सुनसरी /  चैते छठ शनिबारदेखि सुरु भएको छ ।  सोमबार तेस्रो दिन अर्थात् छठ पर्वको मुख्यको रुपमा लिइन्छ । सोमबार अस्ताउदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने आज मङलबार  विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको समापन हुन्छ । 

चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाएर खाने गर्दछन् । प्रसादमा खीर , केरा, दुध एवम् विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ ।

पर्वको तस्रो दिन ब्रतालुहरुले अस्ताउदो सूर्यलाई अर्घ दिने  गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु खोला नदी या पोखरीमा प्रवेश गरी खष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।

अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसी मंंगलबार चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।

सुनसरीको दुहबी बुढिखोला सहित मधेसका २२ जिल्लाका विभिन्न जलासयहरुमा छठ पर्व मनाउनेहरुको घुइँचो लाग्ने गर्दछ । चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पूरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहिआएको छ ।