फिदिम/ पॉचथरका किसान यतिबेला चैते (बर्खे) धान रोप्न व्यस्त छन् । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् ।
फागुन अन्तिम साता सुरु भएको रोपाइँ चैत महिनाको अन्त्यसम्म जारी रहन्छ ।
कोही खेत जोत्न, कोही हिलोआली गर्न, दाँते र फ्याउरी लगाएर हिलो माटो मिलाउन त कोही बिउ काढ्न व्यस्त छन् ।
चैते धान रोप्न सरकारी सहयोग नपाँउदा परम्परागत खेती प्रणाली र आफ्नै अनुभवमै निर्भर हुनु परेको गुनासो कृषकको छ ।
यतिबेला रोपेको धानमा लाग्ने रोग र फड्के किराले झन्झट दिने भएकाले बर्सेनि उत्पादनमा ह्रास आउन थालेको किसानहरू बताउँछन् ।
“अघिल्लो वर्ष असारमा आएको बाढीले पाक्न लागेको धान बगायो, हेवा र फेमे खोला आसपासका खोलाबाट बिजुली उत्पादन गर्ने हाइड्रोपावर सञ्चालनमा आएपछि कुलो ल्याउने मुहान सुके,
पहिले चैत पहिलो साता रोपिसक्ने धान आधा महिना बितिसक्दासम्म मध्य भएको छैन, पानीको अभाव त छदै छ रोपिसकेपछि लाग्ने रोग किराको उपचारमा प्राविधिक सहयोग छैन,
” फिदिम–४ का किसान रामकुमार श्रेष्ठले गुनासो राखे ।
“रोपेको धानमा रोग लाग्छ, रोगको औषधी, मल त परै जाओस् प्राविधिक सल्लाहसम्म पाइन्न, सरकारले किसानलाई सेवा दिन नियुक्ति गरेका कर्मचारी कहाँ छन् देख्नसम्म पाइन्न,” अर्का किसान लोकबहादुर बुढाक्षेत्रीले भने ।
फागुनमा ब्याड राखेर चैतमा रोपिने भएकाले यो धानलाई ‘चैते’ भनिएको हो ।
यसलाई बर्से अर्थात् बर्खे पनि भनिन्छ । असारमा पाक्ने भएकाले वर्षायाम र त्यसपछि आउने चाडपर्वको भरथेग यही धानले गर्ने गरेको किसानहरू बताउँछन् ।
चैते धान तराई, पहाडी र उच्च पहाडी मात्रै नभएर हिमाली जिल्ला ताप्लेजुङ र सोलुखुम्बुमा पनि उत्पादन हुने गरेको छ ।
यो धान कोशी प्रदेशमा पर्ने पहाडी र उच्च पहाडीसँगै हिमाली जिल्लामा १२ हजार ३ सय २७ हेक्टरमा खेती गरिन्छ ।
यसको उत्पादन ५० हजार ५ सय १ मेट्रिक टन रहेको छ । जसमध्ये हिमाली जिल्ला ताप्लेजुङमा २ सय ७ र सोलुखुम्बुमा ७७ हेक्टर जमिनमा चैते धान रोपिने गरेको बाली विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
बजेट अभावमा किसानसम्म चैते धानसँग सम्बन्धित कार्यक्रम पु¥याउन नसकेको कृषि ज्ञान केन्द्र पॉचथरका कृषि प्रसार केशर मग्राती बताउँछन् ।