धरान / धरान उपमहानगरपालिका–८ मा लागु औषध दुव्यसन नियन्त्रण तथा न्युनिकरणका लागि विद्यालय र समुदाय लक्षित कार्यक्रम सञ्चालन गर्न १० सदस्यीय संयन्त्र गठन गरिएको छ।

बिहीबार वडाध्यक्ष धनबहादुर राईको अध्यक्षतामा आयोजित वडाबासीहरुको भेलाबाट संयन्त्र गठन गरिएको हो। संयन्त्रको संयोजक वडा सचिव भूपाल निरौला रहेका छन् भने सदस्यमा जनप्रतिनिधि, प्रहरी, टोल विकास समिति, महिला समूह, नागरिक समाजका प्रतिनिधि र विद्यालयका विद्यार्थीहरू पनि समावेश छन्।

संयन्त्र सदस्यहरूमा:

  • वडा सदस्य: रबिन श्रेष्ठ
  • बरगाछी प्रहरी पोस्ट प्रमुख: हवलदार गोविन्द परियार
  • बमजन टोल अध्यक्ष: भागीरथ लिम्बू
  • लाङ्घाली टोल अध्यक्ष: महेन्द्र श्रेष्ठ
  • नागरिक समाज: गंगाप्रसाद लिम्बू र सुवास श्रेष्ठ
  • बरगाछी महिला समूह अध्यक्ष: उषा थापा क्षेत्री
  • ल्याबोरेटरी माविकी छात्रा: अनुसा महरा
  • शहीद स्मृति माविका छात्र: ईश्वर नेवार

संयन्त्रले विद्यालय र समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम, लागु औषध सेवन तथा कारोबारको निगरानी, तथा बेचबिखन नियन्त्रण अभियान सञ्चालन गर्नेछ।

कार्यक्रममा मजदुर नेता तथा एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राईले लागु औषध नियन्त्रण ऐन २०३३ का कानुनी प्रावधानबारे जानकारी गराउँदै १५ वर्षसम्मको कैद र २० लाख रुपैयाँसम्मको जरिवाना हुने व्यवस्थाबारे बताए।

धरान बरगाछी प्रहरी पोष्ट प्रमुख हवलदार परियारले कोशी प्रदेश प्रहरी कार्यालयको निर्देशनअनुसार प्रहरी–समुदाय साझेदारीमा लागु औषध नियन्त्रणका लागि संयन्त्र बनाउने कार्य सुरु गरिएको जानकारी दिए।

कार्यक्रममा धरान–८ का १५ वटै टोल विकास समिति संयोजक, शहीद स्मृति माविका प्रधानाध्यापक राम विष्ट, जनप्रतिनिधि सावित्रा परियार, महिला समूह, आमा समूह, नागरिक समाज, विभिन्न विद्यालयका प्रतिनिधिहरू र प्रहरी सहभागी थिए।

संयन्त्रको सक्रियताले वडामा फैलँदो लागु औषध दुव्यसन तथा त्यसका कारण बढ्दै गएको घरेलु हिंसा, झैँ–झगडा, चोरीजस्ता सामाजिक अपराध नियन्त्रणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।