काठमाडौं- गत वर्षको असोज महिनामा रविन सहनीलाई बेस्सरी ज्वरो आयो। रौतहटको गढीमाई नगरपालिका वडा नं ८ घर भएका उनलाई लामो समय ज्वरो नरोकिएपछि आमा सिलादेवीले भारतको सीतामढी लिएर गइन्। सीतामढीमा के भएको हो भन्ने पत्तो नलागेपछि उनीहरु बैरगनिया पुगे।
छोराको अवस्था दिन प्रतिदिन बिग्रिदै गएको थियो। भएजतिको पैसा पनि खर्च भईसकेको थियो तर अझै के भएको हो भन्ने पत्ता लागेको थिएन।
बैरगनियाबाट बिरामी छोरा च्यापेर उनी फेरि नेपाल नै फर्किइन्। १३ वर्षको छोरो शरीर दुख्यो भनिरहेको थियो। निरन्तर ज्वरो पनि आइरहेको थियो। घर फर्किएर पनि चुप लागेर बस्न सकिनन् उनी। त्यसपछि रौतहटकै गरुढा स्थित हेल्थ केयरमा चेकजाँच गराइन्। त्यहाँ पनि केही पत्ता लाग्न सकेन।
छोराको अवस्था देखेर सिलादेवीले मन थामेर बस्न सकिनन् र फेरि भारतको पटना पुगिन्। नेपाल र भारतका विभिन्न अस्पताल चाहार्दा चहार्दै उनी आफैँ बिरामी जस्तो भईसकेकी थिईन्।
तर छोराको पिडा देखेर उनलाई त्यो दौडाइ पनि सामान्य लाग्न थालीसकेको थियो। पटनाको अस्पतालले उनीहरूलाई वीरगन्जको नारायणी अस्पताल रेफर गरिदियो।
एम्बुलेन्सलाई २५ हजार रुपैंया भारु तिरेर वीरगन्ज आईपुगे उनीहरु। केही पत्ता लागिहाल्छ की भन्ने आशा थियो उनलाई। तर नारायणी अस्पतालमा पनि केही पत्ता लागेन।
सास रहुन्जेल आश रहन्छ भन्छन्, त्यही आशामा सिला फेरि छोरा लिएर रौतहटकै ग्रान्डी अस्पताल पनि पुगिन्। तर उनले निरासा बाहेक केही हात पार्न सकिनन्।
लगभग ७/८ महिनाको अन्तरालमा न त छोरालाई ज्वरो कम भयो न त रोग नै पत्तो लाग्यो।
त्यसपछि सिला गाउँकै नेता डा बंशीधर मिश्राकोमा पुगिन्। मिश्राले उनलाई काठमाडौँको कान्ति बाल अस्पताल जान सुझाए।
काठमाडौँ त जाने तर उनीहरुसँग पैसा थिएन्। सामान्य खेतीकिसानी र मेलापात गरेर जीवन निर्वाह गरिरहेको सहनी परिवारले भारत र नेपालमा गरेर लाखौं खर्च गरीसकेको थियो।
बाँकी थियो एउटा पाँच धुर जमिन।
छोराको रोग पत्ता लाग्छ भने जे पनि गर्न तयार थिए उनीहरु। अन्ततः उनीहरुले त्यही पाँच धुर जमिन महाजनकोमा धितोमा राखेर पाँच लाख रुपैयाँ ऋण लिए।
काठमाडौँ आउनु भन्दा अगाडि गाउँमै अलिअली चन्दा पनि उठाए। त्यहाँका नेता हरि यादवले पनि सात हजार रुपैयाँ सहयोग गरे उनीहरुलाई।
काठमाडौँ आएर कान्ति बाल अस्पतालमा जाँच गर्दा रविनलाई लिम्फोमा भएको पत्ता लाग्यो।
उनीहरु काठमाडौँ आएको चार महिना पुगिसक्यो। चार महिनामा तिन लाख रुपैयाँ सकिसक्यो उनीहरुको।
रविन अहिले धेरै फुर्तिलो भएका छन्। उनको तेस्रो चरणको किमोथेरापी भर्खरै सकियो।
पाँच कक्षा पढ्दापढ्दै बिरामी परेका रविनलाई छिटो निको भएर स्कुल जाने रहर छ।
पैसाको अभाव छ, धितो राखेको जग्गा जाने पक्का छ तर पनि सिला छोरा निको हुँदै गरेको देखेर खुसी छिन्।
महाराजगञ्जको आश्रममा बसिरहेका रविन र सिलालाई काठमाडौँ नौलो लाग्छ। स्थानीय भाषामा बोल्ने उनीहरुको कुरा न कसैले राम्रोसँग बुझ्छ न त उनीहरुले यहाँको भाषा बुझ्छन्।
‘औषधि किन्न, खानेकुरा खान जाँदा, डाक्टरहरसँग बोल्दा पनि अप्ठ्यारो हुन्छ। तर पनि गरिरहेको छु,’ सिलाले भनिन्।
गत हप्ता कान्ति बाल अस्पतालमा उपचार गरेर क्यान्सर निको भएका बालबालिकाको भेला थियो। त्यही भेलामा भेटिएका थिए सिला र रविन पनि।
क्यान्सर निको भएका अन्य बालबालिकाहरू देखेर सिलाले आफूपनि केही बोल्छु भन्दै हात उठाइन्। ‘क्यान्सर भन्ने शब्द नै डरलाग्दो लाग्थ्यो। कति अस्पताल चाहार्दा चाहार्दा कान्ती आएपछि आफ्नै छोरालाई क्यान्सर भएको थाहा भयो। अहिले उपचार भईरहेको छ। सबै डाक्टरहरुलाई धन्यवाद। छोरो निको हुन्छ भन्ने आशा गरेको छु,’ उनले आफ्नै भाषामा यती भनेर आँखा भरि आँशु बनाएकी थिईन्।
उनका श्रीमान विन्देश्वर सहनी रौतहटमै छन्। मेलापात जान्छन्, खेतीपाती गर्छन्।
सिला छोरोको उपचार्थ गाउँपालिकाले बनाईदिएको कागज बोकेर घरि नक्साल पुग्छिन् घरि माछापोखरी।
कसैले सहयोगमा दिएको पाँच दश रुपैयाँमा पनि छोराको जीवन देख्छिन् उनी। छोराको खुट्टा मिच्दै उनी भन्छिन्, ‘सब कुछ ठिक होजाएगा।’