धरान/ सवारी दुर्घटना पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको छ । सवारी दुर्घटनाको प्रमुख कारणहरुमा चालकको लापरबाही, सवारी चाप अत्याधिक भएको अवस्थामा साँघुरो सडक लगायत सडकमा छाडा छोडेका पशु चौपाय नै हुन् ।

पछिल्लो समय पशु चौपायमा पनि सामुदायिक कुकुर दुर्घटनाको जोखिमको अर्को कारण बन्न पुगेको छ । कुकुरबाट हुने सडक दुर्घटना न्यूनिकरणका लागि धरानका युवाहरु लागि परेका छन् ।

सडक दुर्घटना न्यूनिकरणमा ट्राफिक प्रहरी एक्लैले सम्भव छैन । यसमा सबैले साथ दिनुपर्ने हुन्छ । यस्ता केही संघ संस्था छन् जो दुर्घटनाको जोखिमलाई न्यूनिकरणका लागि लागि परेका हुन् ।

यसको प्रत्यक्ष उदाहरण बनेको छ धरानका युवाहरुको संस्था..धरान मानव कल्याण समाज सेवा । यो संस्थामा १५ जना सदस्य छन् .। दिनभरिको आफ्नो काम सकेपछि उनीहरु साँझ पर्ने वित्तिकै सामुदायिक कुकुरको खोजीमा हुन्छन् । 

कसैले कुकुरलाई खुवाउनका लागि विस्कुट बोक्छन् भने कोहीले कुकुरको घाटीमा बन्न टल्किने नियोन बेल्ट बोक्छन् ।

बाटोमा हिडेका सामुदायीक कुकुरलाई समातेर बेल्ट लाउन जोखिम भए पनि उनीहरुले यसको कुनै प्रवाह गर्दैनन ।

जोखिम मोलेर भए पनि बेल्ट बाध्ने काम गर्छन । यो वेल्ट रातिको समयमा टल्किने भएकोले कुकुर सडकमा हिड्दा कुकुर पनि दुर्घटनाबाट जोगिने र मानिस पनि दुर्घटनाको जोखिमबाट बच्ने भएकोले यो अभियान चलाएका धरान मानव कल्याण सेवा समाजका अध्यक्ष अरमान अली बताउँछन् ।

अहिले धरानको दुर्घटना जोखिम भएका स्थानमा रहेका सामुदायीक कुकुरलाई खोजी खोजी नियोन बेल्ट बाध्ने गर्छन् ।

अहिलेसम्म १ सय भन्दा बढी कुकुरलाई बेल्ट बाधिसकिएको अध्यक्ष अली बताउँछन् । विगतमा संस्थाकै पदाधिकारीबाट रकम जुटाएर आफै बेल्ट खरिद गरेर लगाइदिने भए पनि युवाहरुको कार्यलाई देखेर सहयोग समेत आउन थालेको उनीहरु बताउँछन् ।

कुकुर पनि दुर्घटनाबाट बचोस् र सवारी साधन चलाउने सवारी चालक पनि पशुबाट हुने दुर्घटनाबाट बचोस् भन्न नै मुल अभिप्राय उनीहरुको छ ।

उनीहरुले धरान ८ बगरगाछीदेखि शुरु गरेको अभियान धरान १७ रत्नचौक, रेल्वे, बुद्धचौक, नारायण चौक, धरान १४ विजयपुर लगायतका स्थानमा रहेका सामुदायीक कुकुरलाई नियोन बेल्ट बाँधी सकिएको सल्लाहकार ठाकुर कार्की बताउँछन् ।

सवारी चापसँगै जथाभावि रहेका सामुदायीक कुकुरका दुर्घटनाको जोखिम बढिरहेको बेला युवाहरुले जोखिम मोलेरै भएपनि चौकचौक गल्लीगल्लीमा पुगेर प्रत्येक दिन सामुदायीक कुकुरहरुलाई नियोन बेल्ट लगाइदिने गरेका छन् ।

कुकुरको घाँटीमा लगाइने उक्त बेल्ट टल्कने गर्छ जसका कारण सवारी चालकलाई कुकुर भएको थाहा हुने गरेको छ ।

यसले गर्दा दुर्घटनाको जोखिम समेत न्यूनिकरण हुने गर्छ । युवाहरुको कामलाई धरानका सर्वसाधारणले समेत सह्रानीय काम भन्दै सहयोग समेत गर्न थालेका छन् ।