इलाम /    इलामको माङसेबुङ गाउँपालिकाले बुधबार प्रतिभा पहिचान कार्यक्रम गरी गत वर्ष एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ । आफ्नो पालिकाबाट जिल्ला प्रथम र पालिका प्रथम भएका विद्यार्थीलाई पुरस्कृत गरेको हो । 

माङसेबुङ गाउँपालिका छ स्थित इलाम नगर प्रतिभा एकेडेमी स्कुलबाट एसइईमा जिल्लामा उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन् । त्यसैगरि चिसापानी मावि र महेन्द्रोदय माविका एक एक जना विद्यार्थी पुरस्कृत भएका हुन् ।

कार्यक्रममा चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता र वक्तृत्वकला प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए । पुरस्कृत भएका विद्यालय महेन्द्रोदय माविका प्रधानाध्यापक टेकध्वज योङहाङले विद्यालयबाट ३ दशमलव १० जिपिए ल्याएको विद्यार्थीलाई पाँच हजार र प्रशंसा पत्रले सम्मान गरेको बताए । 

पुरस्कारको राशिलाई हेर्दा माङसेबुङ गाउँपालिकाले सरकारी विद्यालय भन्दा पनि निजी विद्यालयलाई प्रोत्साहित गरेको पाइएको छ । निजी विद्यालयमा अध्ययन गरेका माङसेबुङका विद्यार्थी जिल्लामा उत्कृष्ट भएको भन्दै ५० हजार रुपैयाँले पुरस्कृत गरेको हो भने सरकारी विद्यालयबाट गाउँपालिका उत्कृष्ट दुई जना विद्यार्थीलाई पाँच/पाँच हजार रुपैयाँ सहित विद्यालयलाई सम्मान गरेको हो । माङसेबुङ गाउँपालिकाबाट जिल्लामै उत्कृष्ट भई पालिकाको नाम राखेको भन्दै कार्यपालिकाको निर्णयबाटै ५० हजार राशीको पुरस्कार दिने निर्णय भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले बताए । 

उनले माङसेबुङ गाउँपालिकामा उत्कृष्ट विद्यार्थीलाई हौसला स्वरूप पाँच/पाँच हजार रुपैयाँ र विद्यालयलाई सम्मान गरिएको बताए । माङसेबुङका शिक्षा अधिकृत खतिवडाले एसइईमा जिल्ला उत्कृष्ट विद्यार्थीलाई पुरस्कृतका लागि कार्यपालिकाले सुरुमा नै निर्णय गरे अनुसार वितरण गरिएको र पालिकामा सँस्कार बसाउनका लागि अन्य विद्यार्थीलाई पनि पुरस्कृत गरिएको बताए ।

यता गाउँपालिका अध्यक्षले कार्यपालिकाले एक जनाको लागि मात्रै निर्णय गराएको र अन्य दुई विद्यार्थीलाइ आफूले नै सहयोग गरेको बताए । 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नुपर्नेमा स्थानीय तहले समेत निजी विद्यालयलाई नै प्रोत्साहन गर्न थालेका छन् ।  माध्यमिक तहको शिक्षालाई निःशुल्क बनाई शिक्षामा सबै वर्ग र समुदायको समान पहुँच स्थापना गर्न सरकारको नीति रहेको छ ।

स्थानीय सरकारले सामुदायिक विद्यालयलाई प्रोत्साहित गर्ने र नियमित अनुगमन गर्ने हो भने निजी विद्यालय भन्दा सामुदायिक विद्यालय उत्कृष्ट बनाउन सकिन्छ । राज्यको कोषबाट अनुदान पाएका सार्वजनिक विद्यालयको शैक्षिक स्तर उकास्नका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ । तर स्थानीय सरकारलेनै सामुदायिक भन्दा निजी विद्यालयलाई प्रोत्साहन गर्ने गरेका छन ।  

हरेक वर्ष बजेटमा शिक्षासम्बन्धी थुप्रै नीति तथा कार्यक्रम समावेश गरिन्छ तर धेरै कार्यक्रमहरू लागू नै गरिँदैन । बजेटमा शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्ने उद्देश्य राखिएको भए पनि यस तर्फ कसैको ध्यान जान सकेको छैन ।