धरान /धरान उपमहानगरपालिकाले धरानको वडा नं.२० विष्णुपादुका, वडा नं ४, ५ र ६ पानबारीलाई कृषि पकेटको रुपमा विकास गर्ने योजना अगाडि सारेको छ । तर उपमहानगरपालिकाले त्यहाँका कृषकको जीवन स्तर उकास्ने, कृषकले उत्पादन गरेको कृषि सामग्रीको बजार व्यवस्था तथा सडकको सहज पहुँच नभइदिँदा उत्पादित कृषि सामग्री डोकोमा बोकेर घर घरमा पु¥याउन बाध्य छन् ।

धरानमा एक कृषि बजार, ठूला दुई वटा फलफूल तथा तरकारी बजार नभएको होइन तर पनि धरान ४ दानाबारीका कृषकले भने आफूले उत्पादन गरेको सामग्रीको भाउ पाएका छैनन्, सहज सडक सञ्जाल नभइदिंदा उनीहरु करिब ५ किलोमिटरको बाटो धरान बजारमा डोकोमै बोकेर बिक्री गर्न बाध्य छन् ।

धरान ४ दानाबारीका ८० बर्षीय जमबहादुर राईले परिवार पाल्नकै लागि भएपनि डोकोमा सागसब्जी बोकेर धरान बजारसम्म लान बाध्य भएको बताए । उनले सिजनअनुसार अदुवा, मकै, कोदो, सागसब्जी उत्पादन गरे पनि बजारको समस्या हुँदा र उचित मूल्य नपाउँदा आफूहरुलाई समस्या भएको बताए । उनले भने–‘हाम्रो खासै बजार छैन, हामीले उत्पादन गरेको कृषि सामग्री धरान बजारको घर घरमा लगेर डुलाउनुपर्ने बाध्यता छ ।’

संखुवासभाबाट बसाइसराई गरी धरान ४ दानबारीमा बसेर कृषि पेशा गर्दै आएकी प्रितिधन राईको भनाई पनि जमबहादुरको भन्दा फरक छैन । आफूले उब्जाएको सागसब्जीको बजार र भाउ नपाउदा डुलाएर विक्री गनुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । उनले भनिन्–‘हाम्रो गाउँमा राम्रो सडक पनि छैन, त्यसपछि हामीले उब्जाएको सब्जी आर्गनिक हुन्छ, तर पनि हामीले बजारसँगै भाउ पाउन सकेका छैनौं ।’

कति पय कृषकले पनि बजारसंगै प्राविधिक ज्ञानको समस्या भएको बताएका छन् । कृषक राजकुमार राईले प्राविधिक शिक्षा नभएकै कारण आफूले सुनेको जानेको भरमा कृषि पेशा गरेको बताए । कृषि पेशालाई आधुनिकीरण गरेर लान प्राविधिक ज्ञान आवश्यक भएको उनको भनाई छ । उनले भने–‘हाम्रो क्षेत्रलाई कृषि पकेट क्षेत्र भनिएको छ, न त प्राविधिक ज्ञान नै उपलब्ध छ, न त विउ, मल सहज रुपमा उपलब्ध नै छ, बल्लतल्ल कृषकले साग सब्जी उब्जाए पनि कृषकको मेहनतअनुसार भाउ छैन, बजारको व्यवस्था पनि छैन ।’

यस भेगका कृषकहरुले अर्गानिक सागसब्जी उत्पादन गर्ने मान्यता रहेको छ । विजयपुरको बुढासुब्बा पारिपटि पर्ने दानाबारीका कृषकहरुले उत्पादन गरेका कृषि सामग्री मर्निङवाक जानेहरुले बढी खरिद गर्ने गरेका छन् । मर्निङवाक पनि जाने र ताजा सब्जी पनि पाउने भएकोले मर्निङवाक आउने गरेको रोशन श्रेष्ठ बताउँछन् । उनले भने–‘यस भेगमा उत्पादन भएको सामग्री अर्गानिक हुन्छ, खादा पनि स्वादिलो छ, तर उपमहानगरपालिकाले यहाँका कृषकहरुलाई प्रोत्साहन गर्न सकेन ।’

स्थानीय तहहरुले कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने भनिए पनि बजार, प्राविधिक ज्ञानको अभावका कारण उनीहरुले सोचेजस्तो आम्दानी गर्न सकेका छैनन् । यस क्षेत्रबाट मात्र धरानमा भित्रिने चारभागको एक भाग सब्जीजन्य सामाग्री धरान भित्रिने गरेको छ । तर पनि उनीहरुले उब्जाएको सागसब्जीको उचित मूल्य नपाउँदा र बजार नपाउँदा घर घरमा डुलाएर बिक्री गर्नुपर्ने अवस्था छ । तार्गेट क्षेत्रलाई कृषि पकेट क्षेत्र बनाउने हो भने स्थानीय तहले पहिलो प्राथमिकतामा राख्न जरुरी छ ।