धरान । यस बर्षको तिहार छिटो भएकै कारण कृषकहरुले लाखौ रुपैया लगानी गरेर रापेको फूल विक्री नहुदा गाइवस्तुलाई खुवाएका छन् । तेह्रथुम लालीगुरास नगरपालिका मुसाङखेलका राजेन्द्र खड्काले कार्तिकको पहिलो सातामै तिहार परेकाले बारीमा व्यवसायिक खेतिको रुपमा लगाइएको फूल विक्री नहुदा गाई बाख्रालाई घाँसको रुपमा खुवाउन बाध्य भएको बताएका छन् । उनले भने–‘ तिहार ढिलो भएको समयमा फूल पनि लटरम्म फुलेका हुन्थे, बारीमा लगाएको फूल सबै विक्री हुन्थ्यो तर यस बर्षको तिहार छिटो हुदा बारीमा फूल ढिला गरी फुल्यो, बेमौसममा फुलेको फूल विक्री गर्न कठिन हुन्छ,  विक्री नभएकै कारण गाई वस्तुलाई खुवाएका छौं ।’


विगतमा फूल घर आँगनको शोभा बढाउने हिसाबले मात्र सर्वसाधारणले फूल रोप्ने गरे पनि पछिल्लो समय चाडपर्वलाई लक्षित गरेर व्यवसायिक फूल रोप्ने गरेका छन् ।


विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलखेती गर्नेहरु बढेका हुन् । तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले एक लाख लगानी गरेर फूल खेति गरे । तिहारलाई लक्षित गरेर रोपेको फूल तिहार अगाडि नै परेका कारण फूल ढिला गरी फुल्यो । तर अहिले विक्री नै नभएपछि गाइवस्तुलाई खुवाउन थालेका छन् । उनी भन्छन्– ‘मैले एक लाख लागतमा फूल खेती गरे । तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरु फूल व्यावसायिक पनि नभएकाले उनले फूल खेती सुरु गरे । तर लगानी पनि उठेन ।’ विगतका बर्षहरुमा फूलबाट मनग्गे आम्दानी गरेका उनले लगानीसँगै मेहनत समेत खेर गएको  सुनाए । उनले भने–‘थोरै लगानीबाट मनग्य आम्दानी लिने सोच लिएको थिएँ तर सबै खरानी भयो ।’


यतिबेला उनको बारिमा फूल फुलेर ढकमक भएको छ । यस वर्षको तिहार गत वर्षको तुलनामा केही समयअघि भएकाले रोप्ने समयमा ख्याल नगरी रोप्दा नोक्सान बेहोर्नुपरेको महेन्द्रकी श्रीमती अम्बिका तामाङले बताइन् । उनी भन्छिन– ‘अरु नै खेती गर्दै आएका थियौ । फूल खेतीबाट राम्रो आम्दानी लिनको लागि धरानबाट पाँच सय बिरुवा ल्याई तीन रोपनी क्षेत्रफल जग्गामा लगाइएको फूल अहिले खेर गइरहेको छ । अरु नै खेती लगाको भए अलि अलि भए नि आम्दानी हुन्थ्यो । फूल लगाएर बेकार भयो । लगानी त्यसै खेर गयो ।’


यस्तै भनाई लाली गुरास नगरपालिका नेवाङका बेगबहादुर थापाको समेत रहेको छ । उनले पनि चार रोपनी जग्गामा सयपत्री, मखवली लगायतका फूल लगाएका थिए । गत बर्ष यही फुलबाट मनग्गे आम्दानी गरेका उनले यस बर्ष पनि त्यही सोचेर २ लाख खर्च गरेर फूलको खेति गरेका थिए । तर तिहार घर घरमा प्रवेश गरिसक्दा बारीमा फूलको चिचिला मात्र लागेको थियो । उनी भन्छन्–‘त्यसबेला फूल खोज्न धेर्रै आए बारीमा फूल नै थिएन, त्यसै फर्किए, अहिले बारीभरि फूल छ कोही किन्न आउँदैन ।’ उनले पनि विक्री नभएपछि गाइवस्तुलाई घाँसको रुपमा खुवाउन थालेको बताउँछन् । उनी भन्छन्–‘गत बर्ष यही फूलले दुई लाख आम्दानी गरेको थियो, यस बर्ष भने यही फूलले लडायो ।’