खोटाङ / खोटाङस्थित जिल्लाकै पुरानो ऐसुली खर्कको बजार ढलान हुने भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/८०मा ५० लाख बजेट विनियोजन गरेर ऐशुलीखर्क बजारलाई ढलान गर्ने भएको हो ।

बजार ढलान नहुँदा बर्खाको समयमा हिलाम्मे र हिउँदको समयमा धुलाम्मे हुने गरेकाले स्थानीयबासीले धेरै सास्ती भोग्नु परेको थियो । तर बजार ढलान हुने भएपछि आवतजावतमा सहज हुने स्थानीयबासी बताउँछन् ।

स्थानीय व्यापारी नारायण श्रेष्ठले बजारै ढलान हुदा ऐसलुखर्कबासीलाई धेरै सुविधा हुने बताए । उनले बजार क्षेत्र ढलान नहुँदा हिलोले गर्दा ग्राहक पसल सम्म आउन कठिन हुने र हिउँदमा धुलाम्मे हुँदा सामान धुलोले पुरिने गर्दासमस्या भएको बताए । उनले राणाकालीन समयमा समेत प्रख्यात बजार अहिलेसम्म ढलान हुन नसक्नु सरकारी उपेक्षामा यो बजार उपेक्षामा परेको उनको भनाई छ । उनले भने–‘देशकै पुरानो र ऐतिहासिक बजार हो, तर विकासको हिसाबले अत्यन्तै पछाडि परेको छ ।’

बजार क्षेत्र ढलान भइदिएमात्र धरै राम्रा हुने उनीहरुको भनाई छ । स्थानीय सरोज राज भण्डारीले लामो समयसम्म ढलान हुन नसकेको बजार एरिया ढलान हुने भएपछि अत्यन्तै खुशी लागेको बताए ।

यो बजार दुई लानको रहेको छ । सडक ढलानसँगै दुई पटि पाइप विछ्याउने योजना अगाडि सारिएको छ । सधै पाइप फुटेर हैरान भएका उनीहरुले सास्ती भाग्नु नपर्ने बताउछन् ।

‘यो् ढलान बन्यो भने अत्यन्तै सहज हुन्छ, पालिकाले पहल गर्‍यो भने ऐसुलखर्क बजार ढलान हुन्छ र हिलो र धुलोबाट मुक्त पाइन्छ’ रमेश राज भण्डारी भन्छन्–‘ यसले गर्दा धुलो र हिलोबाट मुक्तमात्र हैन यहाँको व्यवसाय पनि फस्टाउँछ ।’

बजार ढलान शुरु गर्नका लागि गाउँपालिकाले यो बर्ष ५० लाख बजेट विनियोजन गरेको छ । थप बजेटका लागि प्रदेश सरकार र संघीय सरकारसँग पहल भइरहेको गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राई बताउँछन् । उनी भन्छन्–‘यो बजार धेरै पुरानो बजार हो, यो बजार जिल्लाको केन्द्रविन्दुमा भएकोले यसलाई व्यवस्थित गर्न ढलसहितको निर्माणका लागि गाउँपालिकाबाट ५० लाख बजेट छुट्याएका छौ, अपुग रकमका लागि हामीले प्रदेश र केन्द्रसँग बजेट माग गरेर यसलाई पूर्णता दिने हाम्रो सोच छ ।’

एसुलु खर्क बजार ढलानको काम सम्पन्न गर्नका लागि करिब १५ करोड ५८ लाख २४ हजार लागतमा पूरा हुने विस्तृत परियोजना डिपिआरमा उल्लेख छ । २ किलोमिटर ३४६ मिटर लम्बाई र ३.५ मिटर चौडाई ढलान हुने भएको छ ।

ऐसुलखर्क बजारमा हप्ताको एक दिन शनिवार बजार लाग्ने गर्छ । सातवटा वडा रहेको यो गाउँपालिकाका सर्वसाधारणलाई बजारमा ढलान नहुँदा धेरै समस्या हुने गरेको थियो ।