पूर्वमा माले विस्तार गर्दै गर्दा अशोक राईको आधार इलाका थियो धरान । त्यसले २०४८ को आम निर्वाचनमा धरानबाट उम्मेदवार बन्ने योजना थियो, उनको । २०४८ सालको चुनावका लागि तत्कालिन मालेले ०४७ साल मंसिरमा उम्मेदवार तय गरेको थियो । अशोक भन्छन्,‘धरानबाट मैले उठ्ने निर्णय भयो, तयारी पनि गरेका थियौं ।’ तर तर २०४७ सालको माघमा मनमोहन अधिकारी र साहना प्रधानहरुको नेकपा माक्र्सवादीसँग एकता भयो ।


यी औँला तिनै हुन् तिमीले चुमेका

परेली यिनै हुन् तिमिले पुछेका 


यो सम्झिने मन छ, म बिर्सूं कसोरी ?

तिमी नै भनिदेऊ ! ए, जाने निठुरी


ठिक ५ वर्षअघि मजदुरका लोकप्रिय धराने नेता भिमज्वाला राई अहिले जसरी धरानको चोक र गल्लीहरुमा भाषण गर्दै भोट मागिरहेका थिए । नामको पछाडि उनले ज्वाला राखेका छन् । यिनको कार्यशैली, विचार र भाषण ठ्याक्कै उनले रोजेको पछिल्लो नामसँग मेल खान्छ । यिनी तातिन सक्छन्, तताउन सक्छन् ।यसपाली नीकुरो उही छ, चुनाव । तर बिषय र पात्र चै फरक  । अघिल्लो निर्वाचनमा एमाले नेता जय राईको पक्ष र एमालेका पूर्व नेता अशोक राईको विपक्षमा बोल्नु पर्ने थियो । यसपाली ठिक उल्टो छ । एमालेका पूर्व नेता अशोक राईको पक्ष र अस्तीसम्मको एमाले नेता मनोज मेन्याङ्बोको विपक्षमा बोल्नु पर्ने भएको छ । अशोक विरुद्धमा बागी उठेपछि मनोज कारबाहीमा परेका छन्, निवर्तमान एमाले नेता भएका छन् । 

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष राई यसपटक पनि सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । २०७४ मा पनि राई यही क्षेत्रबाट उम्मेदवार थिए । तर त्यसबेला उनी नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार । यसपटक जसपा र एमालेले ठाउँ ठाउँमा गठबन्धन गरेको छ । धरानमा अशोकलाई एमालेको समर्थन छ ।

अशोकको पक्षमा लाग्दै गर्दा कमरेड ज्वालालाई उतिधेरै असजिलो लागेको छैन । बरु घरी घरी स्वार सम्राट नारायण गोपालको शब्द र संगीत माथिको गीतको गुनगुनाउन लाग्दो रहेछ । यो गीत सायद‘चटक्क छोडेर कतै भागी गएका मायालु’को सम्झनामा दिनेश अधिकारीले लेखेका होलान् ? तर अशोक राई र एमालेमा हुर्काएका उनका नेता तथा कार्यकर्ताहरुको हकमा यो गीत ठ्याक्कै मिल्छ । गीतले भने जस्तै ‘अशोकले हजारौं एमाले नेता तथा कार्यकर्ताहरुका औला चुमेका छन्, धेरै–धेरै एमालेहरुको परेली पुछेका छन् ।’

धरानबाट ज्वालाले अनुभूति सुनाए, ‘छोडी गएका पुरानो अभिभावक भेटे जस्तो भएको छ ।’ अशोक राईलाई जिताऔं भनेर लाग्दा गर्व नै लागेको उनको भनाई छ । भन्छन्, ‘मुख्य कुरा पार्टीको निर्णय हो । एमाले विरुद्ध चौतर्फी हमला भएको बेला जपसा साथमा आएको छ । उहाँ राष्ट्रिय परिषद् अध्यक्ष हुनुहुन्छ । दोस्रो, एमालेको पूर्व नेता हुनुहुन्छ । एमाले निर्माणमा धेरै पसिना बगाउनु भएको नेता हो उहाँ । तेश्रो, धरानले एउटा वलिो अभिभावक पाएको छ । राष्ट्रियस्तरको भरपर्दो नेता पाएको छ । अब केन्द्रसँग धरान जोडिन सजिलो हुनेछ ।’

मेट्न नसकिने साइनो

एउटा सन्दर्भहरुको लागि नेकपा (एमाले)को इतिहाससँग सम्बन्धित पुस्तकहरु पढ्दै थिएँ । पुस्तक मध्ये एउटा थियो, रमेश रुछेन राईले लेखेको जननेता मदन भण्डारीको जीवनी ‘श्वेत शार्दूल’ । पढ्दा जादा एउटा प्रसङ्गले तान्यो । लेखिएको थियो, ‘विद्या र मदनको पहिलो भेट भोजपुरमा भएको थियो, कुनै संयोगले । भोजपुर क्याम्पसमा पढ्ने विद्या सदरमुकाममै बस्थिन् । मदन पार्टी कामले पुगेका थिए भोजपुर, साथमा थिए पार्टी नेता अशोक राई ।’

कोही एमालेहरुलाई अहिले अशोक राई मन नपर्न सक्छ । तर एमालेको इतिहास पढ्दा वा लेख्दा पटक पटक पढ्नुपर्ने र लेख्नु पर्ने नाम हो, अशोक । दस बर्षअघि (२०६९)मा आफैले बनाएको एमालेको भव्य घर–आँगन छोडेर गए अशोक। उनी अहिले एमाले होइनन् । उनको परिचय र पहिचान एमालेबाट सुरु हुन्न ।जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद् अध्यक्ष हुन् । तर एमाले र उनको साइनो यस्तो छ, ‘एमाले उल्लेख नगरीकन न उनको परिचय र ‘बायोडाटा’ पुरा हुन्छ ।  न अशोक राई उल्लेख नगरी एमालेको इतिहास नै पुरा हुन्छ ।’ त्यही नमेटिने साइनो बोकेर उनी फेरि एमालेको आँगनमा आएका छन् । अर्थात् उनी अहिले एमालेको पनि उम्मेदवार हुन् ।

उनको सबैभन्दा उर्वर र गौरवमय समय २०२९ देखि २०६९ सम्मको ‘बायोडाटा’मा सबै एमाले गर्नुपर्ने हुन्छ । २०२९ सालमा विराटनगरमा पढ्दै गर्दा झापाली आन्दोलनकारीहरुसँगको सम्पर्कमा पुगेर कम्युनिष्ट आन्दोलनमा लागेका अशोक वामपन्थी यात्रा २०६९ मा विराम लगाएका थिए । अशोक २०३१ सालमा हात्तिसार क्याम्पस धरानमा विद्यार्थी परिषद्को निर्वाचित सदस्य, २०३३ सालमा काठमाडौंमा युवाहरुको ‘राँको समूह’को नेतृत्व गर्दै २०३३ सालमै अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डीनेशन केन्द्र (माक्र्सवादी लेनीनवादी)को सदस्य भए ।२०३६ सालदेखि पूर्णकालिन भएर पूर्वको पहाडी जिल्ला पुगे । पूर्वको भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका गाउँ गाउँ गएर संगठन विस्तार गरे । पूर्वी पहाडमा कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा उनको उलेख्य भूमिका छ । उनले संगठित गरेका, हुर्काएका र प्रशिक्षित गरेका धेरै नेताहरु आज एमालेको नेतृत्व तहमा पुगेका छन् । 

अशोक ०३७ सालमा पूर्व दक्षिण क्षेत्रीय कमिटी मालेको सदस्य भए । २०४६ सालमा नेकपा (माले)को केन्द्रीय सदस्य हुदै २०५९ सालमा जनकपुरमा आयोजित नेकपा मालेको सातौ महाधिवशेनमा सर्वाधिक मत पाए । २०५९ सालको नेकपा एमाले स्थायी कमिटी सदस्य भए । २०६५ सालको बुटवलमा आयोजित एमाले आठौ महाधिवेशनमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित उपाध्यक्ष भए । 

त्यसो त अशोकले एमालेबाटै नै अवसर पनि प्राप्त गरे । ०४८ सालमा खोटाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भए । २०५१ सालमा खोटाङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित भए । २०५१ सालमा एमालेले यातायात मन्त्री बनायो । २०५३ सालमा संयुक्त सरकारको संसदीय व्यवस्था मन्त्री भए । २०६२ सालमा संयुक्त सरकारको स्वास्थ्य मन्त्री ।

पहिचानको मुद्दामा फरक मत राखेर २०६९मा अशोकले एमाले छोडे । उनको भाषामा उनले एमाले फुटाएका होइनन्, परित्याग गरेका हुन् । अशोकले पार्टी छोडेर जार्दै गर्दा धेरैले चित्त दुखाए । तर उनले नयाँ पार्टी संघीय समाजवादी पार्टी बनाउँदै गर्दा एमालेमा रहेकालाई नयाँ तिर जाउ भनेर धेरै दुःख गरेनन् । ‘म नी जान्छु’ भन्नेहरुलाई मात्रै लिएर गए । उनीहरु थिए, हेमराज राई, राजेन्द्र श्रेष्ठ, विजय सुब्बा, रिजवान अन्सारी, बीरबहादुर लामा, अजम्बर काङमाङ राई, रकम चेम्जोङ, रणध्वज कन्दङवा, केशव स्थापित, गोपाल ठाकुरहरु । तर उनको साथमा धेरै छैन । हेमराज एमालेको समानूपातिक तर्फको उम्मेदवार छन् । विजय एमालेकै प्रत्यक्षतर्फको उम्मेदवार । अजम्बरहरु माओवादी केन्द्रको समानुपातिक तर्फको उम्मेदवार । 

आफूलाई कुनैबेला गहिरो साथ दिनेहरु धेरै एमाले भएका छन् । संयोगले यसपाली एमालेकै समर्थनमा चुनाव लड्दैछन् । ०४८ र ०५१ सालमा खोटाङबाट चुनाव जितेका अशोक ०५६ को चुनावमा उदयपुर झरे । त्यस यता प्रत्यक्ष तर्फचुनाव जित्न सकेका छैनन् । यदि यसपाली उनले चुनाव जिते भने एमालेकै मतले जित्नेछन् । 

३१ वर्षपछि एमालेकै आँगनमा 

पूर्वमा माले विस्तार गर्दै गर्दा अशोक राईको आधार इलाका थियो धरान । त्यसले २०४८ को आम निर्वाचनमा धरानबाट उम्मेदवार बन्ने योजना थियो, उनको । २०४८ सालको चुनावका लागि तत्कालिन मालेले ०४७ साल मंसिरमा उम्मेदवार तय गरेको थियो । अशोक भन्छन्,‘धरानबाट मैले उठ्ने निर्णय भयो, तयारी पनि गरेका थियौं ।’ तर तर २०४७ सालको माघमा मनमोहन अधिकारी र साहना प्रधानहरुको नेकपा माक्र्सवादीसँग एकता भयो ।

त्यसपछि मनमोहन अधिकारीले चुनाव लड्ने भए । एक अन्तर्वार्तामा अशोकले भनेका छन्, ‘त्यसबेला मैले चाहेको होइन, आज पनि मैले यही ठाउँ चाहिन्छ भनेर जिद्दी गरेको छैन । पार्टीले गर्ने निर्णयअनुसार अगाडि बढेको छु । पार्टी एकतापछि हामीले मनमोहन अधिकारीलाई देशभरमा कुन निर्वाचन क्षेत्र कम्र्फटेवल लाग्छ, आफैंले रोजेर लिनुहोस् भन्यौं । उहाँले धरान रोज्नुभयो । हामीले सहर्ष अध्यक्षलाई जिताउन लाग्नुपर्छ भनेर लाग्यौं ।’

त्यसो त अशोकलाई धरानबाटै चुनाव लड्नुपर्छ भनेर जोड गर्ने मालेका युवाहरु पनि थिए । अशोक भन्छन्, ‘माले तर्फका यहाँका केही युवा साथीहरु अशोक राई नै हुनुपर्छ भन्नेमा हुनुहुन्थ्यो, तर मैले नै ती साथीहरुलाई सम्झाए । किनकि धरानले मनमोहन अधिकारीलाई उम्मेदवार पाउनु गौरव र इज्जतको विषय थियो । मनमोहन अधिकारी नेपालको राजनीतिमा एउटा स्वर्ण अध्याय र कम्युनिष्ट आन्दोलनमा पनि स्वर्ण इतिहास भएको व्यक्तित्व हो । त्यसैले अध्यक्षको उम्मेदवारीमा किन्तु परन्तुको कुरै छैन भनेर साथीहरुलाई भनेँ ।’

धरानमा कमरेड मनमोहन अधिकारीको उम्मेदवारी दर्ता गराएर इनरुवा चोक छेउमा एउटा सभा गरेर अशोकले नेता कार्यकर्तालाई आहृवान मनमोहनलाई जिताउन अपिल गरे । उनी सम्झिन्छन्, ‘मनमोहन अधिकारीलाई जिताउन सकिएन भने पार्टी नै पराजित भएको ठहर्छ भन्ने निष्कर्ष सुनाए । किनकि पार्टीले जितेपनि अध्यक्षले हारेमा सिंगो पार्टी पराजयकै सन्देश जान्थ्यो । त्यसबेला मलाई पार्टीले खोटाङ पठाएको थियो, मेरो उम्मेदवारी वारेसबाट दर्ता भएको थियो । उम्मेदवारी दर्ता भएको तीन दिनपछि खोटाङतिर लागेँ । संयोग, उहाँले पनि जित्नुभयो, जनताले मलाई पनि जिताए ।’

त्यसपछि पनि ‘अशोकले धरानलाई जहिल्यै मिस गरीरहेँ, धरानले अशोकलाई ।’ संयोग २०७४ मा प¥यो । तर बिडम्बना उनले बनाएको कार्यकर्ताहरु उनीसँग थिएन, न त कुनैबेलाको उनको प्रिय पार्टी नेकपा (एमाले) र न तसूर्य चिन्ह नै उसको साथमा थियो । तर यसपाली आफूले पसिना बगाएको कुनैबेलाको आफ्नो प्रिय पार्टी नेकपा (एमाले)को सहयोग पाएका छन् । एमालेका कार्यकर्ताहरुको सहयोग पाएका छन् । 

०००

भनिन्छ, ‘राजनीति सम्भावनाको खेल हो ।’ एमालेको आँगन छोडेर गएपछि अशोकले एमालेलाई कति सम्झिन्छन् ? तर यतिका बर्ष बित्दा पनि उनलाई एमालेमा सम्झिरहनेहरु थुप्रै छन् । त्यसो त एमाले छोडेर हिडेपनि एमालेका नेता तथा कार्यकर्ताहरुमाथि उनले चर्को बिरोध कहिल्यै गरेनन् । बरु अन्तर्वार्ताहरुमा आफू एमाले सिध्याउन होइन सच्चाउन हिडेको बताइरहे । उनले बारम्बार भन्ने गरेका छन्, ‘एमाले निर्माणमा मेरो पनि रगत–पसिना बगेको हो, तर एमाले सच्याउँन आवश्यक भएकाले फरक भूमिकामा छु ।’

पार्टी निर्माणमा सहयोग गरेका उनका सहयात्रीहरु हेमराज राई, विजय सुब्बाहरु उही पुरानो घर फर्किएर जमी सकेका छन् । अशोकलाई बारम्बार सोधिने प्रश्न हो, ‘तपाई एमालेमा फर्किने सम्भावना कति छ ?’ ‘गेम अफ इन्डलेस पोसिबिलिटी’ उनले भन्ने गरेका छन् । यसपाली मनमोहनपछि धरानेले अग्लो नेता पाएका छन् । २०४८ सालमा भोट हाल्न नपाएका नेकपा (एमाले)लेका कार्यकर्ताहरुले पनि भोट हाल्ने अवसर पाएका छन् । यसपाली धरानका एमालेहरुले अशोकलाई जिताइ पठाए भने पुरानो माया गाढा नभएर ‘प्याचअप’ नहोला भन्न कसरी सकिएला र ? विजयको शुभकामना प्रिय, दाजुलाई । 

राजेश राई