अशोक राईलाई ‘टुरिस्ट’ उम्मेदवार भनेर सुनसरीमा हेलाहोंचा गर्ने गरिएको छ । उनको  आलोचनाको सबैभन्दा बलियो पक्ष नै यही हो । यद्यपि यस अघिको संघीय निर्वाचनमा २२ हजार बढी मत पाएका उनलाई जनताले अनुमोदन गरिसकेका छन् । 

राईलाई ‘टुरिस्ट उम्मेदवार’ भनिनुको कारण उनी खोटाङबाट सुनसरी क्षेत्र नं. १ मा निर्वाचन लड्न आएका हुन् । उनी सुनसरी आउनु उनको सम्भावित ‘कम्फर्ट जोन’ भएर पनि हुन सक्छ । तर एमाले छाडेपछि जनता समाजवादी पार्टी (जसपा) मा उनले अनुमान गरेजति उनीपछि नेता कार्यकर्ता लागेनन् । नेकपा एमाले र सूर्य चिह्नको मायामा परेका नेता कार्यकर्ता पार्टी त्याग्न सकिरहेका थिएनन् । 

तर सुनसरीसहित तत्कालीन कोशी अ ञ्चल कमिटीका इञ्चार्ज भएर उनले गरेको योगदानलाई  बिर्सिएको छ । पुराना नेता कार्यकर्ताले यो हेक्का राख्लान् तर ०४६ पछि जन्मे हुर्केका मतदातालाई यो अनिवार्य छैन । 

०४८ सालको आम निर्वाचनमा अशोक राई सुनसरी १ बाट उम्मेदवारका बलिया आकांक्षी थिए । तर तत्कालीन पार्टी महासचिव मनमोहन अधिकारीले सुनसरी १ रोजेपछि अशोक राई साइड लागेका थिए । 

नेकपा एमाले सुनसरी क्षेत्र नं. १ भित्र हालको उम्मेदवार छनोट र राजनीति परिदृश्य मिल्दो देखिन्छ । 

सुनसरी १ मा मनमोहन अधिकारीलाई टिकट दिइने निर्णय भएपछि तीव्र असन्तुष्टि व्यक्त भएको थियो । जसरी आज अशोक राईले एमाले जसपा गठबन्धन हुँदा टिकट पाएपछिको एमाले जनमा असन्तुष्टि पैदा भइरहेको छ । 

अशोक राईलाई जुनसुकै हालतमा टिकट दिइनु पर्छ भनेर हाल एमालेका बागी उम्मेदवार मनोजकुमार मेन्याङ्बोको नेतृत्वमा व्यापक असन्तुष्टि पोखिएको थियो । लालकिल्ला र आधार इलाका बनाउने अशोक राई र त्यही आधार इलाकाबाट आयातित (टुरिस्ट) उम्मेदवार मनमोहन अधिकारीलाई  जिताइदिनु पर्ने ? प्रश्न  एमाले जनमा थियो । व्यापक असन्तुष्टिका वावजुद पनि मनमोहन अधिकारीले टिकट लिएर विजयी हाँसिल गरेका थिए ।

आज सोही परिदृश्य एमाले जनमा देखिएको छ । यस अघि प्रतिनिधि सभामा विजयी एमाले उम्मेदवार जयकुमार राईले निर्माण गरेको जनमतमा कसरी अशोक राईलाई उठाउने ? यो प्रश्नकर्ताको  सबैभन्दा दह्रो खम्बा भएर उनै मनोजकुमार मेन्याङ्बो उभिएका छन् । तीन दशकपछि उनको  यो बागी छवि झनै सशक्त भएर देखा परेको छ । 

जयकुमार राई बागी बन्ने दाउबाट पछि हटेपछि यो आँट मनोजकुमार मेन्याङ्बो र टिमले गरेको छ । तर फरक परिदृश्यमा, उहिले अशोक कुमार राईको पक्षमा दृढतापूर्वक उठेको आवाज आज उनै अशोक कुमार राईका विरुद्ध टड्कारो रुपमा उभिएको छ ।

तीन दशकपछिको यो आवाज थप सशक्त बनेको छ । एकातिर स्वतन्त्र उम्मेदवारले भोट काट्ने, अर्कोतर्फ नेपाली कांग्रेस, माओवादीलगायतको  गठबन्धन र फेरि मनोज मेन्याङ्बो जस्ता बागी उम्मेदवारको चुनौती । अशोक राईलाई पटक्कै सजिलो छैन, जित हाँसिल गर्न ।

तर, अशोक राईविरुद्ध मात्र एउटै लाञ्छना छ, त्यो हो ‘टुरिस्ट उम्मेदवार’ । अशोक राई नेकपा एमालेलाई आफ्नो विरासत ठान्ने सुनसरीका धेरै नेता कार्यकर्ताका राजनीतिक गुरु हुन् । आज पार्टी फरक भएको छ, तर मुद्दा एउटै छ । तालमेल छ । गठजोड छ । अशोक राई सुनसरीलाई लालकिल्ला बनाउने नेता हुन् भनेर नयाँ पुस्तालाई चिनाउन सकेका छैेनन्, एमाले र जसपा दुबैले । अशोक राई आफ्नो  निर्वाचन क्षेत्रका विषयमा अनविज्ञ छैनन् । साविक वराहक्षेत्र, भरौल, वक्लौरीमा आज उनैका राजनीतिक चेलाहरु नेतृत्वमा छन् । भूमिगत र खुल्ला राजनीतिमा यो  क्षेत्रमा उनले पाइला पाइला नापेर हिंडेका छन् । यो बुझाउने कसले ? आज एमाले र जसपालाई  त्यौ मौका मिलेको छ । 

शनिबार  धरानका निर्माण मजदुरहरुको संगठन क्युपेकले गरेको उम्मेदवारसँगको साक्षात्कारमा सुनसरी क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार अशोक राईले आफ्नो उम्मेदवारी र राजनीतिक तालमेलका बारेमा खुलेर बोले । 

उनले आफू नेकपा एमालेको समृद्ध नेपाल, सुखी नेपालीको नाराबाट प्रभावित भएको कुरा राखे । विगतमा एमालेको  सरकार निर्माणमा योगदान गरेको कुरा राखे । यो तालमेल अचानक नभएर राजनीतिक अपरिहार्यताका आधारमा भएको सुनाए । उनले मजदुरको  क्षेत्रमा आफूले गरेको योगदानको स्मरण गर्दै कानुन कार्यान्वयको क्षेत्रमा थप दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।