धरान/ साउन महिनामा विशेष धार्मिक महत्व राख्ने बोलबम मेलालाई व्यवस्थित, सुरक्षित र भक्तजनमैत्री बनाउन धरान उपमहानगरपालिका–१४ मा सरोकारवालाबीच विशेष छलफल सम्पन्न भएको छ।
पिण्डेश्वर बाबाधाम समितिको कार्यालयमा सम्पन्न छलफलमा मेलाका क्रममा देखिने समस्या, भक्तजनको सहजता, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सुरक्षाको तयारी लगायत विषयमा चासो व्यक्त गरिएको छ। छलफलमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले मेलाको सफलताका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।
वातावरण शाखामार्फत फोहोर व्यवस्थापन र सडकका खाल्डाखुल्डी पुरिने काम छिट्टै गरिने उनले बताए।
छलफलमा बोल्दै पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले साउन महिनाभर लाखौँ भक्तजन आउने भएकाले यसलाई धार्मिक पर्यटनको अवसरको रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले यो वर्ष ४ देखि ५ लाखसम्म भक्तजन पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने अपेक्षा गरिएको जानकारी दिए।
धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा प्रत्येक वर्षको साउन महिनाको सोमबार सप्तकोशी नदीबाट जल ल्याई खाली खुट्टा भक्तजनले जल चढाउने परम्परा छ। साउनको सोमबारमा मात्रै नभई अब त महिनाभर नै भीड लाग्न थालेको समितिको भनाइ छ।
यस पटक भक्तजनलाई सहज बनाउन पर्याप्त संख्यामा स्वयंसेवक, सुरक्षाकर्मी, प्राथमिक उपचार सेवा, व्यवस्थित लाइन र सूचना व्यवस्थापन मिलाउने तयारी भइरहेको छ।
छलफलमा पिण्डेश्वर क्याम्पसका प्राचार्य काशीनाथ पौडेलले अव्यवस्थित पार्किङले क्याम्पसको पठनपाठनमा असर पार्ने भएकाले समयमै ध्यान दिन अनुरोध गरे। वडा नं. १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले उपमेयर बेघालाई सडक मर्मत र सरसफाइमा तत्काल पहल गर्न आग्रह गरे।
भारतको बनारसमा मात्र गरिने आरती अहिले पिण्डेश्वर मन्दिरमा समेत सुरु गरिएको उल्लेख गर्दै भक्तजनको भीड नियन्त्रणका लागि अघिनै सूचना प्रवाह र स्वयंसेवकको सक्रियतामा जोड दिइएको छ।
छलफलमा इलाका प्रशासन कार्यालय धरानका प्रमुख लक्ष्मीप्रसाद रेग्मी, मन्दिरका पूजारी गोकुलप्रसाद पोख्रेल, सशस्त्र प्रहरीका डिएसपी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि र विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो।