गराउनमा, गुरुकुलहरुको प्रवद्र्धनमा, गुरुकुलहरुमा व्यावहारिक र प्राविधिक विषय थप गर्नमा, पिण्डेश्वर विद्यापीठमा वास्तु इन्जिनियरिङ विषयको पठन–पाठन आरम्भ गर्नमा, गुरुकुललाई साधारण विद्यालय सरह सुविधा प्रदान गराउनमा, यहाँ कार्यरत जनशक्तिमा विद्यमान सिप, कौशल र भाषिक दक्षता आपसमा प्रयोग गर्नमा एवम् तीनै किसिमका संस्थालाई आइपर्ने समस्या मिलेर समाधान गर्नमा हामी दृढ सङ्कल्पित छौं– यस सम्मेलनले संकल्प गरेको छ । यी संकल्प प्रस्तावको कार्यान्वयन तथा भविष्यमा आउने समस्याहरुमा आपसी समन्वय गर्न पिण्डेश्वर विद्यापीठका प्राचार्य संयोजक रहेको एउटा ११ सदस्यीय–‘विद्यापीठ, संस्कृत माध्यमिक विद्यालय एवम् गुरुकुल समन्वय समिति ः कोशीप्रदेश’ नाउँको समन्वय समितिको गठन यस सम्मेलनले गरेको छ । 

पिण्डेश्वर विद्यापीठ, विजयपुर आध्यात्मिक मञ्च, चन्द्र संस्कृत मावि एवम् पिण्डेश्वर संमाविको संयुक्त आयोजनामा ३ दिनसम्म आवासीय रुपमा सञ्चालित यस सम्मेलनले पूर्वक्षेत्रमा संस्कृतप्रति जागरण र तरङ्ग ल्याएको कुरा सम्मेलनका एक सहभागी प्रतिनिधिले जानकारी दिए । तेह्रथुम जिल्लाको श्री राम संस्कृत माविबाट सहभागी हुन आएका प्रतिनिधि घनश्याम पौडेलले भने– यस सम्मेलनले पूर्वको संस्कृत जगत्मा एक किसिमको रौनक ल्याएको छ, यस किसिमका गतिविधि भविष्यमा पनि सघन रुपमा गरिरहनु पर्दछ, यस्ता कार्यक्रम र गतिविधिबाट दूरदराजमा रहेर संस्कृतसेवा गरिरहने हामीलाई पनि हौसला मिल्छ । त्यस्तै इलामबाट सहभागी हुन आएका रामप्रसाद मिश्रले भने– यसबाट सामुहिक समस्यामा हातेमालो गर्न बाटो खुलेको छ ।

तेस्रो दिनको समापन सत्र प्रा. पुरुषोत्तम भट्टराई गुरुको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । वहाँले उक्त सत्रमा भन्नु भयो– हामीले बोलेर मात्र हुँदैन, मन, वचन र कर्मले संस्कृतमाताको सेवा गर्नुपर्दछ । त्यसमा हामी जति सफल हुन सक्छौं सम्मेलनमा गरिएको संकल्प उत्ति नै सफल र सार्थक हुनेछ । 

उद्घाटन एवम् समापनसत्र प्राचार्य पिण्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेलको अध्यक्षतामा र बाँकी सत्रहरु अन्य आयोजकका अध्यक्षतामा सम्पन्न भएका थिए । कार्यक्रम विद्यापीठका सहायक प्राचार्य डा. भवानीशंकर भट्टराईले सञ्चालन गरेका थिए ।