बहुधार्मिक र बहुसांस्कृतिक आस्थाको केन्द्र धरान विजयपुरस्थित बुढासुब्बा मन्दिरको कायाकल्प गरिएको छ ।
जीर्णोद्वारपछि मन्दिरको अघिल्लो मोहोडा आकर्षक देखिएको छ ।
मन्दिरमा प्रयोग भएका सिमेन्टका पिलरहरु भत्काएर काठको मोटो बलियो बुट्टाहरु कुँदिएका कलात्मक खम्बा लगाइएको छ । अघिल्लो पटक मन्दिरको टिनको छाना हटाएर पित्तलको लगाइएको थियो । ऐतिहासिक र पुरातात्विक धार्मिकस्थललाई पारम्पारिक मोैलिक स्वरुपको बनाउन पुरातत्व विभागले मन्दिरको  जिर्णोद्वार योजना अनुसार काम गरेको पुजारी उत्तम आले बताउँछन् ।
श्रद्धालुहरुले दशैं तिहारमा बुढासुब्बा मन्दिरको नयाँ स्वरुपको दर्शन गरेका छन् ।

मन्दिर परिसरमा रहेका सिमेन्टका संरचना हटाइएको छ । मन्दिर अघि ठूला घण्ट राखिएको कङ्कृट हटाइएको छ । घण्टहरु काठको मोटामोटा बिमको फ्रेममा रााखिने छन् ।
अघिल्लो वर्ष मन्दिरको पछाडि, उत्तर-दक्षिणका खण्डको जिर्णोद्वार गरिएको थियो ।

मन्दिरमा ठूला घण्टहरु स्थापित गर्न बाँकी छ । यो काम दशैं तिहारको छुट्टीका कारण गर्न सकिएको छैन ।

बुढासुब्बा मन्दिर विजयपुरको इतिहाससँग समेत गाँसिएको छ ।
लिम्बू जातिको आख्यान अनुसार  सिकार खेल्दै यहाँ अलप भएका दाजु-बहिनीको समाधिस्थल भएको भनिंदै आएको छ । बुढासुब्बा बारे धेरै जनश्रूति पाइन्छ पुरातत्व विभागले यहाँ उत्खनन् भने गरेको छैन ।

बाँसका कारण पनि चर्चित बुढासुब्बामा बाँस झ्याङ वरिपरि सिमेन्टको पर्खाल लगाएका कारण बाँसको जरालाई अवरोध भएको विज्ञको निष्कर्ष अनुसार सिमेन्ट पर्खाल हटाई ढुङ्गाको पर्खाल उठाएर माटो भरिएको छ । त्यहाँ ३ झ्याङ छन् । तल्लो २ झ्याङमा पनि माटो भरिएको छ । सिमेन्टका कारण बाँस लोप हुने अवस्था भएपछि कङ्कृट विस्थापित गरी माटो भर्ने काम भएको छ ।