केही दशक अघि सुनसरीमा एउटा नारा सुनिन्थ्यो, ‘जनताका नेता सीताराम मेहता’ । अचम्म लाग्दो कुरो बुझिन्थ्यो – ‘उनलाई जनताले पैसा उठाएर, चुनावमा भिडाउँदैछन् ।’ त्यस समयका लागि यो नेताको लोकप्रियताको आर्जनका रुपमा सम्झिइन्थ्यो । दशकौंपछि पनि सीताराम मेहता संसदीय लडाइँमा छन्, उनको त्यो लोकप्रियता आजको समयमा बर्करार छैन ।
गत स्थानीय निर्वाचनमा धरानका स्वतन्त्र उम्मेदवार पानीका लागि लडाइँ खेलेका हर्कराज राई उर्फ हर्क साम्पाङलाई देशविदेशबाट रकम आयो । उनले चुनाव जिते । (भलै साम्पाङले समयमा निर्वाचन खर्च विवरण नबुझाएकोमा जरिवाना तोकियो ।) हाल पनि उनले आर्जन गरेको जनविश्वास धर्मराएको छैन । श्रमदानका रुपमा उनलाई देशविदेशबाट रकम पठाइँदैछ नै ।
एमालेले प्रतिनिधि सभाको उम्मेदवारका रुपमा एकल निर्णय गरी पठाएका सुनसरी १ का जयकुमार राईलाई टिकट नदिएपछि धरान विकासका सूत्राधार मनोजकुमार मेन्याङ्बो बागी उठे । मेन्याङ्बोको उम्मेदवारी घोषणा सभामा ३ जनाले बोले । अढाइ लाख रुपैयाँ उठ्यो ।
हाम्रो मुलुक राम्रो गर्न खोज्नेलाई आर्थिक, नैतिक, भौतिक सबै हिसाबले सहयोग गर्छ । हाम्रो समाज निर्दयी छैन । तर, स्वार्थको घिटघिटोमा बाँचिरहन पनि छाड्दैन । स्वार्थी सहयोग र निस्वार्थ सहयोगको आदानप्रदान हुन्छ यहाँ ।
यसरी चन्दा उठाएर चुनाव लड्न परेपछि चन्दादातासँग उत्तरदायी पनि हुनुपर्छ होला नै ।
उहिलेका कुरा गरौं । गाउँमा सुँगुर पाठा बाँडेर, कम्बल बाँडेर, गाउँका केही नेतालाई ‘आरएक्स’ मोटर साइकल उपहार दिएर पनि केन्द्रीय नेताले चुनाव जित्दै आएका थिए । त्यसमा कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र गिरिजापुत्री सुजाताको नाम अगाडि आउँछ ।
चुनावमा आर्थिक विकृति, लेनदेन नयाँ होइन । तर नयाँ रोग र महामारी जसरी यसले समाजलाई गिजोलेको छ । दीगो विकास नभए पछि नेता, कार्यकर्ता र मतदाताले यसलाई अवसरका रुपमा लिएका छन् । यो अवसरलाई ‘क्यास’ गर्ने परिपाटी, युवा जत्था र प्रचार कम्पनीहरुमा पनि बढ्दो छ । मास देखाउन र मास मिडियाको प्रयोग गर्न र मास क्याम्पेइन गर्न पैसा चाहिन्छ । अहिले उम्मेदवारले यिनै विषयमा खर्च गरिरहेका छन् ।
संसदीय व्यवस्थाको सबैभन्दा विकृत रुपमा आर्थिक गतिविधि बढ्दो छ । नेताले कार्यकर्तालाई टिकट वितरण गर्दा समेत रकमको चलखेल गर्ने दृष्टान्त नयाँ होइन । प्रत्येक चुनावमा घरघडेरी सक्नेदेखि घर घडेरी जोड्ने नेता कार्यकर्ता छन् समाजमा । राजनीतिक भविष्य भएका युवाहरु अगाडि बढ्न चाहाँदैनन् । अनपढ, योजनाविहीनहरु पैसाको बलमा नेतृत्वमा आइरहेका छन् । यसले समाजलाई कतातिर लान्छ ? समकालीन राजनीतिको भाष्य कस्तो निर्माण हुँदैछ ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विचार, अधिकार र मुद्दा स्थापित गर्न धेरै उम्मेदवार उठिरहेका छन् । त्यससँगै आफ्नो राजनीतिक दलको दबदबा बचाइराख्न पनि उम्मेदवारी दिएका छन् ।
धरानमा पानीको मुद्दाले हर्क साम्पाङले नगरपालिकाको चुनाव जितेपछि त्यस्तै मुद्दा उठाएर स्वतन्त्र मान्छे आएका छन् । गज्जब लाग्दो कुरो त उनको नक्कल छ । साम्पाङले फेसबुकमा आफ्नो नाम राखेका छन् – हर्क साम्पाङ अ रिभोलुसन । त्यस्तै नाम राख्ने चलन पनि बढेछ । एक स्वतन्त्र उम्मेदवार समीर तामाङले आफ्नो नाम ‘समिर तामाङ ड्रास्टिक चेन्जेज’ राखेछन् । अर्का स्वतन्त्र उम्मेदवार तथा सुकुम्बासी नेता कुमार कार्कीले आफ्नो नाम ‘कुमार कार्की अ भोइस अफ एरा’ राखेछन् । यो भयो नामको नक्कल । कामको नक्कल पनि छ यहाँ कसैले भ्रष्टाचार नियन्त्रणलाई आफ्नो मूल मुद्दा बनाएका छन् । कसैले मँहगी नियन्त्रण त कोही मजदुरको अधिकार प्राप्तिका लागि उठेका छन् ।
एकजना स्वतन्त्र उम्मेदवार खगेन्द्र श्रेष्ठले आफू उम्मेदवार उठेकाले आर्थिक रकम सहयोग गर्न सामाजिक सञ्जालमा बैंक खाता नम्बर नै उपलब्ध गराइदिएका छन् ।
पार्टीका उम्मेदवारलाई सकस छ । संघमा उठ्न करोड तिर्नुपर्ला । प्रदेशमा त्यसको आधा । नेता कार्यकर्तालाई खाना, खाजा खर्च । अभियान चलाउनेलाई उसैगरी दिनुपर्ला । मिडियामा रकम खर्च नगरे प्रचार हुँदैन । निर्वाचन परिचालन टोलीलाई ठूलै रकम दिनुपर्ला । तन्नेरीका मोटरसाइकल पानीले चल्दैन । तर मुद्दा लिएर, स्वतन्त्र रुपमा उठ्नेलाई बाध्यकारी छैन रकमको चलखेल । आफ्नो अभियान त सामाजिक सञ्जालबाट गर्न सक्नुहुन्छ । गाउँगाउँ पुग्न सक्नुहुन्छ । भरौलमा आफूलाई भुइँ कवि भन्ने सूर्यबहादुर बस्नेत बराहक्षेत्र ५ को वडाध्यक्ष उठ्दा उनी आफू साइकलमा प्रचार गर्दै हिंडे । आफ्ना एजेण्डा सुनाए । घरघर पुगे । कसैलाई बियर मासु खुवाएनन् ।
यसरी आर्थिक रुपमा आफू धरासायी बन्ने काम किन गर्ने ? रकम उठाएर कतिञ्जेल चुनाव लड्ने ? मतदान हुनु अघिसम्म मात्र आफूलाई वडाध्यक्ष, मेयर र माननीय कतिञ्जेल ठान्ने ? यो संसदीय राजनीतिको विकृत पक्षको सुधारका लागि हामी सबैको दायित्व हुँदैन र ?