धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै नेवार एकता समाज, धरानको आयोजनामा उम्मेदवार परिचय तथा शुभकामना कार्यक्रम शनिबार सम्पन्न भएको छ।

धरानस्थित सिद्धि नेवा परिषद्को हलमा आयोजित कार्यक्रममा वाणिज्य, उद्योग तथा एसोसिएट समूहबाट प्रतिस्पर्धामा रहेका ३४ मध्ये ३२ जना उम्मेदवारको सहभागिता रहेको थियो। कार्यक्रममा उम्मेदवारहरूलाई व्यक्तिगत रूपमा प्रस्तुत गराई शुभकामना दिइएको थियो।

कार्यक्रममा उद्योगतर्फ महिला सदस्य पदमा मिना राई (मगर) र एसोसिएट समूहतर्फ सदस्य पदमा नवीन कुमार तामाङ तथा नारायण लिम्बु निर्विरोध निर्वाचित भएकाले उनीहरूलाई विशेष बधाई दिइएको थियो।

अध्यक्ष पदका प्रत्याशी गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठले आफ्ना चुनावी एजेन्डा सार्वजनिक गर्दै व्यवसायीहरूको हितमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै नेवार एकता समाजकी उपाध्यक्ष मञ्जु श्रेष्ठले व्यवसायीहरूको हकहितका पक्षमा नेतृत्वले स्पष्ट दिशा दिनुपर्नेमा जोड दिइन्। संस्थाका संस्थापक अध्यक्ष राजेसमान श्रेष्ठले नेवार समुदायको व्यापारमा उल्लेखनीय भूमिका रहेको उल्लेख गर्दै संघ र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

संघका वर्तमान अध्यक्ष विजय श्रेष्ठ, नेवार एकता समाजका पूर्व अध्यक्ष विशाल श्रेष्ठ, नेवाः देय् दबू धरानका अध्यक्ष मनोहर शाक्य, धरान–३ का वडा अध्यक्ष विद्या शाक्यसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा उम्मेदवारहरूलाई शुभकामना दिइएको थियो।

कार्यक्रम नेवार एकता समाजका महासचिव दिपेन्द्र श्रेष्ठ (कसजु)ले सञ्चालन गरेका थिए भने अध्यक्ष महेश श्रेष्ठले धन्यवाद ज्ञापनसहित समापन मन्तव्य राखेका थिए।