ताप्लेजुङ/  बजेट अभावका कारण ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रेको काममा समस्या आएको छ । काम गरेको रकम भुक्तानी नभएपछि सडक कालोपत्रे (पिच) निर्माणको काममा समस्या आएको हो । 

फुङ्लिङ नगरपालिकास्थित मेची राजमार्गको बहानन्देदेखि मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान जोड्ने तमोर नदीको पुलसम्म १० किलोमिटर दूरीभित्र सडक कालोपत्रेको काम हुँदै आएको छ। निर्माण कम्पनीका अनुसार अहिले सडक कालोपत्रे कार्यका लागि बजेट नभएकाले काममा समस्या आएको हो ।

कालोपत्रे निर्माणको काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन प्रालिका आयोजना सम्पर्क अधिकृत (साइड इन्चार्ज) इन्जिनियर अनिल चौधरीका अनुसार काम गरेको रकम भुक्तानी नपाएपछि थप काम गर्नलाई समस्या आएको हो ।

कामको प्रगति अनुसार बिल भर्पाइसहित रकम भुक्तानीका लागि उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयमा कागजात पेस गरेको भए पनि भुक्तानी नपाएको सम्पर्क अधिकृत चौधरीले बताए । 

रकम भुक्तानी नपाएकै कारण करिव चार महिनादेखि काममा खट्ने मजदुर लगायतका जनशक्तिलाई पारिश्रमिक दिन नसकिएको उनले जानकारी दिए । योजना कार्यालयबाट भुक्तानी नपाएपछि मजदुरलगायत कालोपत्रे निर्माणको काममा संलग्न जनशक्तिलाई पारिश्रमिक दिनसक्ने स्थिति नरहेको उनको भनाइ छ ।

उनले कामको प्रगतिअनुसार तत्काल करिव सात करोड रुपियाँ रकम भुक्तानी पाउनुपर्ने बताए । 

रकम भुक्तानीका लागि कागजात पेस गरेको लामो समय भइसक्दा पनि रकम नपाएपछि निर्माणको काममा ठूलो समस्या आएको सम्पर्क अधिकृत चौधरीले बताए । योजना कार्यालय समक्ष रकम भुक्तानीका लागि तीब्र दबाब दिँदै आएको र अब १० देखि १५ दिनसम्ममा पनि भुक्तानी नपाएमा काम छोडेर हिड्नुको विकल्प नरहने पनि उनको भनाइ छ ।

उनले भने, ‘सुरुदेखि नै कामलाई तीब्रता दिँदै आएका छौं, रकम अभाव नभएको अवस्थामा कालोपत्रे निर्माणको काम आउँदो असार मसान्त सम्ममा सकिन्थ्यो ।’

उनका अनुसार कम्पनीमा आवद्ध कर्मचारी तथा मजदुर र स्थानीय मजदुर लगायतका जनशक्तिलाई तलब साथै पारिश्रमिक दिने बजेट नभएपछि तत्काल रकम भुक्तानी गराउनमा दबाब दिने उद्देश्यले सोमबार निर्माणको काम अवरुद्ध गरी निर्माणस्थलमै प्रदर्शनसमेत गरिएको छ ।

निर्माण कम्पनीका गुणस्तर प्राविधिक निरञ्जनकुमार मिश्रले बजेट अभावका कारण सोचेजस्तो काममा प्रगति नभएको बताए । चार महिनायता पारिश्रमिक नपाएपछि काम गर्नमा जाँगर हराउँदै गएको उनले बताए ।

यस्तै कम्पनीका ग्रेडर अपरेटर खुसीलाल चौधरीले पारिश्रमिक नपाएपछि घर व्यवहार चलाउनलाई नै समस्या पर्न थालेको बताए ।

उनले अब पनि पारिश्रमिक नपाउने हो भने काम छोडेर जाने र हालसम्मको पाउनुपर्ने पारिश्रमिक प्राप्तिका लागि आवश्यक प्रक्रिया चाल्नुपर्ने अवस्थाबारे सोच्दै गरेको बताए ।

उनका अनुसार पारिश्रमिक नपाएकाले काममा संलग्न अधिकांस मजदुरलाई समस्या भएको छ ।

यता ताप्लेजुङस्थित उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर सुदर्शन कार्कीले बजेट नभएका कारण भुक्तानी दिन नसकिएको बताए । उनका अनुसार यस कामको लागि चालू आर्थिक वर्षमा एक करोड रुपियाँ बजेट बिनियोजन भएको र सो रकम निर्माण कम्पनीलाई भुक्तानी गरिसकिएको छ ।

निर्माण कम्पनीले कालोपत्रेको काम बढी नै गरेको यथार्थ भए पनि थप बजेट नभएकाले भुक्तानी दिन नसकिएको उनले बताए । 

सम्बन्धित निकायमा थप बजेटका लागि पहल भइरहेको र बजेट आउने नआउनेमा कुनै निश्चित भने नभएको उनले सुनाए । निर्माण कम्पनीले रकम भुक्तानी नगरे काम छोड्ने बताइरहँदा उनीहरुलाई तत्काल काम नछोडी निरन्तरता दिन आफूले आग्रह गर्दै आएको पनि योजना प्रमुख कार्कीले बताए ।

हाल भइरहेको सव–बेसको कामलाई छोडेमा निर्माण कम्पनी आफैँलाई क्षति हुनसक्नेबारे उनीहरुलाई सचेत गराउँदै काम नछोड्न आग्रह गरिरहेको उनको भनाइ छ ।

यता हालसम्म सडक कालोपत्रे निर्माणको काममा ६० प्रतिशत प्रगति भइसकेको आयोजना सम्पर्क अधिकृत चौधरीले बताए ।

उनका अनुसार संरचना निर्माणको काम अर्थात वाल, कल्भर्ट र नाली बनाउने काममा १०० प्रतिशत प्रगति भएको छ । त्यस्तै साढे तीन किलोमिटर दूरीभित्र सव–बेसको काम सम्पन्न भइसकेको उहाँले जानकारी दिए ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जोड्ने मेची राजमार्ग निर्माणपछि बिगत २०५५ सालमा जिल्लाकै पहिलो ग्रामीण सडकका रुपमा बहानन्दे–दोभान सडकको ट्रयाक निर्माण भएको हो ।

ट्रयाक निर्माण भएको करिव २५ वर्षपछि कालोपत्रे गर्न सुरु गरिएको सडकका लागि बजेट अभावले काम रोकिने अवस्था आउनु दुखद भएको स्थानीय पुन्यप्रसाद बरालले बताए ।

उनले जिल्लाकै आधा भू–भाग अर्थात प्रदेश निर्वाचन क्षेत्र ‘ख’ लाई जोड्ने मुख्य सडक भएकाले कालोपत्रेको कामलाई सम्पन्न गर्नका लागि आवश्यक बजेटको व्यवस्था र कामलाई निरन्तरता दिलाउन सबैले पहल गर्नुपर्ने बताए । 

कुल बजेट ३३ करोड ९९ लाख ४६ हजार ६२६ रुपियाँ बजेटमा यो सडक कालोपत्रे गर्ने कामको जिम्मा एपेक्स कन्स्ट्रक्सन प्रालि मैतीदेवी काठमाडौंले पाएको हो ।

योजना कार्यालय र निर्माण कम्पनीबीच २०८१ फागुन मसान्त सम्ममा कालोपत्रे निर्माणको काम सक्नेगरी २०७९ असार २३ गते सम्झौता भएको थियो ।