धरान\  किरात राई पत्रकार संघको १६ औँ स्थापना दिवसमा दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । 

संघको सुनसरी जिल्ला समितिले आइतबार धरानका दुई जना पत्रकारलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत पत्रकारद्वयमा हिमाली सञ्चार अनलाइनका सम्पादक सञ्जीव राई र नेपाल टेलिभिजन इटहरीमा कार्यरत प्रमीला बान्तवा राई छन् ।

विद्याकुमारी राई स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट सञ्जीव राईलाई नगद ४ हजार रुपैयाँ सहित फेटा र सम्मानपत्र प्रदान गरिएको छ ।

त्यसैगरी प्रमीला बान्तवा राईलाइ चन्द्रकला राई स्मृति पत्रकारिता पुरस्कारबाट नगद ५ हजार सहित सम्मान–पत्र रहेको छ ।

विगत २ वर्ष देखि वितरण भएको विद्याकुमारी राई पुरस्कार २ वर्ष अघि किरात राई यायोक्खा धरान १३ प्रारम्भिक कमिटीका सदस्य कुमार राईले स्थापना गरेका हुन ।

चन्द्रकला राई स्मृति पुरस्कार यायोक्खा धरान–१३ प्रारम्भिक कमिटीका अध्यक्ष श्रीपाल राईले स्थापना गरेका हुन् ।

पुरस्कृत पत्रकारद्वयलाई प्रमुख अतिथि किरात राई पत्रकार संघका केन्द्रीय उपाध्यक्ष विशाल राई, पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, फोनिज सुनसरीका उपाध्यक्ष सुनिल चौधरीले प्रदान गरेका हुन ।

प्रमुख अतिथि राईले पहिचानलाई आत्मासात गर्दै सृजनशील पत्रकारिताको धर्म निर्वाह गर्दै प्रदेश १ को पहिचानका लागि पत्रकारहरूलाई आग्रह गरे ।

उनले धरान किरात राई पत्रकारहरूको उर्वर भूमि भएका बताउँदै पत्रकारहरूबाट पहिचानको लागि योगदान पुग्ने विश्वास व्यक्त गरे । 

पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, किरात यायोक्खा सुनसरी कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, पुरस्कृत प्रमीला बान्तवा राई, पुरस्कार संस्थापक श्रीपाल राई, फोनिज सुनसरी उपाध्यक्ष सुनिल चौधरी लगायत बधाई ज्ञापन गरे ।

स्थापना दिवस कार्यक्रमको सभापतित्व अध्यक्ष वसन्त बान्तवा राईले गरेका थिए कार्यक्रमको सञ्चालन उपाध्यक्ष सञ्जु राईले गरेकी थिइन् ।