धरान

हिन्दु वैदिक सनातन धर्ममा ब्रतबन्ध गरेपछिमात्र कर्म चल्ने मान्यता छ ।  तर यस्ता सामाजिक संस्कारहरु पछिल्लो समय खर्चिलो र भड्किलो हुँदै गएको छ । कम खर्चमा पनि गर्न सकिन्छ भन्ने मूल अभिप्राय बोकेर विगतदेखि नै विजयपुर आध्यात्मिक मञ्च सुनसरीले सामाजिक संस्कारभित्र पर्ने ब्रतबन्ध, छेवर र गुन्युचोली सामूहिक रुपमा गर्दै आएको छ । यस वर्ष भने मञ्चले ब्रतबन्ध मात्र गरेको छ ।

सामाजिक संस्कारभित्र पर्ने ब्रतबन्ध, छेवर र गुन्युचोली हिन्दु धर्मालम्बीहरुका लागि अनिवार्य जस्तै छ । यी कर्म गरेपश्चातमात्र कर्म चल्ने मान्यता छ । तर सामान्य रुपमा गर्न सकिने यस्ता संस्कारहरु खर्चिलो र भड्किलो ढंगबाट हुन थालेपछि न्यून आयस्रोत हुनेहरुका लागि समस्या बन्दै गएको छ । तर विजयपुर आध्यात्मिक मञ्चले भने न्यून आय भएकाहरुलाई सहज रुपमा यस्ता सामाजिक संस्कार गर्न सकून भन्ने उद्देश्यले निरन्तर यस्ता कर्म गर्दै आएको छ । यस वर्ष पनि मञ्चले सामूहिक ब्रतबन्ध धरानको पिण्डेश्वरमा गरेको छ ।

सामूहिक रुपमा ब्रतबन्ध गर्दा कम खर्च लाग्ने, संस्कारका नाममा गरिने तडकभडक निराकण गर्न सहयोग पुग्ने पिण्डेश्वरमा आफ्ना सन्तानको ब्रतबन्ध गराउन आउनेहरुले बताएका छन् । मोरङ खोर्सानेका रामबहादुर श्रेष्ठले सामूहिक रुपमा ब्रतबन्ध गराउँदा धेरै सहज भएको बताएका थिए ।

खर्च बचतसँगै भगवानको प्राङ्गणमा सामूहिक रुपमा गरेको ब्रतबन्धले सार्थकता पाउने भएकैले सामूहिक रुपमा पिण्डेश्वर मन्दिरमै आएरे ब्रतबन्ध गराएको सर्वसाधारणले बताएका छन् । धरान १४ विजयपुरकी कविता पोख्रेलले मन्दिरकै प्राङ्गणमा सस्तो र सुलभ ढंगबाट गरिँदै आएको सामूहिक ब्रतबन्धले निम्न आय भएकाहरुलाई सहज भएको बताएकी थिइन् । 

ब्रतबन्ध गर्दा चाहिने सम्पूर्ण कुराहरुको झन्झट नहुने, आयोजकले नै व्यवस्था गरिदिने गरेकाले ब्रतबन्ध गर्नेहरुलाई अत्यन्तै सहज भएको  खोर्साने मोरङकी तुलसा आचार्य बताउँछिन् ।

घरम गर्दा आर्थिक भार पर्ने तर मन्दिरमा सामूहिक रुपमा गर्दा खर्च कमसँगै रमाइलो हुने भएकोले पनि विजयपुर आध्यात्मिक मञ्चले आयोजना गरेको संयुक्त ब्रतबन्ध कार्यक्रमले सर्वसाधारणको सहज भएको विराटनगरकी सुष्मा कार्कीले बताइन् । 

३१ वर्ष अगाडिदेखि मञ्चले फजुल खर्च नगरौं, मितव्ययी बनौं साथै सामूहिक कार्यक्रममा सहभागी बनौं भन्ने मूल उद्देश्य राखी सामूहिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

मञ्चका सल्लाहकार धर्मराज तिम्सिनाले सो अवसरमा ब्रतबन्धको महत्वको विषयमा प्रष्ट पारेका थिए । उनले वैदिक सनातन धर्ममा गर्भाधानदेखि मृत्यु संस्कारसम्म १६ वटा संस्कार हुने बताउँदै १६ संस्कार प्राप्त गरेपछि मात्र देह त्याग गरेर परमधाम प्राप्त हुने भएकोले यो ब्रतबन्ध यज्ञ गर्न जरुरी रहेको बताएका थिए ।

सर्वसाधारणको सहजताको लागि २०४८ देखि लगातार गर्दै आएको यो कार्यक्रमको पहिलो कार्यक्रममा १०८ जना सहभागी थिए । गत वर्ष यही कार्यक्रममा ३६ जना सहभागी थिए भने यस वर्ष १५ जना सहभागी रहेका थिए ।

सहज र सरल ढंगबाट कम खर्चमा सामूहिक कार्यक्रम सम्पन्न गर्न मञ्चले विभिन्न उपसमिति समेत गठन गरेर कार्यक्रमलाई प्रभावकारी बताउँदै आएको मञ्चका महासचिव उद्धवप्रसाद अधिकारीले बताए । उनले २०४८ सालदेखि गर्दै आएको यो कार्यक्रम सबैले सहज रुपमा गर्न सकून् भन्ने उद्देश्यले यसलाई निरन्तरता दिँदै आएको बताए ।

खर्चमा मितव्ययिता ल्याउँदै सरल ढंगबाट यस्ता संस्कारलाई सम्पन्न गर्ने उद्देश्य बोकेर आयोजना हुँदै आएको सामूहिक कार्यक्रम झन झन प्रभावकारी बन्दै गएको छ । यहाँ नेपालका विभिन्न जिल्लामात्र हैन भारतबाट समेत सामाजिक संस्कारका कार्यक्रम गर्न आउने गरिएको पाइएको छ ।