भक्तपुर/ इँटाभट्टाको जस्ताको टहरामा बसेर संघर्षपूर्ण जीवन बिताउँदै आएकी गोमा श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ मा ४ जिपिए हासिल गरेकी छन्।
चाँगुनारायण नगरपालिका–८ सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई दिएकी गोमा भक्तपुर जिल्लाकै उत्कृष्ट विद्यार्थीमध्ये एक बनेकी हुन्।
गत शुक्रबार सार्वजनिक भएको एसईई नतिजाको खबर गोमाले किसानको रोपाइँ मेलाबाट फर्किएपछि थाहापाइन्। हतार–हतार अनलाइनबाट नतिजा हेर्दा ४ जिपिए देखिएपछि उनकी खुसीको सीमा नै रहेन।
रामेछापको खनियाँपानी स्थायी ठेगाना भएकी गोमा चार वर्षको उमेरमा परिवारसहित भक्तपुर आएकी थिइन्। छोरीको पढाइप्रति गहिरो रुचि देखेपछि उनका बुबा मीनबहादुर श्रेष्ठले आर्थिक अभावका बाबजुद पनि परिवारको थातथलो छोडेर छोरीको भविष्यका लागि भक्तपुर झरे।
“सानैदेखि पढाइमा रुचि देखाएकी छोरीको लागि गाउँमा भन्दा शहरमा राम्रो पढाइ हुन्छ भन्ने लागेर भक्तपुर झरेंँ,” मीनबहादुर भन्छन्, “इँटाभट्टामा मजदुरी गर्दै भए पनि पढाउँला भन्ने अठोट थियो।”
गोमाको बाल्यकाल इँटाभट्टाको खलामा बित्यो। बिहान साँझ बुबाआमासँग इँटा सुकाउने, ओल्टाइपल्टाइ गर्ने, अनि दिउँसो स्कूल जाने उनको दैनिकी बन्यो। कक्षा ९ सम्म त्यही जीवनशैली चल्यो। तर कक्षा १० मा उनले आफ्नो दैनिकी परिवर्तन गरिन्।
“एसईईमा राम्रो नतिजा ल्याउन बुबाआमाले एक वर्ष पढाइमा ध्यान दिनु भनेपछि मैले खेलभन्दा पढाइलाई प्राथमिकता दिएँ,” उनले भनिन्।
गोमाको लक्ष्य भविष्यमा डाक्टर बन्ने छ। उनले प्लस टु मा विज्ञान संकाय लिएर पढ्ने योजना बनाएकी छन्। “मेडिकलमा छात्रवृत्तिमा नाम निकालेर एमबिबिएस पढ्न चाहन्छु। जन्मदाताको सपना पूरा गर्न र देशका जनताको सेवा गर्न चाहन्छु,” गोमाले भनिन्।
चाँगुनारायण नगरपालिका–८ को सर्वोत्कृष्ट
सामुदायिक विद्यालयमा अध्ययन गरेर ४ जिपिए ल्याउने गोमा चाँगुनारायण नगरपालिकाकै सर्वोत्कृष्ट विद्यार्थी बनेकी हुन्। साथै, भक्तपुर जिल्लाका ३० उत्कृष्ट एसईई परीक्षार्थीमध्ये उनी पनि परेकी छन्।
इँटाभट्टाको टहराबाट सुरु भएको गोमाको शैक्षिक यात्रा आज धेरै विद्यार्थी र अभिभावकका लागि प्रेरणाको स्रोत बनेको छ। गोमाको संघर्ष र सफलता उनीजस्ता हजारौँ युवाहरूका लागि उदाहरणीय छ।