तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिका ३ बसन्तपुरमा निर्माण भएको चोत्लुङ पार्क अहिले लिम्बु जातिको संस्कारमा आधारित मुन्धुमको अध्ययन थलोको रुपमा विकास हुँदै गएको पाइएको छ  ।

यो  लिम्बू जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक पार्क निर्माण गरिएको छ । विशेषगरी लिम्बू जातिको जन्म, मृत्यु, विवाह, उधौली उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित क्रियाकलाप पार्क परिसरमा गर्न थालिएको छ ।

लालीगुराँस नगरपालिका बसन्तपुरका स्थानीय बासिन्दा कृष्ण खुवाङले लिम्बुहरु प्रकृतिपूक भएकोले यो पार्क पनि सोही अनुरुप निर्मिाण गरिएको बताए । उनले भने–‘लिम्बु जाति प्रकृतिलाई पूजा गर्छन् ।’ 

ढुंगालाई विशेष देवताका रूपमा पूजा गर्ने लिम्बू जातिको धेरै पुरानो संस्कार हो , यसले गर्दा पनि लिम्बु जातिकोे मुन्धुममा ढुंगाको विशेष महत्व छ, यसले गर्दा पनि यो पार्क मुन्धुमको अध्ययन केन्द्रको रुपमा विकसित हुँदै गएको छ ।’

  लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले यो पार्क मुन्धुममा आधारित पार्क र संग्रहालयको रुपमा निर्माण गरिएको हुनाले यो मुन्धुमको अध्ययन केन्द्रको रुपमा विकसित हुँदै गएको छ । उनले भने–‘यो पार्क लिम्बु सँस्कृतिमा आधारित मुन्धुमको अध्ययन थलोको रुपमा विकसित हुँदै गएको छ, यो पार्कमा अध्ययन गर अनुगमन गर्नेको संख्या दिनानुदिन बढ्दै गएको छ ।’

लालीगुराँस फुल्ने समय चैत वैसाखमा लालीगुराँसको राजधानी टिएमजे जानेहरुले पनि एकपटक बसन्तपुरको चोत्लुङ पार्क घुमेरैमात्र फर्किने गरेको बताएका छन् । धरानबाट घुम्नकै लागि बसन्तपुर पुगेका मोहन बस्नेतले बसन्तपुरको आकर्षण चोत्लुङ पार्कले थप्ने काम गरेको बताए ।

उनले भने–‘अत्यन्तै आकर्षक छ, जो कोहीले पनि एक पटक त्यसको अवलोकन गरेर आउँदा राम्रो, त्यसबाट धेरै कुरा सिक्न पाइन्छ ।’यो पार्क २०७६ पुष ५ गते निर्माण सम्पन्न भई बरिष्ठ कवि बैरागी काइलालो उद्घाटन गरेका थिए । 

पार्क नगरपालिका, नयाँ सहर आयोजना, पर्यटन मन्त्रालय तथा विभिन्न दाताहरूको सहयोगमा निर्माण गरिएको नगरप्रमुख माबुहाङले बताए  । यो पार्क निर्माणमा करिब ८० लाख रुपैयाँभन्दा लागत लागेको प्रमुख माबुहाङ बताउँछन् । 

प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको सो पार्कको र्संग्राहायलयमा लिम्बुजातिको इतिहास झल्काउने वस्तु राखिएको प्रमुख माबुहाङ बताउँछन् । उनले भने–े संग्रहालयमा लिम्बू जातिले पूर्वी क्षेत्रमा राज्यगर्दा प्रयोग गरेका हातहतियार तथा पुरातात्विक वस्तु, पूर्वका माझ किराँत, वल्लो किराँत र पल्लो किराँत क्षेत्रको राज्य सञ्चालनताका सीमा जोगाउन प्रयोग गरेका ढुंगा तथा घरेलु हातहतियार राखिएका छन् । संग्रहालयमा लिम्बू जातिको खानपान संस्कार झल्किने सामानसमेत राखिएको छ, यसले लिम्बुको इतिहास, सँस्कृतिलाई झल्काउने काम गरेको छ ।’