वीरेन्द्र चोकमा राजा वीरेन्द्रकै शालिक हुनुपर्ने हो । तर ६२/६३ मा तोडफोड गरियो । जसमा त्यतिबेलाका विभिन्न पार्टी र तिनका भातृ संगठनको सक्रियता थियो । त्यो राजतन्त्र हुँदाको कुरा हो ।त्यसपछि गणतन्त्र आयो । त्यतिबेलाका आन्दोलनकारी दलहरु नै अहिले सत्तामा छन् । आफैले तोडफोड गरेको शालिक स्थापना गर्ने आवश्यकता वा अनिवार्यताका कुनै बाध्यात्मक अवस्थामा दलहरु छैनन् । त्यसमाथि संघीयता कट्टर पक्षधरहरु राजतन्त्रको छायाँमा आफ्नो अँध्यारो देख्छन् ।
एउटा सत्य के हो भने, जति पनि राजा महाराजाको शालिक बने, त्यो आस्थाले भन्दा बढी उनीहरूको आफ्नै वा उनीहरूकै वंशको इच्छाको बलमा बने । आज एक चोटि प्रधानमन्त्री भाको नेताले त आफ्नो आफन्तको शालिक बनाएर उद्घाटन गर्ने इच्छा राख्छ भने यो नेपाल त शाह वंशकै विर्ता हो ।
त्यसैले उनीहरूले आफ्नो र आफन्तको शालिक बनाउनु नौलो कुरै हैन । तर अर्को सत्य के पनि हो भने अहिले व्यवस्था फेरिएपछि तत्काल नेपालको कुनैपनि ठाउँमा राजाहरूको शालिक स्थापना हुने सम्भावना देखिन्न र यसमा बल गर्नु पनि उपलब्धिमूलक हुन्न ।त्यसैले इतिहासको जगेर्ना गर्नुपर्छ, राणा शासकहरुकै किन नहोस्, जतिसुकै दानवको किन नहोस्, सालिकहरू जोगाएर राख्नुपर्छ, तिनीहरूले वास्तविक इतिहास बोल्ने हुन् भन्ने कुरा सही हो । तर त्यो समयमा हामीले जोगाउन नसकेको शालिक अब कसैले कुनै चोक वा गल्लीमा बनाएर स्थापित गर्न गाह्रो छ ।
त्यतिखेरै ढलेको शालिक जोगाएर राख्न सकेको भए पनि कहीं कतै भावी पुस्तालाई देखाउने गरी पार्क सम्ममा भने शायद स्थापित गर्न सकिन्थ्यो ।
  • इटहरीका पत्रकार हिमाल दाहालको फेसवुकबाट साभार