धरान/  ‘जहाँ इच्छा त्यहाँ उपाय’ यो भनाई हाम्रा बुढापाकाहरुले उखानको रुपमा प्रयोग गर्दै आए । यी र यस्ता उखानहरु मानिसको जीवनयापनमा ठ्याक्कै मिल्ने गरेको पाइएको छ ।

माथिको उखानसँग भने धनकुटा जिल्लाको चौवीसे गाउँपालिकाकी ४३ बर्षीय पद्मा लिम्बुसँग ठ्याक्कै मिल्न पुगेको छ । विविध कारणले अध्ययनलाई बीचैमा छोडेकी लिम्बुले २६ बर्षपछि पुन: अध्ययनलाई निरन्तता दिँदै सबैको प्रेरणाको पात्र बन्न सफल भएकी छिन् । 

२०७४ सालको स्थानीय तहमा चौवीसे गाउँपालिकाको वडा सदस्य, सोही सालमा जिल्ला समन्वय समिति धनकुटाको सदस्य भई आफ्ना छोराछोरीलाई आफ्नै खुट्टामा उभिने ल्याकत बनाईसकेकी लिम्बुले २६ बर्षपछि परिवारकै सहयोगमा धरान ८ मा रहेको सहीद स्मृति माविमा गत बर्ष कक्षा ८ मा भर्ना गरेर आफनो पढाईलाई निरन्तता दिएकी हुन् ।

विद्यालय छेउमै डेरा लिएर अध्ययन गर्दै आएकी लिम्बु अहिले कक्षा ९ मा अध्ययनरत रहकी छिन् । तीन सन्तानकी आमा लिम्बुले छोरीले अध्ययन सकेपछि युके पठाउनु भएकी छिन भने दुई छोरा समेत आफ्नै खुट्टामा उभिन सफल भएका छन्  ।

घरपरिवारको जिम्मेवारी पूरापछि समाजसेवा अर्थात गाउँपालिका र जिल्ला समन्वय समितिकी सदस्य समेत बनेकी लिम्बुलाई जीवनमा पढ्ने धोको अझै नमरेका कारण २६ बर्षपछि चार दशकभन्दा बढी उमेर भइसक्दा पनि पढाईलाई निरन्तता दिएकी हुन् ।

विगतमा गाउँले परिस्थिति, विद्यालय जान टाढा, धाउनुपर्ने बाध्यता र समयमै विवाह वन्धनमा बाधिएका कारण पढ्न नपाउनु भएको हो । अहिले उहाँको इच्छा कक्षा १२ पास सम्म गर्न पाए हुन्थ्यो भन्ने उद्देश्यले कम्मर कसेर अन्य कामलाई थाँति राखेर पूरै ध्यान पढाईतिर केन्द्रित गरेकी हुन् ।

उनी  जनप्रतिनिधिमात्र हैन  कलाकारितामा समेत उत्तिकै दख्खल राख्नेमा पर्छन ।

उनले जनप्रतिनिधि हुदाँ नै दुई वटा लोक साँस्कृतिसँग सम्बन्धित दुईवटा गीत समेत आफै बनाएर आफै गाएकी छिन् ।

यो उमेरमा पनि पढाईप्रति यति रुचि हुनुमा उनका शिक्षकहरुले समेत उनको इच्छा मर्न दिएका छैनन् । चौवीसे गाउँपालिकामा रहेको एक विद्यालयमा तीन बर्ष शिक्षण पेशा अंगालेर धरानको सहीद स्मृति माविमा अध्ययन गर्न आएकी उनलाई शिक्षक महेन्द्र भट्टराईले पढाएका हुन् ।

त्यसबेला पद्मकुमारी लिम्बु अभिभावको भूमिकामा रहेको र  अहिले विद्यार्थीको भूमिकामा देख्दा उनको जोश जाँगरको प्रशंसा गरेका छन् ।

कम उमेर अर्थात आफ्ना छोराछोरीको उमेर सरहका साथीसँगीसँगै बसेर बढ्दा कुनै अफ्यारो महासुस नहुने बताउँछिन् ।

उनलाई कक्षा ९ को मनिटरको जिम्मा समेत दिइएको विद्यालयका प्रद्यानाध्यापक रामबहादुर बिस्ट बताउँछन् । उनले गाउँबाट आएर विद्यालय नजिकमै कोठा भाडामा लिएर अध्ययनलाई निरन्तता दिएकाले  पढ्ने इच्छा कति छ भन्ने कुरा प्रमाणित गर्ने प्र.अ. विष्ट बताउछन् ।

जीवनको हरेक पाटोको अनुभव बटुलिसकेकी लिम्बुले जीवनमा पढाइको महत्वभन्दा ठूलो केही रहेनछ भन्ने बुझेरै कक्षा कक्षा ७ मा पढ्दापढ्दै बीचमै पढाई छाड्नु परेको पीडा अझै थियो ।

तर पढाईलाई जहिल्यै भएपनि निरन्तता दिने अठौट बोकेकी लिम्बुले २६ बर्षपछि भएपनि उमेरको कुनै प्रवाह नगरी अध्ययनलाई निरन्तता दिनु नै पढ्न नपाएर पछाडि परेका महिलाहरुका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।

पढ्नलाई केही कुराले छेक्दैन भन्ने दरिलो पात्र पद्मा लिम्बू हुन् ।