धरानः नेपालको बहुसास्कृतीक शहर धरानमा विहिबारबाट सापारु (गाइजात्रा) निकालिएको छ । नेवार समुदायले निकै महत्वका साथ निकाल्ने सापारु (गाइजात्रा) आफ्ना मृतक आफन्तको सम्झनामा निकाल्ने गरिन्छ । मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाईजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरूको तस्वीरका साथै पुतलाहरू बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ । यसरी नगर परिक्रमा गर्नाले दिवङ्गत आत्माले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।

धरानको विभिन्न चोकबाट भेला भई भानुचौकबाट शुरु भएको नेवार समुदायको गाईजात्रा रयाली छाताचौक हुँदै पुनः भानुचौकमा पुगेर टुंगिएको थियो । कतिपयले मृतकहरूको सम्झनामा गाईको भेषधारण गरी पनि गाईजात्रा निकालेका थिए । 

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल भएको रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिनको लागि गाईजात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ । यिनै राजा प्रताप मल्लले जो जसका घरमा मानिस मरेका छन्, ती घरबाट गाई ल्याउनू भनेर उर्दी दिएकाले शोक परेका घरबाट गाई शृङ्गार गरेर हनुमानढोका दरबारमा उपस्थित गराउने चलनअनुसार यो पर्व मनाउँदै आइएको छ । गाइजात्रामा पुरानो पुस्ताले नयाँ पुस्तालाई यसका विभिन्न पक्षका बारेमा बुझाएर यसको विधिहरुपनि सिकाउने गरेका छन् । गाइजात्रा तिनपुस्ता सम्मले सहभागि भएर निकाल्ने समेत गरिएको छ । यसो गर्दा संस्कारको पुस्तन्तरणपनि हुने गरेको पाइन्छ ।