विराटनगर/नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गर्ने भएको छ।

आगामी फागुन ७ गते आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड को अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ।

यस सम्बन्धमा एनएलजी इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा सम्झौता भएको हो।

सम्झौता अनुसार प्रत्येक सञ्चारकर्मीको २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिनेछ।

कामको सिलसिलामा दुर्घटनामा परी घाइते भएमा १ लाख रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा २ लाख रुपैयाँ प्रदान गरिने जनाइएको छ।

बिमा कार्यक्रममा सहभागी हुन सम्बन्धित सञ्चारकर्मीले आफू कार्यरत सञ्चार संस्थाको परिचयपत्र, लाइसेन्स तथा सञ्चारगृहको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

यसअघि गत वर्ष कोशी एक्सिलेन्स अवार्डका अवसरमा सुनसरीका ३१४ जना सञ्चारकर्मीलाई १ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको थियो।

यस वर्ष बिमा रकम दोब्बर बनाइएको फाउन्डेसनले जनाएको छ।

आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने कोशी एक्सिलेन्स अवार्ड समारोहमा बिमा सम्झौता औपचारिक रूपमा घोषणा गरिने जनाइएको छ।