धरान / सधैँ बिरामीको सेवामा समर्पित धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा नर्सहरुले फुर्सदको समय मिलाएर आज होली पर्व मनाएका छन् ।

बिरामीको काममा व्यस्त हुनुपर्ने भएपनि समय मिलाएर उनीहरु होली पर्वमा रमाएका हुन् । 

सघन उपचार केन्द्र (आइसियु) मा काम गर्दै आएकी आशा चौधरी सधै बिरामीको उपचारमा व्यस्त रहन्थिन् । उनलाई फुर्सद कहिल्यै हुँदैन । फुर्सद मिलाउनुपर्दा उनलाई धेरै गाह«ो हुन्छ तर मंगलबार भने होली पर्व उनीहरुले पालो मिलाएर खेलेकी थिइन् ।

madeshi-holi-pic

बिरामीको उपचारमा व्यस्त रहनुपर्ने बाध्यता भएपनि समय मिलाएर होली जस्तो रमाइलो चाड विपीकै कर्मचारी, नर्स तथा चिकित्सकसँग रंग दलेर एक आपसमा होली खेलेको उनी बताउँछिन् । सबैसँग मिलेर होली खेल्दा असाध्यै रमाइलो भएको उनको भनाई थियो । दुई वर्ष कोरोनाका कारण होली पर्व राम्ररी मनाउन नपाएको स्मरण गर्दै उनी भन्छिन्–‘कोरोना संक्रमणले होली पर्वलाई पनि प्रभावित बनायो, संक्रमण फैलिने त्रासमा होली पर्व मनाउन सकिएन ।’ उनी मात्र हैन प्रतिष्ठानका कार्यरत  नर्सहरुले समेत फुर्सदको समय मिलाएर होली खेलेको बताएका छन् ।

अस्पतालको चौघेराभित्र बिरामी हेरेर दिन बिताउनुपर्ने बाध्यता भएका उनीहरुलाई बाहिर निस्केर होली खेल्दा अत्यन्तै आनन्द लागेको बताएका छन् 

holi-pic

चिकित्सकहरुले समेत अस्पतालमा कार्यरत विद्यार्थी, नर्स तथा चिकित्सक परिवार जस्तो गरेर होली खेलेको बताएका छन् । चिकित्सक डा. रमानन्द चौधरीले घर परिवारसँग रमाएर होली नखेले पनि प्रतिष्ठानका अध्ययनरत विद्यार्थी, कर्मचारी, नर्स तथा चिकित्सक परिवार जस्तो भएर प्रत्येक बर्ष होली खेल्ने गरेको बताउँछन् । उनी भन्छन्–‘हामी चौबिसै घण्टा बिरामीको सेवामा समर्पित हुन्छौं, घर गएर होली खेल्न नपाए पनि प्रतिष्ठानमा काम गर्ने सबै हाम्रो परिवार जस्तै भइसकेको छ, सबैसँग होली खेल्दा रमाइलो महसुस भएको छ ।

’धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा होली पर्वका समयमा विदा समेत दिएको छ । विदा भएपनि ओपिडीमात्र सञ्चालनमा आउँदैन । त्यहाँ  अत्यावश्यकीय उपचारको आकस्मिक कक्ष, आइसियु चौबिसै घण्टा खुल्ला हुने गरेको छ । यसले गर्दा पनि उनीहरुलाई विदाको अनुभूति कहिल्यै हुन पाउँदैन । आकस्मिक तथा आइसियुमा मात्र दैनिक सैयौ बिरामी उपचारमा रहन्छन् यसले गर्दा यहाँ कार्यरत कसैले फुर्सद नै पाउँदैनन् । फुर्सद निकालेर केही समयका लागि होली खेल्दा पनि उनीहरुलाई रिफ्रेश भएको अनुभवे उनीहरुले सुनाए ।

मधेसी समाज धरानको होली मिलन उत्सव 

मधेसी सेवा समाज धरानले होली पर्वको अवसरमा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

धरानस्थित १ स्थित धुलीखेल समाजको प्राङ्गणमा मधेसी समाजले समुदायका अग्रज र मान्यजनबाट आशीर्वाद लिदै आगन्तुक र अतिथिको स्वागत सत्कार गरेर पर्व हर्षोल्लासका साथ मनाएका हुन् । 

समाजका अध्यक्ष महेन्द्रदत्त कायस्थले पर्वले समुदायबीच आपसी सौहार्दता, भाइचारा र समाजमा धार्मिक सहिष्णुताको सन्देश दिँदै पर्व मनाएको बताए । 

मधेसी समाजले आफ्ना मौलिक चाडपर्वलाई उत्सवका रुपमा मनाउदै आएको समाजका सदस्य बद्री शाहले जानकारी दिए । शुभकामना आदानप्रदानसगै चियापान समारोहको समेत आयोजना गरेको थियो ।