इलाम /  नेपाली चिया गुणस्तर चेक गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयात अनुमति दिँदैन । स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बंगालको कोलकत्तामा परीक्षण गर्नुपर्ने बाध्यता रहेको छ ।

उद्योगीले चिया बोकेको कन्टेनर हप्ता दिनसम्म मेची भन्सार कार्यालय काँकडभिट्टमा राखेर कोलकत्तामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको रिपोर्ट आएपछि मात्र भारत लगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल उत्पादन संघका अध्यक्ष सुरेश मितलल जानकारी दिए  । उनले भने–‘नेपालमै चिया गुणस्तर चेक गर्ने प्रयोगशाला नहुँदा हामी चिया उत्पादक व्यवसायी मारमा परेका छौं, नेपाल सरकारले यो सस्याको समाधान कहिल्यै गरेन ।’

उनले मुलुकमै चिया निर्यातबाट बार्षिक ३ अर्ब रकम भित्रीरहँदा पनि सरकारले सरकारले स्वदेशमै प्रयोगशाला स्थापनाको पहल नगरेको गुनासो गरे । उनले भने–‘चिया उद्योगप्रति सरकारको व्यवहार विवेदपूर्ण छ भारतले गुणस्तर चेक नगरी एक प्याकेट चिया पनि लैजान पाइदैन ।’ उनले भारतको कोलकत्ता पु¥याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बताए । उनले भने–‘सरकारले चाहने हो भने प्रयोगशाला राख्नु कुनै ठूलो समस्या होइन, तर सरकारले त्यसो गर्न सकेको छैन ।’

नेपाली चिया उत्पादकहरुले परीक्षण गर्ने मान्यता प्राप्त ल्याब खोल्न सरकारसँग पटक पटक माग गरेको बताएका छन् । मुलुकभित्र चियाको गुणस्तर चेक गर्ने ल्याब नहुँदा भारतमा जस्तो गुणस्तण माप हुन्छ त्यसकै आधारमा मूल्य पाउने गरेको मितल बताउँछन् ।

मुलुकको आर्थिक सुचांकमा चिया उद्योग सफल उद्योगको रुपमा चित्रित भए तापनि सरकारको नीति र दृष्टिकोण भने सकारात्मक नभएको साना किसान सहकारी संघका अध्यक्ष हर्क तामाङ बताउँछन् । भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेकै मूल्यमा ५० बर्षभन्दा अघिदेखि एउटै मूल्यमा नेपाली चिया उद्योग व्यवसायी चिया विक्री गर्न बाध्य भएको उनको भनाई छ ।

उनले भने–‘नेपाल सरकारले गुणस्तर चेक गर्ने एउटा ल्याब सञ्चालन नगरिदिँदा भारतीय व्यवसायीले तोकेको मूल्यमा चिया विक्री गर्नुपर्ने बाध्यता छ, यसले चिया किसान उत्पादकहरु मरमा परेका छन्, यसतर्फ सरकारको ध्यान जाओस् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकत्तास्थित सेन्टर फुड ल्याबमा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउदै आएको बताए । नेपालका कूल चिया उत्पादनको ९९ प्रतिशत पदेश नं. १ मा नै उत्पादित हुने भएकोले चियाको गुणस्तर नाप गर्ने ल्याबको स्थापना गर्न तयारी भइरहेको बताए ।

उनले भने–‘नेपालको चिया सम्पूर्ण प्रदेश नं. १ बाटै हुन्छ भन्दा पनि हुन्छ, गुणस्तर ल्याब नहुँदा यहाँका चिया उत्पादक व्यवसायी धेरै मारमा परेका छन्, यसले गर्दा ल्याव स्थापना गर्ने तयारीमा हामी रहेका छौं ।’

मुलुकमै गुणस्तर परीक्षण गर्ने ल्याब सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्य समेत पाउने उनले बताए । नेपालमा १७ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा चिया खेति हुने गरेको छ ।

त्यसमध्ये १० हजार ५ सय हेक्टर खेति झापामा हुने गरेको बोर्डका प्रमुख अधिकारीले जानकारी दिए । हाल बार्षिक २ करोड ८० लाख केजी  तयारी चिया उत्पादन हुँदै आएको छ । कूल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाकी सबै विदेश निर्यात  हुने गरेको छ ।

चियाबाट मात्र बार्षिक ३ अर्ब ८० करोड विदेशी मुद्रा  आर्जन हुने गरेका छ । बोर्डका अनुसार चिया क्षेत्रमा ७० हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा केही साना र ६८ ठूला चिया उद्योग रहेका छन् । नेपालमा १ सय ६० भन्दा बढी चिया बगान रहेको तथ्यांक रहेको छ । चिया खेतिमा १५ हजार भनदा बढी साना किसान आवद्ध रहेका छन् ।