धरान / धरान १४ विजयपुरमा रहेको केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) ५० बर्ष पुगेको अवसर पारेर स्वर्ण जयन्ती मनाउने भएको छ ।

मुलुककै एक मात्र खाद्य प्रविधि तथा न्युट्रिसन एण्ड डाइटेटिक्स क्याम्पसको रुपमा रहेको आफ्नो स्थापनाको ५० बर्ष पूरा गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाउन लागेको हो ।

बुधबार (आज)  कलेजले स्वर्ण जययीनत मनाउन लागेको सहायक क्याम्पस प्रमुख बबिता अधिकारीलले जानकारी दिइन् ।  उनका अनुसार स्वर्ण जयन्तीका अवसरमा बुधबार बिहान ७ बजेदेखि प्रभातफेरी (पदयात्रा) कार्यक्रम आयोजना गरिने छ । क्याम्पसबाट पुरानो बजार, छाताचौक, कोशी राजमार्ग हुँदै क्याम्पस परिसर पुगेर प्रभातफेरी समापन गरिने छ । 

कार्यक्रमअन्तर्गत बिहान साडे ९ बजे प्रमुख अतिथि त्रिविका रजिष्टार प्रा डा पेशल दाहालबाट  घण्टाघरको अनावरण गर्दै समुदघाटन गरिने रजिष्टारबाटै पुरुष छात्रावासको समेत समुद्घाटन गरिने प्रचार समितिका संयोजक तथा अध्यापक धिरेन लिम्बूले जानकारी दिए । 

बिहान ११ बजेदेखि स्वर्ण जयन्ती सभा सुरु हुने छ । प्रमुख अतिथिले संस्थापक डीनको तस्विरमा माल्यार्पण गर्दै पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रम समुदघाटन गर्ने छन् ।

कार्यक्रममा  स्वर्ण जयन्तीको उपलक्ष्यमा आयोजित खेलकुद प्रतियोगिताका सहभागीलाई पुरस्कार वितरण गरिने छ भने सेवा निवृत्त शिक्षक कर्मचारीलाई सम्मान गरिने छ । केन्द्रीय प्रविधि क्याम्पस धरान विज्ञान तथा प्रविधि शिक्षा क्षेत्रमा त्रिभूवन विश्वविद्यालयको एकमात्र स्वायत्तता प्राप्त आंगिक क्याम्पस हो । 

वि.सं. २०३० सालमा व्यावहारिक विज्ञान तथा प्रविधि अध्यन संस्थान नामले स्थापित  क्याम्पसको नाम पछि केन्द्रीय प्रविधि क्याम्पस राखिएको थियो ।

क्याम्पसले हाल त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका खाद्य प्रविधि, सक्ष्म जीव विज्ञान, पोषण तथा आहार विज्ञान, भौतिक शास्त्र, प्राणी शास्त्र, वनस्पति शास्त्र, तथ्यांक शास्त्र, रसायन शास्त्र र भूगर्भ शास्त्र, सूचना प्रविधि, कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि जस्ता विषयमा स्नातक तथा सुक्ष्म जीव विज्ञानमा भने स्नातकोत्तर तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालित छ । सहज शुल्कमा गुणस्तरीय शिक्षा, समय अनुकूल स्वास्थ्य, पोषण, आहार तथा अन्य सञ्चालित कार्यक्रमहरुमा अनुसन्धान गर्दै दक्ष जनशक्ति उत्पादन गरी समृद्द प्रदेश तथा राष्ट्र निर्माणमा योगदान गर्दै आएको सहायक क्याम्पस प्रमुख बबिता अधिकारीले जानकारी दिइन् । 

क्याम्पसमा जम्मा २० वटा प्रयोगशाला छन् । जसमा प्रत्येक कार्यक्रमका छुट्टाछुट्टै र विषयगत समेत छुट्टाछुट्टै प्रयोगशाला छन् ।

क्याम्पसआ अन्य तीन वटा बहु प्रयोगशाला समेत छन् । जेनेटिक तहका अध्ययन गर्न क्याम्पसले मोलिक्युलर बायोलोजी रिसर्च प्रयोगशाला स्थापना गरेको छ । वि स २०७२ सालमा स्थापना भएको यो प्रयोगशालामा जेनेटिक तहका रिसर्च गर्ने विद्यार्थीहरुलाई शोध कार्य गराइन्छ ।