धरान/ धरानमा पहिलोपटक भव्य रूपमा आयोजना हुन लागेको धरान खेलकुद महोत्सव–२०८२ का तयारी अन्तिम चरणमा पुगेका छन्।
धरान खेलकुद मञ्चको आयोजनामा मंसिर २५ गतेदेखि पुस १० गतेसम्म संचालन हुने महोत्सवका अध्यक्ष किशोर राईका अनुसार आवश्यक परे दर्शकको भीड, प्रभाव र माग हेरेर पुस १० पछि पनि केही दिन थप गर्न सकिने सम्भावना खुला छ।
“धरान महोत्सवको केन्द्रबिन्दु हो। हामीले यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सक्यौँ भने यो महोत्सव नै धरानलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कोसेढुङ्गा हुन्छ,” राईले भने। उनका अनुसार यो महोत्सवमा धेरै स्थानीय युवाको लगानी छ र उनीहरूले व्यावसायिकता पाउने वातावरण निर्माण गर्नु पनि प्रमुख उद्देश्य हो।
महोत्सव स्थलमा करिब ६० देखि ७० वटा स्टल निर्माण गरिएका छन्। धरानमा उत्पादन हुने वस्तुलाई प्रोत्साहन गर्न स्थानीय उत्पादनका लागि केही स्टल निःशुल्क उपलब्ध गराइएको छ भने अन्य स्टलहरू सशुल्क रहनेछन्।
मेला क्षेत्रमा खानेपानी, बिजुली तथा सुरक्षाको तयारी पूरा भइसकेको छ र भोलिदेखि स्टल सजावटको काम सुरु हुने अध्यक्ष राईले जानकारी दिए। खानाका परिकारहरूमा राई, लिम्बु, नेवार, मगर थरका जातीय परिकारदेखि मधेसको प्रमुख परिकार ‘घोंगी’ सम्म रहनेछन् जसले महोत्सवमा सांस्कृतिक विविधता झल्किनेछ।
यसैबीच महोत्सवका सदस्य सबिन राई, जसलाई यस वर्ष सम्पूर्ण खेल तमासा व्यवस्थापनको जिम्मा दिइएको छ, भन्छन्— “हामीले यसपटक धरानका लागि कहिल्यै नदेखिएका नयाँ खेल तमासा ल्याएका छौँ।
इन्डियाको पटनाबाट टाेरा–टाेरा र रसियन झुला सिधै आयात गरेका छौँ, यी दुवै धरानवासीले पहिलोपटक अनुभव गर्नेछन्। यसको अतिरिक्त अघिल्ला वर्षमा लोकप्रिय रोटेपिङ, नाउ र ड्र्यागन राइड पनि राखिएको छ, तर यसपटक अझै ठूलो र आधुनिक स्वरूपमा प्रस्तुत गरिन्छ।” उनका अनुसार रोटेपिङ २० सिटे, विशाल नाउ २४ सिटे छ जसले एकपटकमा १७० जनासम्म बोकिन्छ, ड्र्यागन राइडमा ४० जना अटाउन सक्छन्। साथै बच्चाहरूका लागि मिकी माउस, कार, स्कुटर, स्कोर्पियोदेखि जम्पिङ ज्याकसम्मका थुप्रै आकर्षक आइटमहरू उपलब्ध हुनेछन्।
सबिन भन्छन्, “दर्शकको सुरक्षालाई ध्यानमा राखेर हामीले रोटेपिङ तथा खेल तमासाका लागि दुई करोडको बीमा गरेका छौँ। यस्तो बीमाको व्यवस्था धरान मेलामा पहिलोपटक भएको हो।”
महोत्सवमा मनोरञ्जनसँगै ज्ञान र सिर्जनशीलतालाई जोड्ने उद्देश्यले दिउँसो १ देखि ३ बजेसम्म स्थानीय इन्जिनियरिङ र फुड टेक्नोलोजी कलेजहरूले विज्ञान प्रदर्शनी देखाउनेछन्। साथै धरानका विद्यालयहरूद्वारा प्रस्तुत हुने सांगीतिक र नृत्य कार्यक्रमले कला तथा संस्कृतिको विविधता झल्काउनेछ। दर्शकको उत्तेजना बढाउन बीच–बीचमा तम्बोला(Housie) पनि खेलाइनेछ।
उद्घाटन समारोहमा धरानका गौरवशाली खेलकर्मी—फुटबलका सफल कप्तान तथा प्रशिक्षक राजु शाक्य र मस्को ओलम्पिक–१९८० का प्रतिनिधि नगेन्द्र पोमा—लाई विशेष सम्मान गरिनेछ। धरानले पछिल्ला सय वर्षमा खेलकुद तथा अन्य क्षेत्रमा प्राप्त गरेका मेडल, कप र प्रमाणपत्रहरूको आकर्षक प्रदर्शनी राखिनेछ, जसले नयाँ पुस्तालाई धरानको खेल इतिहास बुझ्न मद्दत गर्नेछ।
सांगीतिक प्रस्तुतीतर्फ मनत्रा ब्यान्ड, रोकेट्सरदि एक्स, टुक्की लगायतका चर्चित ब्यान्डहरू प्रस्तुति दिनेछन्। सोलोहरूमा बबिता किराँतीले रंग जमाउनेछिन्। कलाकारहरूको विस्तृत कार्यक्रम तालिका आयोजकले चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
अध्यक्ष राई भन्छन्, “हामी चाहन्छौँ कि यो महोत्सव धरानलाई चिनाउने अन्तर्राष्ट्रिय स्तरको महोत्सव बनोस्। त्यसैले सबै धरानवासी तथा बाहिरबाट आउने दाजुभाइ दिदीबहिनीलाई अवलोकन, सुझाव र सहयोगका लागि हार्दिक अपिल गर्दछु।”
त्यसैगरी सबिन राईले थपे— “यो वर्ष हामीले प्रस्तुत गरेका खेल तमासा र मनोरञ्जनका आकर्षणहरू धरानले पहिले कहिल्यै अनुभूति नगरेको भव्यता दिनेछन्। हामी सबैलाई सुरक्षित, रमाइलो र अविस्मरणीय अनुभव दिन तयार छौँ।”




















