विराटनगर/ हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारको क्षतिपूर्तिमा ढिलाई नगर्न कोशीका प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले निर्देशन दिएका छन् ।

प्रदेशसभाको मङ्गलबार बसेको बैठकको शून्य समयमा सांसदहरुले हात्ती आक्रमणको बिषयमा सरकारको जवाफदेहिता माग गरेपछि मन्त्री उप्रेती बुधबार बिहानै मृत्तक परिवारको घर पुगेका थिए । उनले ५ दिनभित्र क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिए ।

‘कानुनमा ३० दिनभित्र भनिएपनि मुचुल्का उठाउने काम २ दिनको हो । बाँकी प्रक्रियामा जाँदा ५ दिनभित्र काम सकिन्छ । ३० दिन कुर्नैपर्ने आवश्यकता छैन,’ उनले भने, ‘जनतालाई सरकारको अनुभुति दिलाउने दायित्व हाम्रै हो । त्यसैले ढिलासुस्ती नगरौं । हामीले के गर्नुपर्छ ? गर्छौं ।’

परिवारसँग भेट्ने क्रममा मन्त्री उप्रेतीले उनीहरुलाई किरिया खर्च बापत ५० हजार रुपैयाँ रकम समेत उपलब्ध गराए ।

उनले प्रदेश सरकारबाट सिर्जना हुने रोजगारीमा पीडित परिवारका सदस्यलाई प्राथमिकतामा राखिने प्रतिबद्धता पनि व्यक्त गरे ।

हात्ती तथा अन्य जीवजन्तुको आक्रमणबाट हुने जनधनको क्षति न्यूनीकरणका निम्त्ति प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि वन्यजन्तुमैत्री जङ्गल बनाउने कार्यक्रमलाई समेटेको उनले जानकारी दिए ।

मोरङको बेलबारी–१० स्थित भाउन्नेमा जङ्गली हात्तीको आक्रमणमा परी सोमबार बिहान लेटाङ–३ किर्तिमानका ५३ वर्षीय कमल माझीले ज्यान गुमाएका थिए । लेटाङबाट साईकल चढेर बेलबारीको लक्ष्मीमार्गतर्फ आउँदै गरेको अवस्थामा माझीलाई हात्तीले आक्रमण गरेको थियो । 

हात्तीको आक्रमणमा परी ज्यान गुमाएका माझीको परिवारमा उनकी श्रीमतीसहित २ छोरा, बुहारी र २ जना नातिनी छन् । घरका ठुला छोरा वैदेशिक रोजगारीको सिलशिलामा मलेसियामा छन् । घटना भएको अढाई महिनाअघि मात्रै मृत्तकको बुवाको पनि निधन भएको थियो ।

हात्तीको आक्रमणमा परी घरको अर्को अभिभावकको पनि असामयिक निधन भएपछि अहिले समग्र किर्तिमान गाउँ नै शोक शन्तप्त बनेको छ ।

घटनापछि परिवारसहित समग्र किर्तिमान गाउँ नै त्रसित बनेको उनले बताए । ‘हामीलाई त रात गुजारा गर्नै गाह्रो छ । कताबाट आएर आक्रमण गर्छ भन्ने त्रासमा बसिरहेका छौं,’ उनले भने, ‘कतिपय अभिभावकले त बालबालिकालाई स्कुल पठाउन समेत बन्द गरेका छन् ।’

हात्तीको आक्रमणमा परी यसअघि पनि सुनसरीको इटहरी, झापाको हल्दिबारी र बेलडाँगीमा १/ १ जनाले ज्यान गुमाएका थिए । कोशी प्रदेशमा पछिल्लो २ सातायता हात्तीको आक्रमणमा परी ४ जनाको मृत्यु भईसकेको छ । 

कार्यालयका अनुसार यसको रोकथाम तथा नियन्त्रणका सामुदायिक तथा साझेदारी वन समुहसँगको सहकार्यमा जनचेतना फैलाउने काम भईरहेको छ ।

यसका अतिरिक्त आहारको खोजीमा हात्तीलाई गाउँ पस्न नदिन वनक्षेत्रमै जङ्गली फलफुुलको बोटविरुवा लगाउने कार्यलाई पनि कार्यालयले अभियानकै रुपमा अघि बढाएको छ । 

डिभिजन वन कार्यालयका अनुसार हाल ३७ वटा हात्तीहरु झापाको बाहुनडाँगीबाट मोरङ हुँदै सुनसरीसम्म पुगेका छन् । हात्ती देख्दा जिस्क्याउने, ढुङ्गा हान्ने र फोटो तथा सेल्फी खिच्ने लगायतका कारणले पनि आक्रामण हँुदा यी यस्ता घटना हुने गरेको जनाईएको छ ।

कोशी प्रदेशको सुनसरी, मोरङ, झापा, इलाम र उदयपुर गरी कुल ५ जिल्लामा हात्तीको आतङ्क कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रदेशमा गत साउन महिना कुल ४२ वटा हात्ती आक्रमणका घटनाहरु भएका छन् । जसमा परी हालसम्म ४ जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाईते भएका छन् ।