धनकुटा / स्थानीय सरकारले पछिल्लो समय सर्वसाधारणको लागि सरकारको प्रत्याभूति दिन थालेका छन् । स्थानीय स्तरमै आफ्ना नागरिकको सुविधाका लागि विभिन्न प्याकेजहरु ल्याउन थालेका छन् ।

पछिल्लो समय धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्ना पालिकामा रहेका दलितहरुका लागि निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । गाउँपालिकाले दलित लक्षित कार्यक्रम अन्तर्गत यो कार्यक्रम ल्याएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

उनले भने–‘हामीले हाम्रो पालिकामा रहेका दलित समुदायलाई लक्षित गरी निःशुल्क स्वास्थ्य विमा गरिदिएका छौँ, यसले उनीहरुलाई थोरै भएपनि राहत मिल्ने कुरामा हामी विस्वस्त छौँ ।’

स्वास्थ्य विमामा ५ जना परिवारका लागि ३ हजार ५ सय रुपैयाँ लिने गरेको छ । परिवारमा ६ जना रहे एकजनाको ७ रुपैयाँ थप्नुपर्ने प्रावधान रहेको छ । पालिकाले यी सबै रकम निःशुल्क गरेर विमा गरिदिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशकुमार यादवले बताए । उनले भने–‘साँगुरीगढी गाउँपालिकामा १० वडा रहेका छन्, अहिले हामीले ८ नं वडाबाहेक अन्य सबै वडाको स्वास्थ्य विमा गरिदिएका हौं ।’

उनका अनुसार ९ वडाम रहेका २ हजार १ सय जना दलितको हालसमम निःशुल्क विमा गरिएको बताए । उनले भने–‘विमा गराउनेको संख्या अझै छ, तर हाल अहिले हामीले २१ सय जनाको विमा गराइदिएका छौँ, पालिकामा रहेका सबै दलित परिवारको हामी निःशुल्क स्वास्थ्य विमा गरिदिन्छौं ।’ 

गाउँपालिकाका अध्यक्ष रुम्दालीले गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेर साउनदेखि लागू हुने गरी निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई अगाडि बढाएको बताए । उनले भने–‘ उत्पीडित र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति दिन यो सुविधा दिइएको हौ । यसका अलवा हामीले पालिकामा कायरत ५२ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुको पनि निःशुल्क स्वास्थ्य विमा गरिदिएका छौंै ।’