झापा  विर्तामोडकी  नाम सबिना शर्मा रोजगारको सिलसिलामा ओनन जानु भएको थियो  । विदेशमा गएर स्वयम शर्माले जोखिम मोलैरै भएपनि ओमन गएर आफ्नो परिवारलाई सहयोग गर्दै आउनु भएको छ । विदेशमा गएर नेपाली महिलले धेरै दुख कष्ट भोग्नु परेको कुरा त्यहावाट फर्किएर आएका महिलाहरुले वताउँछन । तर ओमन पुग्नु भएकी शर्मा भने आफुमा सीप लिएर जाँदा राम्रो हुने वताउनु हुन्छ । सीप छ भने सीपको नै कदर हुने उहाको अनुभव छ । प्रस्तुत छ उहाँसगको कुराकानी 

  • तपाई एक महिला त्यो पनि निकै जोखिम मोलेर वैदेशिक रोजगारीमा किन जानु भएको ? 

   –खासगरि भन्नु पर्दा गरिवकै कारण हो । घरको अवस्थामा आफ्ना दाजुभाइले पनि सहयोग नगरेपछि म विदेशिन वाध्य भएको हुँ । मेरा  दुईजना दाजुहरु बिदेशमै गएका थिए । जेठो दाजु छुट्टिनु भएको थियो भने कान्छोदाजु संगोलमै हुनु हुन्थ्यो । कान्छो दाजुले कमाएको करीब महिनाको ३० हजार रुपिंया मूल घरमा आउथ्यो भने जेठोदाजु छुट्टिएकोले उनले कमाएको पैसा सबै भाउजुलाई पठाउनु हुन्थ्यो । जेठोदाजु बेग्लै बसेकोले उनले कमाएको सबै पैसा भाउजुले नै चलाउनु हुन्थ्यो । करीब ५ बर्ष दाई बिदेशमा बसेर कमाएको पैसाले जेठोदाईको गाउँमा एउटा घर, बिर्तामोड र इटहरीमा भिटा तथा गउँमै १५ कठ्ठा थप खेत किन्नु भएको थियो । दाईको आर्थिक अवस्था राम्रो थियो तर मूल घरमा दाईले आउँदा सामान्य गिफ्ट ल्याईदिने बाहेक अरु केही आर्थिक सहयोग गर्नु हुन्नथ्यो । मूलघरमा बुबा, आमा, कान्छि भाउजु र म र दाईको सानो छोरा गरेर पाँचजनाको परिवार थियो । कान्छो दाईले पनि पहिला कमाएको पैसाले गाउँमा एउटा राम्रै घर बनाउनु भयो भने केही पैसा घरको ऋण तिर्नमा पनि खर्च गर्नु भयो । त्यसपछि दाईको बिवाह भयो र फेरी बिदेश कमाउन जानु भयो तर कमाएको जति सबै पैसा भाउजुलाई पठाउने गरेपछि मूल घरमा ठूलो आर्थिक संकट पर्यो । दाईलाई फोन गरेर भन्दा पैसा भाउजुलाई पठाएको छ मागन भन्नु हुन्थ्यो तर भाउजुले केही गर्दा पनि पैसा दिनुहुन्नथ्यो । घरमा पाहुनापाछा दैनिक खर्च लगायत गर्दा मासिक ८÷९ हजार रुपिंया खर्च हुन्थ्यो त्यो जुटाउन आमा बुबालाई निक्कै गाह्रो हुन्थ्यो जुनकुरा बुबा आमाले नभनेर पनि मैले महसुश गर्थे । यी सबै कुरा देख्दा मलाई अब म छोरी भएर चुपलागेर बस्नु हुन्न भन्ने निष्कर्षमा पुगे र गाउँका दिदीहरुसँग सल्लाह गरि ओमन जाने निर्णय गरे । 

  • कसरी नेपालवाट ओमनसम्म पुग्नु भयो ? 

मैले अनमी १८ महिने तालिम पनि लिएको हुनाले राम्रै काम पाउँछु होला भन्ने लाग्यो । त्यसपछि बिर्तामोडको एकजना चिनेको मेनपावर मार्फत ओमनका लागि एप्लाई गरे । २०÷२२ दिनपछि भिसा पनि आयो र राम्रैसँग ओमन पुगेकी छु । ओमनमा आएपछि दुईदिन सम्म त्यही मेनपावर कम्पनीको मान्छेले उनीहरुको अफिसमै राखे म संगै गएका अरु साथीहरुलाई कसैलाई होटलमा कसैलाई घरमा काम गर्न राखिदिए तर मैले म त स्वास्थ्य पढेको मान्छे मलाई अस्पतालमा काम लगाईदिनु पर्छ भनेर जिद्दीकसेपछि ५ दिनपछि एउटा अस्पतालमा नर्सको रुपमा काम गर्न राखिदिए । त्याहा काम गर्न थालेपछि मेैले दिनहु ८ घण्टामात्रै ड्युटी गर्नुपर्छ । बिरामीको हेरचाहा गर्ने औषधि खुवाउने, ड्रेसिङ्ग गर्ने आदी काम  गर्नु पर्छ पैसा पनि महिनाको १४ हजार दिन्छन् । हप्तामा २० घण्टा ओभर टाईम पनि गर्न पर्छ त्यसले आफ्नो खानाखर्च, र पकेट खर्च मज्जाले पुग्छ । अहिले ५ महिनाको ७५ हजार रुपिंया घरमा आमाबुबालाई पठाईदिएकी छु । अब चाँही केही गर्न सक्छुकी जस्तो लागेकोछ ।

  • अनि महिला विदेशमा जाँदा शारिरीक देखि मानसिक दुख सम्म भाग्नु पर्छ रे नी ? तपाइले चाहिं  कतिको दुख पाउनु भयो ? 

मेरो बुझाईमा यही ओमनमा पनि धेरै नेपाली, बंगलादेशी, श्रीलंकन महिलाहरु घरेलु कामदारको रुपमा काम गर्छन् उनीहरुले दैनिक १२÷१३ घण्टा काम गर्नु पर्छ । पैसा पनि ८÷९ हजार मात्र दिन्छन् त्यो सबैकारण उनीहरुको सीप नभएर हो जस्तो मलाई लागेकोछ । बिदेश आउने भएपछि कुनै बिषेश सीप सिकेर आयो भने काम पनि सजिलो, छिटो र राम्रोसँग पाईने र जागिर पनि सुरक्षित हुने मैले अनुभव गरेकी छु । तर महिलाले बिदेश जानै हुदैन, केही गर्न सकिदैन, महिलालाई बेच्छन्, यौन ब्यवसायमा  लगाउँछन् भन्ने हल्ला गर्ने र कुरा काट्ने मानिसहरु गाउँमा नभएका होईनन् तर पनि बुद्धिमानी पूर्वक सीप सिकेर सबैकुरा बुझेर बिदेश आएमा केही गर्न सकिने रहेछ भन्ने मलाई लागेको छ । यहा पनि महिलाहरुलाई सम्मान नै गर्छन् । सुरक्षित बातावरण नै छ तर त्यसका लागि आफैले सचेत र सजग भने हुनुपर्छ । 

  • विदेशमा रोजगार गर्दा विशेष के के विचार पुर्याउनु आवश्यक छ ?  

अहिले लेबनान, कुवेत, इजरायल, बहराईन, साउदी लगायतका देशमा काम गर्न जाने महिलाहरुको सख्या उल्लेख्य छ तर सरकारले ती मुलुकमा जाने वातावरण देशबाट नै नमिलाएका कारण सबै महिलाहरु भातको बाटो भएर ल्याईन्छन् त्यस्तो बेलामा सोझा सिधामहिलाहरु दलालको फन्दामा परेर भारतका कोठीमा बेचिएका पनि छन् हामीले पनि सुन्योै । हाम्रै ग्रुपभन्दा अगाडिको एउटा ग्रुपमा ल्याएका ७ जना नेपाली महिलालाई एक दलालले भारतको दिल्लीमा अलपत्र पारेर उनीहरुबाट जनही ४० हजार रुपिंया खाएर भागेको पनि भेटियो । यस्ता कुकृत्य रोकनका लागि नेपाल सरकारले ती मुलुकहरुमा महिलाका लागि पनि रोजगारिमा जाने अनुमति दिनु पर्छ तर त्यसलाई सुरक्षित र पारदर्शी बनाउने तर्फ लाग्नु पर्छ । जति नेपालबाट रोकिन्छ तेत्ती भारतको बाटो हुदै बिदेश जानेहरुको भीड लाग्छ र तेत्ती नै संख्यामा महिलाहरु बेचिने क्रम बढ्दछ ।